
विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको छ । ओखलढुङ्गा र धनकुटामा हिजो भएको निर्वाचन नै बहिस्कार भएको थियो ।
बहिस्कारका बावजुद पनि निर्वाचन भएकाले अहिलेलाई मतगणना रोकिएको नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताए । उनका अनुसार ती जिल्लाको प्रतिनिधि छनौटका लागि भएको निर्वाचनका विषयमा छानबिन आवश्यक देखिएको छ । खतिवडाले भने, हामी अहिले ती जिल्लामा के गर्न भन्ने विषयमा छलफलकै क्रममा रहेका छौ ।
ओखालढुङ्गामा प्रतिनिधि चयनका विषयमा दुईवटा समूह तयार भएका थिए । एउटा समूहको नेतृत्व यज्ञराज सुनुवारले र अर्को समूहका नेतृत्व अम्बिरबाबु गुरुङले गरेका थिए । ओखलढुङ्गामा अम्बिर बाबु समूहले एकलौटी हिसाबले निर्वाचन गराएको सुनुवार समूहले आरोप लगाएको छ ।
सो समूहका अनुसार जिल्ला भरीका मतदाताहरूका लागि सदरमुकाम ओखलढुङ्गामा मात्र मतदान केन्द्र बनाएकाले निर्वाचन बहिस्कार गर्नु परेको दाबी गरेको छ । अम्बिरबावु समूहले भने निर्वाचन सम्पन्न भएको भन्दै प्रतिनिधिमा विजयी भएकाहरूको नाम सार्वजनिक गरेको छ । ओखलढुंगाबाट महाधिवेशनमा १२ जना प्रतिनिधि महधिवेशनमा जाने छन् ।
अम्बिर बाबु समूहले खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञान बहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएको दाबी गरेको छ । यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएको दाबी गरेको छ । यस्तै युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएको सो समूहले जनाएको छ ।
धनकुटामा भनेर राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहका बिचमा विवाद भएको हो । विवादपछि इन्द्रमणी समूहले निर्वाचन बहिस्कार गरेको छ । राजेन्द्र समूहले निर्वाचन सम्पन्न भएकाले मतगणना हुनु पर्ने बताउँदै आएको छ ।
कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बु जिल्लामा भने सर्वसम्मत प्रतिनिधि चयन भएको छ । निर्वाचन भएका मध्ये मोरङ ३ झापा २ र सुनसरी २ मा भने मतगणना जारी रहेको छ । अन्य निर्वाचन क्षेत्रमा भने मतगणना सकिएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

Leave a Reply