खेलकुदमन्त्रीको कार्यकक्षमा दुई जेनजीको लफडा, महतो भन्छन्- मन्त्रीको अफर इन्कार गरेको मान्छे हुँ

काठमाडौं । गत मंसिर ८ गते खेलकुद मन्त्रालयभित्रै जेनजी युवाहरुबीच लफडा भयो । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताकै अगाडि ‘काउन्सिल अफ जेनजी’का मधेश प्रदेश संयोजक शिव यादव र जनकपुरका जितेन्द्रकुमार महतो वादविवादमा उत्रिएका थिए । उनीहरूलाई मन्त्री गुप्ताले थामथुम पारे ।

यादवका अनुसार महतोको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नपाएपछि आक्रोशित हुँदै खेलकुद मन्त्रालयमा आइपुगेका थिए । उनीहरूलाई शान्त हुन अनुरोध गर्दा सामान्य भनाभन भएको यादवले बताए । उनले भने, ‘सामान्य विवाद, भनाभन त भइरहेकै हुन्छ । फरक फरक विचार बोकेर हिँडेपछि असहमतिहरू भइहाल्छन् । तर, मिडियामा आएजस्तो कुटाकुट नै भएको चाहिँ होइन ।’

हात हालाहाल भएको चर्चालाई महतोले पनि इन्कार गरे । मिडियामा आएजस्तो मुक्कामुक्की नभएको उनले बताए । महतोले भने, ‘हामीहरुबीच भनाभन मात्रै भएको हो । मेरा जेनजी भाइहरूलाई शिव यादवले होच्याइरहेको थियो । त्यसो गर्नु हुँदैन भनेर मैले उसलाई गाली गरेको हो ।’

आफूहरूको टोली यो सरकारले किन जेनजीको मागहरू पूरा गरिदिँदैन भन्नलाई सिंहदरबार गएको महतोले बताए । यो सरकारले केही काम नगरेको, विदेशीको इशारामा चलेको उनको आरोप छ । ‘विदेशीको इशारामा यो सरकार चलिरहेको छ । यो सरकारले विस्थापित भएका पुराना पार्टीहरूलाई पुनर्स्थापित गर्नु बाहेक कोही काम गरेन । जेनजीको मागहरू केही पनि पूरा गरेन,’ महतोले भने ।

आफूलाई पनि मन्त्री बन्ने अफर आएको आफूले अस्वीकार गरिदिएको महतोको दाबी छ । ‘सुरुवातमा मलाई पनि मन्त्री हुने अफर आएको थियो । वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयको मन्त्री हुनुस् भनेर प्रस्ताव आएको थियो । मैले यो सरकारको भविष्य राम्रो देखेको थिइनँ, त्यही भएर अस्वीकार गरेँ ।’

‘तपाईँलाई कसले प्रस्ताव गर्‍यो त ?’ भन्ने प्रश्नमा महतोको जवाफ छ, ‘प्रधानमन्त्रीकै सचिवालयबाट प्रस्ताव आएको थियो । सुधन गुरुङले पनि मन्त्री बन्नलाई रिक्वेस्ट गरेका थिए । मैले मानिनँ ।’

सुधन गुरुङले मन्त्री बन्न प्रस्ताव गरे पनि आफू गुरुङको समूहमा नरहेको उनले बताए । आफ्नो कुनै बेग्लै समूह पनि नरहेको उनको भनाइ छ । अहिले देखिएका जेनजीका विभिन्न समूहहरू सरकारमा भाग खोज्नलाई बनेको भन्दै आफूलाई गुट, उपगुटमा रुचि नभएको टिप्पणी गर्दै उनले अब मिराज ढुंगानाको समूहमा मिल्ने बताए ।

प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीदेखि २०४५ सालदेखि यताको सम्पत्ति शुद्धीकरणको मागसम्ममा आफूहरू एक ठाउँमा उभिएको र संविधान संशोधन पनि आफूहरूको मूल एजेन्डा भएको उनले बताए । उनले भने, ‘अब मिराज ढुंगानासँग मिलेर हामी ठूलो आन्दोलन गर्छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *