भाइरल उपन्यास ‘नीलो प्रेम’का लेखक भन्छन्– यसको सिक्वेल आउँदैन

काठमाडौं । ‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँले यसको सिक्वेल नआउने बताएका छन्। प्रकाशनको ८ महिनामै ३० हजार बढी प्रति बिक्री भएको सन्दर्भमा शनिबार उपन्यासमाथि लेखकसँग लेखक तथा पत्रकार दीपक सापकोटाले संवाद गरेका हुन् ।

कार्यक्रममा सापकोटाले कथाको अन्त्य ‘ओपन इन्डिङ’ भएको प्रसंगमाथि विमर्श गर्दै सोधेको ‘पुस्तकको सिक्वेल सम्भावना छ ?’ प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए ।

पत्रकार सापकोटाको ‘पुस्तक बहुचर्चित भएपछि अब यसलाई दृश्यमा पनि देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए । ‘नीलो प्रेम’ लाई फिल्म बनाउने वा नाट्य रूपान्तरण गर्नेभन्दा पनि किताबकै रूपमा सीमित राख्ने आफ्नो चाहना भएको लेखकले बताए ।

प्रेमकथामा आधारित ‘नीलो प्रेम’ उपन्यासले सामाजिक, सांस्कृतिक र आर्थिक आयामलाई पनि सूक्ष्म रूपमा उतारेको छ । आदर्श प्रेमको पक्षलाई जीवन्त बनाएको यो किताब सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेलले बताए ।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा युवा पाठकहरूको उल्लेख्य उपस्थिति थियो । ‘नीलो प्रेम’ बजगाईँको पहिलो किताब हो । पहिलो किताबबाटै विक्रीमा नयाँ रेकर्ड बनाएको यो उपन्यास विशेषतः युवापुस्तामाझ लोकप्रिय छ ।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको ‘नीलो प्रेम’ को मूल्य ७९९ रुपैयाँ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *