
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको खर्च कटौती मुख्य चुनौती रहेको अध्यक्ष महेन्द्रकुमार गिरीले बताएका छन् । शनिवार बैंकको साधारण सभामा बोल्दै अध्यक्ष गिरीले सञ्चालन खर्च धान्न नसकिने अवस्था आउन नदिन शाखा मर्जरको नीति लिएको खुलासा गरे ।
बैंकको वर्तमान सञ्चालक समितिले ६८ वटा शाखा कार्यालयमध्ये ११ वटा शाखालाई गाभ्ने (मर्ज) वा घटाउने प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए । ‘अहिले हाम्रो ६८ वटा शाखा भएपनि हामीले ११ वटा घटाउन वा मर्ज गर्न अगाडि बढाइसकेका छौँ । यहाँ खर्च घटाउने चुनौती मुख्य छ’, उनले भने, ‘ऋण लगानी गर्न पनि आवश्यक छ ।’
नयाँ नेतृत्वलाई पनि फजुल खर्च नियन्त्रणमा निर्मम हुन उनको सुझाव छ । नयाँ आउने नेतृत्वलाई सुझाव दिँदै अध्यक्ष गिरीले ‘भाषण ठोकेर बैंक बन्छ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । उनले भने, ‘पहिला साधारण सभामा भाषण ठोक्दा बैंक बन्छ भन्ने कल्चर थियो, हामीले त्यसलाई तोडेका छौँ । अब आउने सञ्चालक समितिले अलिकति बल गर्नुपर्छ, अलिकति खट्नुपर्छ ।’
उनले सञ्चालक समिति र उपसमितिहरू वित्तीय रूपमा साक्षर हुनुपर्ने र व्यवस्थापनले ल्याएको प्रस्तावमा ‘पास’ मात्र भन्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव दिए । ‘हामीले सञ्चालकलाई पुँजी पर्याप्तता अनुपात के हो भनेर पढाउनु पर्यो, अबको नेतृत्व प्रोफेसनल हुनुपर्छ,’ गिरीले भने ।
विगतमा ४० करोडसम्मका ठूला कर्जा लगानी गर्दा ५ अर्ब रुपैयाँ जोखिममा परेको उदाहरण दिँदै अध्यक्ष गिरीले नयाँ नेतृत्वलाई साना कर्जामा केन्द्रित हुन सुझाव दिए ।
‘ठूला कर्जा होइन, अब १० लाखको ऋण मोडलमा जानुपर्छ । १० हजार जनालाई १० लाखको दरले दिँदा पनि १० अर्ब लगानी हुन्छ,’ उनले अनुभव सुनाउँदै भने, ‘माइक्रोफाइनान्स मोडलमा जाँदा १० लाख रुपैयाँ त हप्काएर पनि उठाउन सकिन्छ, तर ठूला ऋणीले बैंकलाई नै जोखिममा पार्छन् ।’
अध्यक्ष गिरीले आफ्नो टिमले एक वर्षमा बैंकलाई अपरेटिङ नाफामा ल्याएपनि विगतको ३ अर्बभन्दा बढी सञ्चित नोक्सानका कारण तत्काल सेयरधनीलाई लाभांश बाँड्न नसकिने यथार्थ प्रस्तुत गरे ।
‘हामीले दुख गरेर असुली प्रक्रिया अघि बढाएका छौँ, अब आउने नेतृत्वको पालामा १ देखि २ अर्ब नाफा देखिन सक्छ,’ उनले भने, ‘तर सञ्चित नोक्सान ३ अर्ब नाघेकाले नाफा बाँड्न भने सकिँदैन, यसमा नयाँ नेतृत्वले सेयरधनीलाई बुझाउन र बैंकलाई बलियो बनाउन मेहनत गर्नुपर्नेछ ।’

उनले ऋण असुलीका क्रममा जेलबाटै ज्यान मार्ने धम्की आउँदा पनि आफूहरू नडगमगाएको भन्दै अबको नेतृत्वले पनि जस्तोसुकै दबाब र चुनौती सामना गर्न तयार रहनुपर्ने सन्देश दिए ।
अध्यक्ष गिरीले आफू अध्यक्ष हुँदाको जटिल परिस्थितिबाट बैंकलाई अहिलेको अवस्थासम्म ल्याउन ठूलो चुनौती सामना गर्नु परेको बताए । उनले खराब कर्जा असुलीका क्रममा आफू र कर्मचारीले ज्यान मार्ने धम्की समेत सहनु परेको खुलासा गरे ।
‘सञ्चालक समितिले २५ बुँदे कार्यदिशा बनाएर ठूला ऋणीहरूको कर्जा असुली प्रक्रिया अघि बढाउँदा हामीलाई जेलभित्रबाट तँलाई मार्छु भनेर धम्की आयो,’ अध्यक्ष गिरीले भने, ‘हामी डराएनौँ, ३५ दिने सूचना निकाल्यौँ, कालोसूचीमा राख्यौँ र धितो लिलाम प्रक्रिया अघि बढायौँ । जसका कारण बैंकको खराब कर्जा उठ्दै छ ।’
गिरीले आफू अध्यक्ष बनेको सुरुवाती चरणमा बैंकलाई ‘लाटो समिति’ भनेर उपहास गरिएको उल्लेख गर्दै त्यसले आफ्नो टिमको मनोबल नघटाएको बताए । ‘हामीलाई लाटो समिति भनियो । राष्ट्र बैंकदेखि पत्रपत्रिकासम्म असहयोग भयो, तरपनि हामी निरन्तर काममा अग्रसर रह्यौँ’, उनले भने ।

Leave a Reply