
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले जेनजी आन्दोलनको माग सम्बोधन गर्न असफल भएको निष्कर्ष निकालेको छ।
आज बसेको बैठकले आगामी राजनीतिक दिशादर्शन, जेनजी आन्दोलनसँग सम्बन्धित विषयहरू तथा सङ्गठन सुदृढीकरणका मुद्दामा केन्द्रित रहेर पाँच बुँदे महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष साहले बताए।
तत्कालीन राजनीतिक निकासका लागि अन्तरिम संविधानसहित नयाँ सरकार गठन गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ। यससँगै जेन जी प्रतिनिधि, राजनीतिक दल र नागरिक अगुवाहरूको संयुक्त संवाद सम्मेलनमार्फत ठोस समाधान अघि बढाउन आग्रह गरिएको छ।
जेनजी आन्दोलनमाथि भइरहेको दमन रोक्न, पक्राउ परेका जेन जी युवाहरूलाई बिना शर्त रिहा गर्न तथा हत्याका घटनामा दोषीहरूमाथि तात्कालिक कारबाही गर्न दबाब सिर्जना गर्ने उद्देश्यले मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म शहर केन्द्रित अन्तरक्रिया तथा प्रदर्शन सञ्चालन गर्ने निर्णय गरिएको बैठकले जानकारी गराएको छ।
भ्रष्टाचारविरुद्ध खबरदारी, दलतन्त्रको भण्डाफोर तथा सिस्टम सुधारका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर मसान्तभित्र प्रत्येक निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला गरी निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी, पीडित तथा उत्पीडित वर्गको आत्मविश्वास अभिवृद्धि गर्न तथा भ्रष्टाचारविरुद्ध सचेतना फैलाउन आईटी मैत्री युवाहरूको सङ्गठन ‘आईटी आर्मी’ पुनर्गठन गरी विशेष तालिम सञ्चालन गर्ने तयारी थालिएको बैठकले जनाएको छ।
आसन्न संसदीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले आम जनताको जीत सुनिश्चित गर्न उपयुक्त उम्मेदवार पहिचान, छनोट तथा सिफारिस सम्बन्धी प्रक्रिया तीव्र गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

Leave a Reply