हल छोड्न नमानिरहेको परान ! पुलकित छन् निर्माता-निर्देशक

काठमाडौँ । दिपक प्रसाद आचार्य (काकु) निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको छ । प्रदर्शनको २१ औं दिनसम्ममा यो चलचित्रले अनमोल केसी स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को ग्रस कलेक्सनलाई उछिनेको हो ।

अनमोलको ‘जेरी अन टप’ ले गत बिहीबारसम्म १२ करोड १४ लाखको व्यापार गरेको थियो भने परानले १५ करोड रुपैयाँ नघाइसकेको छ । अहिलेसम्म हलहरुमा दर्शकको फ्लो हेर्दा अझै केही हप्ता ‘परान’ को रफ्तार कायम रहने अवस्था देखिन्छ ।

यो चलचित्रको सुरुवाती व्यापारको स्थिति भने नाजुक थियो । पहिलो केही दिन निर्माण पक्ष पूरै हतोत्साही बनेका थिए । स्वयम् निर्देशक आचार्यले नै सामाजिक सञ्जालमा ‘नर्भस’ स्टाटस पोस्ट गरेका थिए । चलचित्रले शो पनि उल्लेख्य पाएको थिएन भने पाएको शोमा पनि हलहरु खाली थिए । तर, बलियो माउथ पब्लिसिटीसँगै चलचित्रको भाग्य फेरियो ।

गत कार्तिक १४ गतेबाट ‘परान’ देशव्यापी प्रदर्शनमा आयो । दुर्भाग्यवस त्यही दिनबाट देशभर भारी वर्षात भयो । वर्षाले ठूलो रूप लिने देखेर सरकारले ३ दिनको लागी सार्वजनिक बिदा घोषणा गर्‍यो । चलचित्र क्षेत्रका लागि सार्वजनिक बिदा आफैँमा खुशीको समाचार हुन्छ । अरु दिनभन्दा बिदाका दिन हलहरुमा दर्शक स्वतः बढ्छन् । तर, ‘परान’ लाई भने वर्षा बाधक बन्यो ।

आचार्यको यो पहिलो निर्देशकीय चलचित्र थियो । उनी यही चलचित्रमार्फत आफ्नो भाग्य परीक्षा गरिरहेका थिए । साथै यो चलचित्रको कथावस्तु उनीसँग भावनात्मकरुपमा जोडिएको थियो । तर चलचित्रको पहिलो दिनको बक्स अफिस कलेक्सन आयो– ५ लाख । करोडौं खर्च गरेर बनाएको चलचित्रको यो ओपनिङ निराशाजनक हो ।

चलचित्रले सोचेजस्तो संकेत नदेखाएपछि अचार्यले आत्तिएर आफ्नो सामाजिक संजालमा स्टाट्स लेखे, ‘सबैले हिरा बनाइस भन्थे, तर आज त्यो हिरालाई पानीले बगाउलाजस्तो छ ।’

निर्देशकले यसरी हात उठाएपछि निर्माताहरु पनि होपलेस हुने नै भए । ठुलो अपेक्षाका साथ पहिलोपटक फिल्ममा लगानी गरेका थिए विज्ञापन व्यवसायी रन्जित आचार्य र उद्योगपति शेखर गोल्छाले । उनीहरु दुवै निरुत्साहित बने । तर, चौंथो दिनबाट फिल्मले अचानक पिकअप लिन थाल्यो । सुरुको ३ दिन ५ देखि ८ लाखसम्मको मात्र व्यापार गरिरहेको परानले चौथो दिन एकैचोटि ४० लाख कमायो ।

अब बल्ल निर्माण टिम जुर्मुराए । चलचित्रले एकाएक रफ्तार समातेपछि उनीहरु हौसिएर दर्शक भेट्न हलहल पुग्न थाले । दर्शकसँग साक्षात्कार गर्दै उनीहरुको रिभ्यु लिन थालेपछि चलचित्रको माउथ पब्लिसिटी बलियो बन्दै गयो । वर्ड अफ माउथले दैनिक दशंकहरु थपिँदै गए । छैटौं अनि सातौं दिनबाट चलचित्रले ४०, ५० गर्दै करोडौंको व्यापार गर्न थाल्यो । फलस्वरुप, ‘परान’ यो वर्षकै धेरै व्यापार गर्ने चलचित्र बनेको छ ।

यो त भयो परानको रिलिजदेखि आजसम्मको कथा । अहिले धेरैले यो चलचित्रलाई अलटाइम ब्लकबस्टर चलचित्र ‘पुर्णबहादुरको सारंगी’ सँग दाज्न थालेका छन् । ‘पुर्णबहादुरको सारंगी’ पनि सुस्त सुरुवात गर्दै अन्तत ब्लकबस्टर भएको थियो । सुरुमा न्युन शो पाएर दर्शक तान्न हम्मेहम्मे परेको यो चलचित्रलाई वर्ड अफ माउथले नसोचेको सफलता दियो । बिस्तारै दर्शक बढेसँगै हलवालाले शो थपे । दर्शकको चाप आजभोलि गर्दै ५१ दिनसम्म उस्तै रह्यो । विदेशी राइट्सहरु भटाभट बिक्न थाले, अनि चलचित्रले नेपाली बजारमा मात्र ५० करोडको व्यापार गर्दै इतिहास रच्यो ।

‘परान’को पनि ट्रेन्ड लगभग त्यस्तै छ । चलचित्र सुपरहिट भइसकेको छ भने ब्लकबस्टरको दौडमा छ । के परान अर्को ‘पुर्णबहादुरको सारंगी’ बन्ला त ? हामीले चलचित्रका निर्देशक दिपकप्रसाद आचार्यलाई सोध्यौं ।

उनी भन्छन्, ‘अहिले पूर्णबहादुरको सारंगीको अनुभव भएका धेरै मेकरहरुले त्यस्तै भन्नुहुन्छ । तुलनात्मक हिसाबले परान ठ्याक्कै ‘पूर्णबहादुरको सारंगी’ नै हुन्छ भनेर त म भन्दिन, तर हाम्रो चलचित्रले बक्स अफिसमा अझै राम्रो धमाका मच्चाइरहेको छ ।’

आचार्य ‘पूर्णबहादुरको सारंगी’ लाई अपवाद मान्ने गर्छन् । एकसाथ थुप्रै रेकर्ड तोडेकाले परानलाई उक्त चलचित्रसँग अहिले नै दाज्न नमिल्ने उनको भनाइ छ । अहिले चलचित्र हेरेर निस्किएका एउटा दर्शकले आफैँ अरु दर्शकहरुलाई बोलाउने माहोल सुरु भएको उनले विश्लेषण गरिरहेका छन् ।

रिलिजको दोस्रो दिन नै निराश भएको पल सम्झिदै उनी सुनाउँछन, ‘प्रिमियरमा आएका प्रतिक्रियाबाट परान उत्कृष्ट सिर्जना हो भन्ने प्रमाणित भइसकेको थियो । तर आफ्नो सर्वोत्कृष्ट सिर्जना, कसैले थाहै नपाइ हराउने भएपछि मैले पीडा महसुस गरेको हो । धेरैभन्दा धेरै मासमा पुग्नुपर्ने सिर्जना त्यत्तिकै विलय हुन आँट्दा अथाह पीडा हुँदोरहेछ ।’

धार्मिक मान्यता अनुसार केही काम सुरु गर्नुपुर्व पानी पर्यो भने शुभ मान्ने गरिन्छ । अहिले उनी आफ्नो चलचित्र रिलिज हुँदा परेको पानीलाई शुभ साइतको रुपमा हेर्ने गर्छन् । २३ औँ दिनसम्म पनि दर्शकहरु हलसम्म आउनुको श्रेय, उनी चलचित्रको कन्टेन्टलाई दिन्छन् । कन्टेन्ट नै हिरो हो भन्ने कुरा परानले एकपटक पुन साबित गर्दिएको र कन्टेन्ट बलियो भए जुनै समयमा चलचित्र प्रदर्शन गरेपनि सफल हुने काकुको विश्वास छ ।

चलचित्रले अझै कति लामो यात्रा गर्ला त ?

आचार्य भन्छन्, ‘म त मेरो चलचित्रले सयौँ दिन मनाएर धेरैभन्दा धेरै दर्शकले हेर्नुहोस भन्ने चाहन्छु । अहिले पनि हामी दर्शकसँग भेट्ने दौडधुपमै छु ।

निर्माता रञ्जित आचार्य पनि चलचित्रको सफलताले गदगद छन् । आचार्यका अनुसार ‘परान’ मा लगभग ४ करोड २५ लाख रुपैयाँ लगानी भएको छ ।

परानले ‘पूर्णबहादुरको सारंगी’ कै बाटोमा हिँडेको हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘दर्शकले रुचाउनुभएको हिसाबले त पक्कै हो । बक्स अफिसका आधारमा चाहिँ अझै भन्न सकिँदैन ।’

आचार्यका अनुसार परानमा बाइसकोप सिनेमाको मात्रै लगानी छ । कथा र निर्देशन गरेवापत दीपक आचार्यले पारिश्रमिक र नाफाको केही सेयर पाउने सम्झौता रहेको उनले जानकारी दिए ।

पहिलोपटक चलचित्रमा हात हालेका रञ्जितको अनुभव उनकै शब्दमाः

‘सुरुको दिन अत्यन्तै कठिन थियो, त्यसैले मैले सोचेको पनि थिइनँ यस्तो होला भनेर । तर म एउटा कुरामा चाहिँ पक्का थिए कि चलचित्र राम्रो बनेको छ र दर्शकले हेरेको खण्डमा अवश्य मन पराउनुहुनेछ । प्रिमियरमा आएको प्रतिक्रियाले हामी झनै हौसिएका थियौं । तर पहिलो दिन झरीले गर्दा दर्शकहरू हलमा आउनुभएन । शनिबार त स्वतःस्फूर्त दर्शक आउनुहुन्छ होला भन्ने सोचिएको थियो तर सोचेअनुरुप भएन । दुई दिनमा जम्मा ७ हजार दर्शकले मात्रै चलचित्र हेरे ।

चलचित्र राम्रो हुँदाहुँदै पनि दर्शकहरू नआएर नचल्ने अवस्था भएपछि हामीले नयाँ रणनीति बनायौं । दोस्रो हप्तामा राख्ने भनेर प्लान गरेको कर्पोरेट शोहरू, हामीले त्यही हप्तामा लगातार तीन–चार दिनसम्म राख्यौँ । समाजका अलि बौद्धिक र चलचित्रलाई क्रिटिकल्ली हेर्ने व्यक्तित्वलाई आफैँले रिक्वेस्ट गरेर बोलाएरै चलचित्र देखायौँ । त्यसपछि बिस्तारै जति जनाले हेर्नुभयो, उहाँहरुले सामाजिक सञ्जालमा हाल्नुभयो । त्यसपछि चलचित्रले पिकअप लिएको हो ।

प्रचारप्रसार त हामीले व्यापक गरेका थियौं । बोर्ड अनि होर्डिङ बोर्डहरू लगाएका थियौं । नेपालको क्रिकेटमा हामीले विज्ञापन गरेका थियौँ । विभिन्न सञ्चार माध्यमबाट विज्ञापनहरू आइरहेका थिए । पत्रपत्रिकामा पनि कुराकानी भएकै थियो । त्यति गर्दा पनि हामीलाई कहीँ न कहीँ मौसमले नै साथ नदिएको हो । तर अहिले लाग्छ, सायद मौसमले पानी पारेर साइत जुराइदिएको रहेछ ।

मैले विज्ञापन क्षेत्रमा लगभग ३५ वर्ष बिताएको छु । विज्ञापनमा हामीले सधैँ ‘ट्रायल रेट’ भन्छौँ । जसको मतलव प्रोडक्ट राम्रो छ भने मान्छेहरूले एकपटक ट्राइ गर्छन् । नेपाली बजारमा त झन् धेरै ट्रायल हुन्छ । त्यो हिसाबले हामीले सधैँ ट्रायल क्रिएट गर्न विभिन्न कामहरू गर्नुपर्छ । मलाई हाम्रो चलचित्रको कथा राम्रो छ भन्ने थाहा थियो । त्यही भएर सबैजना मिलेर स्क्रिप्टमा काम गरियो, मेहेनत गरियो । झन् राम्रो बनाउन कथा मिलाइयो । छांयाकनबाहेक पोस्ट प्रोडक्सनदेखि एडिटिङमा धेरै काम गरियो । सुरुको दुई दिन केही नराम्रो लाग्यो । नराम्रो लाग्नु स्वभाविक पनि हो तर हाम्रो सबै सकिएर खतमै भयो भन्ने सोचसम्म चाहिँ म पुगेको थिइनँ । न त मैले हात नै उठाएँ । बरु यो के भयो ? कहाँ र किन गलत भयो ? भन्ने सोच भने आएको थियो ।

मलाई परान सिक्वेल बनाउने सिनेमा हो जस्तो लाग्दैन र योबारे हामीले सोचेका पनि छैनौँ । यो एउटा समाज र सामाजिक परिवेशबाट जन्मिएको कथा हो । यसलाई हामीले एउटै कथामा प्रस्तुत गर्नुपर्छ भन्ने सोचेले बनाएका थियौं । अब हिट भयो भन्दैमा ‘परान २’ बनाउनुपर्छ भन्ने हामीले सोचेका छैनौँ । सिक्वेल नबन्ला तर परानकै तरिकाको अर्को कुनै कथा बन्न सक्छ ।

हामीले हाम्रो बाइसकोप सिनेमाबाट वर्षको दुई–तीनवटासम्म चलचित्र बनाउने भनेर भनेर घोषणा गरेका छौँ । मैले परानको प्रिमियरमै पनि हलबाट निस्किनुअघि हामी दोस्रो प्रोजेक्ट अनाउन्स गर्छौँ भनेर भनिसकेको छु । त्यसैले हामी परान फ्लपै भएको भए पनि अर्को सिनेमा बनाउँथ्यौँ । र अहिले यति धेरै अपार माया पाएपछि झनै हौसिएका छौँ ।

अर्को प्रोजेक्टबारे कुनै निर्णय भइसकेको छैन । प्रोजेक्ट फाइनल भएपछि दीपकजी वा उहाँजस्ता अन्य टीमसँग हामी काम गर्छौँ । आउने दिनमा दीपकजीको जनरामा मिल्ने कुनै प्रोजेक्ट भयो भने हामी फेरि अवश्य सहकार्य गर्न सकिन्छ । त्यसमा कुनै दुविधै छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *