सभापतिमाथिको ज्यादति बिर्सेर कांग्रेसमा विशेष महाधिवेशनको रडाको

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । यो उखान नसुन्ने र नबुझ्ने कमै नेपाली होलान् । देश हाँक्ने दल र तिनका जिम्मेवार नेताहरु बेलाबेला यही उखान चरितार्थ गर्छन् ।

अहिले कांग्रेसका महामन्त्रीको सक्रियतामा भइरहेका गलत राजनीतिक अभ्यासले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको ध्यान सङ्‍गठन बचाउनतिर भन्दा आगामी चुनावको टिकट कसले बाँड्ने ? कसको हस्ताक्षरमा हुने भन्नेमा केन्द्रित भएको दु:खलाग्दो अवस्था पाइन्छ ।

जेन-जी आन्दोलनपछि फरक राजनीतिक परिस्थितिमा आगामी चुनाव हुन गइरहेको जगजाहेर छ । त्यसमा देशभर जरा गाडेको ठूलो राजनीतिक शक्ति कांग्रेस र यो पार्टीका सभापति शेरबहादुर देउवामाथि नियोजित प्रहार भएको छ । देउवा परिवारमाथि नियोजित आक्रमण भएको छ । देउवा परिवारबारे अफवाहहरु फैलाइएको छ । कांग्रेस नेतृत्वको बेला बेलाको सरकारबाट भएका सामाजिक एवं युगान्तकारी परिवर्तनलाई ओझेल पार्ने गरी जबर्जस्ती यस्ता अफवाह फैलाइएको विषय लुकाइरहन पर्दैन ।

गाउँ घरतिर जानु, टोल टोल पुग्नु, कांग्रेसजनहरुका कस्ता अभिव्यक्ति र चिन्ता छन् आफैं बुझ्नुहुनेछ ।

सभापति देउवाको नेतृत्वमा चुनावी मोर्चामा जाँदा कुनै दाग नलागेका पूर्णबहादुर खड्का, मधेशका विमलेन्द्र निधि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, जीवन परियारदेखि जीवनबहादुर शाही, मिनबहादुर विश्वकर्मादेखि सीता गुरुङ, अनि जीवन राना थारुदेखि सीता मिजारसम्मका समावेशी अनुहार लिएर काङ्ग्रेस जनतामा जान सक्नुपर्छ ।

जस्तै, मध्यपश्चिम र सुदूरपश्चिमका गाउँ बस्तीमा गढेर बसेको देह व्यापारको अन्त्य गरी सम्मानित जीवन बाँच्न पाएका बादी समुदायका पुरन नेपालीको कुरा सुनौं । उनको जिज्ञासा छ, के नेपाली कांग्रेस विभाजन हुन लागेको हो ? किन नेताहरु अझै किचलो गरिरहेका ? अहिले देशको चुनावी तयारी गर्ने कि कांग्रेसमा को नेता हुने भनेर हानाथाप गर्ने ?

उनलाई किन चासो भन्ने पनि लाग्न सक्छ यतातिर । विशेष महाधिवेशन भनेको के हो र सभापति शेरबहादुर देउवालाई हटाउने रे भन्ने रेडियोमा सुनेका बादीले भने समाजमा इज्जत साथ हिँड्ने बनाउने उनै देउवा हुन र हामीले संधै कांग्रेसलाई भोट दियौं अब अहिले किन हटाउन लागिएको हो ?

बादी बस्तीमा मात्र होइन, तपाईं पुग्नु मुक्त कमैया, कमलहरी र हलिया बस्ती । यी सबैको मुक्तिको आन्दोलनमा देउवा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका छन् । यो वर्ग, समाजमा उनीहरुको लागि बोलिदिने नेता देउवा हुन् भन्ने मानसपटलमा सेट छ । थारु समुदायको महत्वपूर्ण चाड माघी हुँदा विगत लामो समयदेखि प्रत्येक वर्ष बाँके , बर्दिया, कैलाली, कञ्चनपुर र दाङका जिल्लाका गाउँहरूमा पुगेर अपनत्व महसुस गराएका हुन्छन् देउवाले ।

सभापति देउवाका एकजना भतिजाले गुरुङकी छोरी विवाह गरेका रहेछन् । बेलायतको एउटा कार्यक्रममा देउवाको जोडदार भाषण आयो, म गुरुङको अर्थात् जनजातिको सम्धी हो । दलित, जनजाति र महिलाका प्रगतिको पक्षपाती हुन् उनी । कर्णाली र सुदुरपश्चिमलाई माथि उठाउनुपर्छ भन्ने अगुवा हुन् देउवा ।

यी सन्दर्भ किन जोडिएको हो भने समाजमा देउवाले आफ्नो छवि बेग्लै बनाएको पाइन्छ । यस्तो इतिहास, सङ्‍घर्ष र योगदान बोकेका देउवाबारे काठमाडौंमा छाएको समाचारले सुदूरपश्चिमवासीलाई त निराश तुल्याएको पाइन्छ ।

महाधिवेशन प्रतिनिधिसभा चुनाव अघि गर्ने कि विशेष महाधिवेशन डाक्ने चक्करमा कांग्रेस अलमलमा छ । अलमलिएको कांग्रेसमा एकथरी नेता भने जनताले भोट दिउन् कि नदिउन्, सांसदको टिकट कस्ले बाढ्ने भन्नेमा रोइलो छ ।

यो रस्साकस्सी छाडेर पूर्वी नेपालमा महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा कृष्ण प्रसाद सिटौला, भीष्मराज आङदेम्बे, सीता गुरुङसहित नयाँ र पुराना साथीभाइले सङ्‍गठन र पार्टीलाई मजबुत बनाउन पर्ने होइन र ?

डा.शेखर कोइराला, डा मिनेन्द्र रिजाल, गुरु घिमिरे, अमृत अर्याल, महेन्दा लिम्बूलगायतका नेताहरुको ताकत एक ठाउँमा लगाउनु पर्ने बेला भएन र ?

मधेसबाट केन्द्रीय राजनीतिमा जमेका विमलेन्द्र निधिको नेतृत्वमा महेन्द्र यादव, कृष्ण यादव, उद्धव तिमिल्सिना, रमेश रिजाल अनि प्रदेशका नेता तथा कार्यकर्ताहरुले कांग्रेसी विरासत जोगाउन परेन ?

बाग्मतीमा स्वयम् सर्वोच्च नेता गणेशमान सिंहको परिवार अनि महामन्त्री गगन थापा, इन्द्र बानियाँ र देशभरका‌ कांग्रेसको थलोमा एक से एक नेता र कार्यकर्ता छन, होइन र ?

भ्रष्टाचार नियन्त्रण जस्तो महत्वपूर्ण मुद्दा लिएर कांग्रेस जनताकोमा जानुपर्छ । भएका कामको समीक्षा र वकालत गर्दै आगामी दिनमा सुधारसहित जनतामाझ जाने सन्देश दिन सक्नुपर्छ ।

जुन जिल्लामा गए पनि २००७ देखि अहिलेसम्म पार्टीमा विभिन्न मोर्चामा काम गरिरहेका परिवार र सदस्यहरुलाई समेट्दा मात्र कांग्रेस जाग्छ र बलियो हुन्छ। हजुरबुवाको पालादेखिको पार्टी सबैलाई माया छ तर नेतृत्वबाट न्याय र मायाको कमीले कार्यकर्ता निराश छन्।

निराश भएकाहरुमा उर्जा भर्ने त नेताले हो । नेतृत्व गण्डकी प्रदेशमा गए गोपालमान श्रेष्ठ , धनराज गुरुङ, शंकर भण्डारी, शुक्रराज शर्मा, जीवन परियार, ध्रुव वाग्लेदेखि अर्जुन जोशी, टेकबहादुर गुरुङ, सुरेन्द्र पाण्डेलगायत नेता सक्रिय हुनुपर्ने बेला छ ।

लुम्बिनी प्रदेशमा बालकृष्ण खाँड, किशोर सिंह राठौर, अमरसिंह पुन ,दिपक गिरी, डिल्लीबहादुर चौधरी, बादशाह कुर्मी, आशा कुमारी बिक, अझ धेरै होनाहार नेता तथा कार्यकर्ताहरु छन्।

कर्णाली प्रदेशमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्का स्वयम् छन् । जीवनबहादुर शाही, राजीवविक्रम शाह, कान्तिका सैंजुवाल, ऐन बहादुर शाही, कृष्ण रोकाया, ललितजंग शाहीलगायत छन् । देशभर माओवादी द्वन्द्वमा मारिएका तमाम शहीद परिवारको उपस्थिति छ ।

सुदुरपश्चिममा‌ सभापति शेरबहादुर देउवा हुनुहुन्छ । अनि एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, डा.आरजु राणा देउवा, कमल शाह, बहादुरसिंह थापा, रामजनम चौधरी, नयनसिंह महरदेखि बैतडीका युवा नेता तेजचन्द जस्ता एक से एक उदयीमान नेताहरु भएकाले पनि सो प्रदेशमा काङ्ग्रेस बलियो नै छ ।

अहिले कांग्रेसका महामन्त्रीको सक्रियतामा भइरहेका गलत राजनीतिक अभ्यासले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको ध्यान सङ्‍गठन बचाउनतिर भन्दा आगामी चुनावको टिकट कसले बाँड्ने ? कसको हस्ताक्षरमा हुने भन्नेमा केन्द्रित भएको दु:खलाग्दो अवस्था पाइन्छ ।

देशभरका काङग्रेसका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला समितिका नेतृत्व जसको पार्टी निर्माणमा अमूल्य योगदान छ । सबै कांग्रेसजनलाई समेटेर नामै लेख्न यहाँ सकिएन, नाम उल्लेख नभएका तर पार्टी बनाउन प्रभावकारी भएका कैयन् कांग्रेसजन छन् । सबैलाई योगदानका आधारमा उचित अवसर र मौका दिन सक्यो भने पार्टी एक नम्बरमा पुग्न सक्छ ।

सभापति देउवाको नेतृत्वमा चुनावी मोर्चामा जाँदा कुनै दाग नलागेका पूर्णबहादुर खड्का, मधेशका विमलेन्द्र निधि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, जीवन परियारदेखि जीवनबहादुर शाही, मिनबहादुर विश्वकर्मादेखि सीता गुरुङ, अनि जीवन राना थारुदेखि सीता मिजारसम्मका समावेशी अनुहार लिएर काङ्ग्रेस जनतामा जान सक्नुपर्छ ।

रूखबाहेक अन्यत्र भोट हाल्दा हात कमाएका कांग्रेसले यो पटक खुशी-खुशीले तब हाल्नेछन्, जब पार्टी सिङ्गो भएर गाउँ गाउँमा पुग्ने छ । चारैतिर चारतारे झण्डा र रुख अङ्कित झण्डासहित एकबद्ध भएर पार्टी गाउँ घर पस्नुपर्ने र जेन-जी विद्रोहमा पार्टी सभापति स्वयंमाथि भएको ज्यादति खोजीनीति गर्नुपर्ने बेलामा कांग्रेसमा विशेष महाधिवेशनको रडाको किन ?

हाम्रा सभापति किन कुटिए ? कसले कुटेका हुन् ? उनको दोष के थियो ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, स्वतन्त्र प्रेस , स्वतन्त्र न्यायालय, महिला, दलित, आदिवासी जनजाति, कर्णाली र मधेशको पक्षमा निरन्तर लडेर संविधानमा लेखाउनु नै उनको गल्ती थियो ?

त्यसैले अब, भ्रष्टाचार नियन्त्रण जस्तो महत्वपूर्ण मुद्दा लिएर कांग्रेस जनताकोमा जानुपर्छ । भएका कामको समीक्षा र वकालत गर्दै आगामी दिनमा सुधारसहित जनतामाझ जाने सन्देश दिन सक्नुपर्छ ।

यतातिर नलागि, फेरि पनि माथि भनिएजस्तै काम कुरो एकातिर… भने जसरी टिकटमा कसले हस्ताक्षर गर्ने, कसले पाउने भन्ने जस्ता बखेडामा अल्झने हो भने कांग्रेस ओरालोतिर लाग्नेछ । शेरबहादुर देउवाको नेतृत्व, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजन, नेता शेखर कोइरालासहित २ महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियताबाट नै कांग्रेसको आगामी बाटो उज्जल हुनेछ ।

(सिग्देल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *