
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा जारी विवादलाई समाधान गरी पार्टी एकता कायम गर्ने प्रयास सहमतितर्फ अग्रसर भएको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका छन् । जसमा नेता डा. शेखर कोइराला एवं महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन छ । जारी केन्द्रीय समितिले पुस २७ भित्र नियमित महाधिवेशन वा विधान अनुसार विशेष महाधिवेशन सुनिश्चित गर्नुपर्ने संस्थापन इतर पक्षको माग छ । असोज २८ बाट सुरू भएको कांग्रेस बैठक पटक पटक सर्दै आएको छ ।
सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहमति नजनाए पनि निर्वाचनअगाडि नियमित महाधिवेशन गर्न सहमत देखिएका छन् । देउवाको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग विभिन्न चरणमा छलफल गरिरहेका छन् । संवादमा सक्रिय नेताहरुका अनुसार बितेको २४ घण्टामा सहमतिका लागि थप वातावरण बन्दै गएको छ ।
संस्थापन पक्षले पुसभित्र नियमित महाधिवेशन गर्न विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएको थियो । पछिल्लो संवादका क्रममा सभापति देउवाले हस्ताक्षर फिर्ता नभएपनि नियमित महाधिवेशन गराउन तयार रहेको सन्देश दिएका छन् । यसले सहमतिको वातावरण बनेको नेताहरूले बताएका छन् ।
‘चुनावअघि नियमित महाधिवेशन गराउन संस्थापन पक्ष तयार भइसकेको छ । हस्ताक्षर फिर्ता लिनुपर्ने शर्तबाट पनि पछाडि हटेको छ । यसले सहमतिको वातावरण बन्दै गएको छ’, विशेष महाधिवेशन पक्षधर एक नेताले नेपाल प्रेससँग भने ।
संस्थापन पक्षका नेताले भने अहिले नै समाचार लेख्ने हतार नगर्न आग्रह गरे ।
‘हिजोभन्दा आज सुधार छ । सहमतिको केही न केही सूत्र बन्दैछ । नियमित महाधिवेशन सुनिश्चित गरेर निकास खोज्ने हो । अहिले हतार नगरौं, सहमतिको वातावरण बन्दैछ’, ती नेताले भने । सभापति देउवाले संवादमा सक्रिय नेताहरु मार्फत विशेष महाधिवेशनका लागि हस्ताक्षर फिर्ता नगरी महाधिवेशन गर्न तयार रहेको सन्देश पठाएका छन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका नेता गुरुराज घिमिरेले पनि नियमित महाधिवेशन सुनिश्चत हुने र विशेष महाधिवेशनको हस्ताक्षर निष्क्रिय नहुनेगरी सहमति हुनसक्ने बताएका छन् ।
‘पुसभित्र महाधिवेशन हुने सुनिश्चित भएको अवस्थामा निवेदन फिर्ता नलिइकन अगाडि बढ्न सकिन्छ । त्यसका लागि पार्टीको उच्च नेतृत्वसँग संवाद भइरहेको छ’, घिमिरेले बीबीसी नेपाली सेवासँग भनेका छन् ।

Leave a Reply