
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ युवा पुस्ताको अस्तित्व स्वीकार गर्न हिचकिचाउने मानसिकताबाट देश र कांग्रेसको भलो नहुने बताएका छन्। महाधिवेशनको विवाद चर्किरहेको बेलामा कांग्रेसभित्रको राजनीति अहिले तरंगित हुँदै गएको बताएका हुन्।
उनले भने, ‘सङ्घर्षशील योगदान र अनुभवले खारिएको पुरानो पुस्तालाई कांग्रेसको राजनीतिबाट बहिर्गमनको लागि दबाब सिर्जना गर्ने र परिवर्तनको हुटहुटी भएको, योजनाबद्ध विचार बोकेको नयाँ युवा पुस्ताको अस्तित्व स्वीकार गर्न हिचकिचाउने मानसिकताबाट देश र कांग्रेसको भलो हुन सक्दैन।’
आज देश विषम परिस्थितिको सामना मात्रै गरिरहेको छैन कि देशको मुटुमा बज्र प्रहार गर्ने कोसिस जारी रहेको बताए। देश, जनता र कांग्रेसका अगाडि उभिएका समस्या समाधान केवल एकीकृत र सङ्गठित सशक्त कांग्रेसले मात्रै गर्न सक्ने उनको भनाइ छ।
उनले थपेका छन्, ‘एकतन्त्रीय राणा शासनको अन्त्य गर्न र गणतन्त्र स्थापना गर्नका लागि दुइटा कांग्रेस एक भएर मात्रै सम्भव भएको थियो। २०४६ सालमा प्रजातन्त्र स्थापनाका बेला कांग्रेस–वाममोर्चाको संयुक्त जनआन्दोलनले सफलता हासिल गरेको र यतिसम्म कि २०७९ को निर्वाचनमा फरक विचारका पार्टीहरूसँग समेत गठबन्धन गर्ने अवस्थाको सिर्जना भएको इतिहासको स्मरण गर्दै व्यक्तिगत कुण्ठा, विचार र धारणा त्याग गरेर एकताबद्ध कांग्रेस निर्माणमा भूमिका खेल्नु आजको आवश्यकता हो।’
नेपाली कांग्रेसको विधान र लोकतान्त्रिक प्रक्रियाबाट नै सबै अड्चनको गाँठो फुकाउनुपर्ने बताए।

Leave a Reply