
काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएका छन् । मुख्यसचिव अर्याल ५८ वर्षे सेवा अवधि र सचिव दुवाडी पाँच वर्षे सचिवको कार्यकाल पुरा गरेर मंगलबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।
नायब सुब्बाबाट २०४६ सालमा निजामती सेवा प्रवेश गरेका मुख्यसचिव अर्याल ३५ वर्ष सेवा गरेर अनिवार्य अवकाशमा गएका हुन् ।
मुख्यसचिव अर्यालको मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहकाविच प्रधानमन्त्री सुशिला कार्कीले बिदाइ गरेकी छन् भने सचिव दुवाडीको आयोगमा एक समारोहकाविच बिदाइ गरिएको छ ।
मुख्यसचिव र सचिव अवकाशमा गएसँगै दुई सचिवको पद रिक्त भएको छ । मुख्यसचिव अर्याल अवकाशमा गएपछि रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि एउटा र दुवाडी अवकाशमा गएपछि दुई सचिवको पद रिक्त भएको हो ।
दुई सचिवको पद रिक्त भएसँगै दुई जना सहसचिव सचिवको लाइनमा देखिएका छन् । जसमा पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम (कामु) प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल छन् भने दोस्रो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेल रहेका छन् ।
यसअघि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्री सचिवमा बढुवा हुँदा अर्याल दोस्रो नम्बरमा र पौडेलको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो ।

Leave a Reply