सुडानका युद्धरत पक्षलाई ‘पूर्व सर्तबिना’ युद्धविराम प्रस्ताव स्वीकार गर्न अमेरिकाको आग्रह

काठमाडौं । अमेरिकाले सुडानमा युद्धरत पक्षलाई युद्धविरामको पछिल्लो प्रस्तावलाई ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका अफ्रिकी प्रतिनिधिले मङ्गलबार मध्यस्थकर्ताहरूको तर्फबाट वाशिङ्गटनले प्रस्तुत गरेको सुडानको युद्धविराम प्रस्तावमा सहमत हुन आग्रह गरेका हुन् । समाचार तयार पार्दासम्म कुनै पनि पक्षले प्रस्ताव स्वीकार नगरेको बताइएको छ ।

हामी दुवै पक्षलाई बिना कुनै पूर्व शर्त प्रस्तुत मानवीय युद्धविरामलाई स्वीकार गर्न अपिल गर्दछौँ, मसाद बोउलोसले युएईको राजधानी अबुधाबीमा एक पत्रकार सम्मेलनमा भने । उनीहरूले अमेरिकी नेतृत्व र मध्यस्थकर्ताको पहलमा प्रस्तुत गरिएको विशिष्ट प्रस्तावलाई स्वीकार गरून् भन्ने चाहन्छौँ, उनले भने

सुडानका सेना प्रमुख अब्देल फताह अलबुरहानले बुलोसले प्रस्तुत गरेको पछिल्लो प्रस्तावको आलोचना गरेको केही दिनपछि अबुधाबीमा युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशसँगको संयुक्त पत्रकार सम्मेलनमा बोउलोसले यो आग्रह गरेका हुन् ।

बुरहानले अमेरिकाका साथै साउदी अरब, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) पनि समावेश रहेको (क्वाड समूह)ले प्रस्तुत गरेको पछिल्लो युद्धविराम योजनाको आलोचना गरेका थिए । उनले युएई सदस्य रहुन्जेल कुनै पनि प्रस्ताव निष्पक्ष आउन नसक्ने दाबी गरेका थिए ।

युएईमाथि सेना समर्थित सरकारसँग लडिरहेको युद्धरत सुडानी अर्धसैनिक बललाई हतियार दिएको आरोप लगाइएको छ । युएईले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

रासस/ एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *