
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनावमा भाग लिनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
आज काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले जनताको सर्वोच्चता र प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट अलग हुन नचाहेको निष्कर्ष बैठकले निकालेको महामन्त्री राजाराम बर्तौलाले बताए।
उनले भने, ‘यथास्थितिमा हुने चुनावबाट आमूल परिवर्तन र संविधान संशोधनको निम्ति दुई तिहाई बहुमत आउने कुरा त परै जाओस् सरकार बनाउन कुनै पनि दलको बहुमत आउने सम्भावना पनि देखिन्न ।’
सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र असफल भएको तथा त्यसको विकल्पमा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन र राजसंस्थासहितको प्रजातन्त्र स्थापना हुनुपर्छ भन्ने मान्यताको पक्षमा पार्टी दृढ रहेको बताए।
उनले भने, ‘जनताको सर्वोच्चता र प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा राप्रपा नेपाल चुनावबाट अलग हुन चाहँदैन। चुनाव अगावै न्यूनतम सुधारका निम्ति राप्रपा नेपालले निरन्तर दबाब दिइरहने छ । सुधारको आशा र विश्वास गर्दै निर्वाचनमा सहभागिताका निम्ति निर्वाचन आयोगको आह्वान अनुसार चुनावमा भाग लिने प्रयोजनका लागि राप्रपा नेपाललाई आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।’
सदन र सडकको शक्ति प्रयोग गरी आफ्ना मान्यताहरू स्थापित गर्ने राप्रपा नेपालको घोषित नीति रहेको हुँदा चुनावलाई प्रयोग गर्ने कार्यमा राप्रपा नेपाल सचेत रहेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने पूर्व निर्णयलाई कार्यान्वयन गर्ने प्रयत्न गरिने निर्णय समेत गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता हुन नसके समान विचारधारा राख्ने अन्य समूहहरूसँग सहकार्य गरी अघि बढ्ने नीति अवलम्बन गरिने बताए।


Leave a Reply