
काठमाडौं । नेपालको राजनीतिमा ‘असम्भव’ भन्ने शब्दको कुनै स्थान हुँदैन भन्ने भनाइलाई पछिल्लो एउटा राजनीतिक घटनाक्रमले पुनः पुष्टि गरेको छ । तत्कालीन नेकपा (माओवादी) जनयुद्धका दुई हस्ती, जो विगत नौ वर्षदेखि फरक-फरक ध्रुव र अभ्यासमा थिए, अन्ततः एउटै बिन्दुमा आइपुगेका छन् ।
यी दुई हस्ती हुन् डा. बाबुराम भट्टराई र जनार्दन शर्मा ‘प्रभाकर’ । उनीहरूले २ दिनअघि मात्र ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ को घोषणा गरे । माओवादी आन्दोलनका यी दुई खम्बाको पुनर्मिलन केबल दुई नेताको सहयात्रा मात्र होइन, यो नेपालको वाम-लोकतान्त्रिक आन्दोलनमा देखिएको टुटफुट, महत्वाकांक्षा र अस्तित्व रक्षाको एउटा जीवन्त दस्तावेज पनि हो ।
आइतबार सम्पन्न बृहत् एकता घोषणा सभामा दुवै नेताले एक-अर्काको हात थाम्दै गर्दा उपस्थित कार्यकर्तामा जति उत्साह देखिन्थ्यो, त्योभन्दा बढी चुनौती र प्रश्न उनीहरूको आगामी यात्रामा तेर्सिएका छन् ।
बाबुरामको ९ वर्षे राजनीतिक ‘प्रयोग’ र असफलताको स्वीकारोक्ति
२०७३ सालमा संविधान घोषणा भएलगत्तै डा. बाबुराम भट्टराईले ‘माओवादी आन्दोलनको कार्यभार पूरा भयो’ भन्दै माओवादी पार्टी परित्याग गर्दा धेरैका लागि त्यो अप्रत्याशित थियो । ‘नयाँ शक्ति नेपाल’ गठन गरेर उनले परम्परागत कम्युनिष्ट पार्टीभन्दा फरक, सुसंस्कृत र आर्थिक विकासमा केन्द्रित वैकल्पिक शक्तिको वकालत गरे । तर, उनको त्यो ९ वर्षे यात्रा निकै कष्टकर र अस्थिर रह्यो ।
२०७३ देखि २०८१ सम्मको बाबुरामको यात्रालाई हेर्ने हो भने त्यो टुटफुट र विलयको श्रृङ्खलाजस्तै देखिन्छ । सुरूमा ठूलो तामझामका साथ ‘नयाँ शक्ति’ बनाएका बाबुरामले सोचेजस्तो जनमत पाउन सकेनन् । एक्लै हिँडेर गन्तव्यमा पुग्न नसकिने निष्कर्षसहित उनले उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी विलय गराए । ‘जनता समाजवादी पार्टी’ (जसपा) बन्यो, तर बाबुरामको वैचारिक र संगठनात्मक स्वाभाव मधेश केन्द्रित दलसँग लामो समय टिक्न सकेन ।

जसपाभित्रको अन्तरद्वन्द्व पछि उनी त्यहाँबाट अलग्गिएर २०७९ सालमा ‘नेपाल समाजवादी पार्टी’ (नेसपा) पुनर्गठन गर्न पुगे । विडम्बना, नेसपा पनि एकताबद्ध रहन सकेन । २०८० चैतमा महिन्द्रराय यादव समूह प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग नजिकिएपछि बाबुराम पुनः एक्लिए । त्यसपछि २०८० माघमा सम्पन्न महाधिवेशनबाट उनले नेसपा (नयाँ शक्ति) बनाएर आफ्नो राजनीतिक यात्रालाई ‘क्लोजिङ च्याप्टर’ तिर लैजाँदै थिए ।
आइतबारको एकता सभामा बाबुरामको भावभंगीले स्पष्ट बताउँथ्यो, उनी अब आफैँ कार्यकारी भूमिकामा रहेर संगठन हाँक्ने दौडमा छैनन् । ९ वर्षको निरन्तरको राजनीतिक प्रयोग, असफलता र अस्थिरतापछि उनले एउटा ‘विश्राम’ चाहेका छन् । उनलाई आफ्नो विचारलाई बोक्ने र विरासत धान्ने एउटा दरिलो काँध चाहिएको थियो, जुन उनले सायद जनार्दन शर्मामा देखेका छन् । बाबुरामका लागि यो एकता आफ्नो राजनीतिक जीवनको सुरक्षित अवतरणको खोजी हो ।
जनार्दनको ‘हुटहुटी’ र प्रचण्डसँगको मोहभंग
अर्कोतर्फ, जनार्दन शर्मा ‘प्रभाकर’ को कथा बाबुरामको भन्दा फरक तर उत्तिकै पेचिलो छ । उनी माओवादी केन्द्रमै रहेर लामो समय शक्ति र सत्ताको अभ्यास गरे । उनी सधैं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र र संकटका सारथी मानिन्थे । तर, पछिल्लो समय माओवादीभित्रको शक्ति संघर्ष र पुस्तान्तरणको बहसमा जनार्दनले बाटो मोडे ।
विशेषगरी, अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न नचाहेको र सधैं आफैँ केन्द्रमा रहिरहने चाहना राखेको भन्दै जनार्दनले पार्टीभित्रै विद्रोहको स्वर उरालिरहेका थिए । उनले सार्वजनिक रूपमै भन्दै आएका थिए, ‘अब अध्यक्षले नेतृत्व छोड्नुपर्छ, म पनि नेतृत्वमा प्रतिस्पर्धा गर्न तयार छु ।’ उनको यो महत्वाकांक्षालाई प्रचण्डले सहज रूपमा लिएनन् ।
यसबीचमा घटनाक्रमले तब नयाँ मोड लियो, जब प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) मा समाहित हुने निर्णय भयो । जनार्दन शर्माले यो एकतालाई माओवादी आन्दोलनको विसर्जन र प्रचण्डको सत्ता स्वार्थको संज्ञा दिँदै त्यसको विपक्षमा उभिए । उनले ‘प्रगतिशील अभियान’ सञ्चालन गरेर देशभर कार्यकर्ता ध्रुवीकृत गर्ने प्रयास गरे ।
अन्ततः त्यही अभियान र बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति) मिलेर अहिलेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ जन्मिएको छ । जनार्दनका लागि यो एकता प्रचण्डलाई चुनौती दिने र आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने ‘गर या मर’ को लडाइँ हो ।
भ्रम र यथार्थको कसीमा जनार्दनको शक्ति
एकीकरण घोषणा सभामा जतिसुकै उत्साह देखिए पनि जनार्दन शर्माको धरातलीय यथार्थ भने निकै चुनौतीपूर्ण छ । उनले माओवादी केन्द्र छोड्दा आफूसँग ‘ठूलो टिम’ र ‘शक्तिशाली पंक्ति’ रहेको दाबी गरेका थिए । तर, आइतबारको दृश्यले उनको त्यो दाबीलाई खण्डन गरेको छ ।
विद्रोहको झन्डा उठाउँदा उनले जुन समर्थनको अपेक्षा गरेका थिए, त्यो व्यवहारमा देखिएन । उनीसँगै माओवादीको संस्थापन पक्षबाट विद्रोह गरेर आउनेमा आफूसहित जम्मा २ जना पदाधिकारी मात्र देखिए । अझ विडम्बनाको कुरा त के छ भने, माओवादी केन्द्रको शक्तिशाली मानिने स्थायी कमिटीका एकजना सदस्यले पनि जनार्दनको साथ दिएनन् । केन्द्रीय सदस्यकै कुरा गर्दा पनि २-४ जना भन्दा बढी उनको पक्षमा खुलेनन् ।
माओवादी संगठनमा लामो समय काम गरेका र ‘अपरेसन कमाण्डर’ मानिने जनार्दनका लागि यो संख्या निकै निराशाजनक हो । १० वर्षे जनयुद्धमा हजारौ संख्या रहेको जनमुक्ती सेनाका डिभिजन कमाण्डर रहेका उनी अहिले भने ‘सेनाबिनाका सेनापति’ जस्तो देखिएका छन् । कार्यकर्ता पंक्तिमा उनको व्यक्तिगत प्रभाव रुकुम र आसपासका जिल्लामा बलियो भए पनि राष्ट्रिय राजनीतिमा पार्टी नै फुटाएर हिँड्दा सोचेजस्तो लहर आउन सकेन । जसले गर्दा, उनलाई बाबुराम भट्टराईजस्तो (राष्ट्रिय छवि भएका भलै संगठन कमजोर होस्) नेतासँग मिल्नुपर्ने बाध्यता सिर्जना भयो ।
बाध्यताको मिलन र फागुन २१ को अग्निपरीक्षा
डा. बाबुराम भट्टराई र जनार्दन शर्माको यो मिलनलाई विश्लेषकले ‘रहरभन्दा पनि बाध्यताको उपज’ को रूपमा अर्थ्याएका छन् । बाबुरामलाई आफ्नो विचार बोक्ने जुझारु नेतृत्व चाहिएको थियो भने जनार्दनलाई आफ्नो विद्रोहलाई वैधानिकता दिने र बौद्धिक छवि भएको ‘अभिभावक’ चाहिएको थियो ।
बाबुरामको ‘सफ्ट पावर’ (विचार र अन्तर्राष्ट्रिय छवि) र जनार्दनको ‘हार्ड पावर’ (संगठनात्मक कौशल र युवा जोस) को मिश्रणले नयाँ पार्टीलाई गति दिने उनीहरूको दाबी छ । तर, चुनौतीको पहाड उनीहरूको सामुन्ने खडा छ ।
सबैभन्दा नजिकको चुनौतीको रूपमा आगामी फागुन २१ गते हुने निर्वाचन खडा भएको छ । यो निर्वाचन नयाँ पार्टीको लागि अग्नि परीक्षा हुनेछ । संगठनको नाममा देशभर छरिएका बाबुरामका केही पूर्व समर्थक र जनार्दनका सीमित कार्यकर्ताको भरमा चुनावमा होमिनु चानचुने कुरा होइन ।
एकातिर भर्खरै एकीकृत भएको प्रचण्ड-माधव नेपाल नेतृत्वको ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) को संगठित शक्ति, अर्कोतिर नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता परम्परागत शक्ति, अनि उदाउँदो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहरबीच ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ ले आफ्नो अस्तित्व कसरी जोगाउला ? यो प्रश्न निकै गम्भीर छ ।
दुई ‘अपूर्ण’ शक्ति मिलेर एउटा ‘पूर्ण’ शक्ति बन्ला ?
नौ वर्षअघि बाबुरामले जुन बिन्दुबाट माओवादी छोडेका थिए, आज जनार्दन शर्मा पनि त्यही बिन्दुमा आइपुगेका छन्, प्रचण्डसँगको असहमति र नयाँ बाटोको खोजी । तर, समय र परिस्थिति बदलिएको छ । बाबुरामको ९ वर्षे एक्लो यात्राले पुष्टि गरिसकेको छ कि नेपालमा वैकल्पिक शक्ति निर्माण गर्न विचार मात्र होइन, बलियो संगठन र जनआधार पनि चाहिन्छ ।
जनार्दन शर्मामा नेतृत्व गर्ने ‘हुटहुटी’ त छ, तर उनीसँग अहिले संगठनको जग छैन । बाबुरामसँग विचारको उचाइ छ, तर दौडने खुट्टा थाकिसकेका छन् । यो स्थितिमा दुई ‘अपूर्ण’ शक्ति मिलेर एउटा ‘पूर्ण’ शक्ति बन्ला वा यो मिलन पनि विगतका अनेकौं कम्युनिष्ट जुट्ने र फुट्ने शृङ्खलाको एउटा अर्को अध्याय मात्र बन्ला ?
फागुन २१ को निर्वाचन परिणाम र त्यसपछिका दिनले नै यसको जवाफ दिनेछन् । अहिलेलाई भने यति भन्न सकिन्छ, प्रचण्डको छायाबाट मुक्त हुन खोजेका जनार्दन र राजनीतिक विश्रामको खोजीमा रहेका बाबुरामको यो सहयात्रा नेपाली राजनीतिको जटिल मोडमा सुरु भएको एउटा जोखिमपूर्ण तर रोचक जुवा हो ।

Leave a Reply