
काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा शनिबार तन्नाले बेरिएको अवस्थामा फेला परेको शव रूकुम घर भएकी अन्दाजी २० वर्षकी युवती माया भन्ने आयुषा मगरको भएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार शव फेला पर्ने बित्तिकै मृतकको पहिचान खुलेको थिएन ।
बसपार्क क्षेत्रमा विभिन्न काम गरेर गुजारा चलाउने यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी) को झगडाका कारण बेपत्ता भएकी एक युवती हुनसक्ने अनुमान थियो । तर, विस्तृत अनुसन्धानबाट मृतक महिला नै भएको खुलेको एसएसपी थापाले बताए ।
एक होटलमा सेफका रुपमा काम गर्ने करिब २५ वर्षका युवक सूर्य थापा मगरसँग मृतक मगरको आर्थिक लेनदेन थियो । दिएको रकम (पाँच सय रुपैयाँ) पटक पटक फिर्ता माग्दा पनि नदिएपछि डर देखाउने उद्देश्यले सामान्य कुटपिट गरेको सेफ मगरले स्वीकारेका छन् ।
त्यसक्रममा घाँटी थिच्दा ज्यान गएको बताएका छन् । घाँटी थिचेकै कारण ज्यान गएपछि शवलाई होटलकै तन्नाले बेरेर बसपार्कमा छोडिदिएको उनले प्रहरीलाई बताएका छन् ।
यसबाहेक काठमाडौंमा भएका विभिन्न घटनाको जानकारी गराउन परिसरले अपराह्न दुई बजे पत्रकार सम्मेलनको आयोजना गरेको थापाले बताए । ‘कात्तिक महिनाभरिका विभिन्न घटनाको जानकारी गराउँछौँ’, उनले भने ।

Leave a Reply