
काठमाडौं। l जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा तोडफोड आगजनीमा संलग्न २ जना पक्राउ परेका छन् । त्यसक्रममा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल किन त्यहाँ गएका थिए भन्ने विषयको गम्भीर अनुसन्धानमा प्रहरी जुटेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरी जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए ।
पक्राउ पर्ने झापा, भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठ हुन् । उनीहरूलाई आपराधिक उपद्रभ मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको भट्टराईले बताए ।
सोही घटनामा तत्कालीन माओवादी केन्द्रसम्बद्ध अखिल क्रान्तिकारीका नेता एवं नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेलको उपस्थिति र भिडियो फुटेजमा भेटिएका दृश्यको सूक्ष्म अध्ययन भइरहेको अपराध अनुसन्धान कार्यालय, टेकुस्रोतले जनाएको छ ।
पक्राउ परेका घताने र श्रेष्ठले आफूहरु अरुकै उक्साहटमा त्यहाँ पुगेको प्रारम्भिक बयान दिएका छन् । उक्साहट गर्ने व्यक्ति को थिए र के, कस्ता प्रलोभनका साथ उनीहरू त्यहाँ लगिएका थिए भन्ने कोणबाट अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ ।
त्यसका निम्ति उपलब्ध भिडियो फुटेजमा देखिएका सबै व्यक्तिमाथि सोधपुछ गरिने अनुसन्धानरत एक प्रहरी अधिकृतले नेपाल प्रेसलाई बताए ।

Leave a Reply