
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एमाले नेताहरु भानुभक्त ढकाल र महेश बस्नेतमाथि भएको दुर्व्यवहारको घटना कानुनी राज्यको उपहास भएको बताएको छ ।
‘जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारले देशमा अराजकतालाई प्रवर्धन गरिरहेको छ ।’ अखिलका अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अखिलले यस प्रकारका हर्कत बारम्बार दोहरिनुले सरकारले नै अराजकता बढाउन बल पुर्याएको पुष्टि हुने उल्लेख गरेको छ ।
‘यस्ता कुकृत्यहरु दोहर्याइँदै गरेको प्रति अनेरास्ववियु घोर निन्दा गर्दै कठोर प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौं ।’ आइतबार विज्ञप्ति जारी गर्दै अखिलले भनेको छ, ‘बहुदलीय लोकतन्त्र र कानूनी राज्यको उपहास गर्दै घटित यस प्रकारका घटनाले देशलाई थप अराजकतातर्फ धकेल्ने निश्चित छ ।’
एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत महत्वपूर्ण राजनीतिक कार्यक्रमको सिलसिलामा जाँदै गर्दा विराटनगर विमानस्थलमा कायरतापूर्वक दुर्व्यवहार गरिएकामा अखिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply