स्वच्छ र भयरहित चुनावको वातावरण भए जनताले हामीलाई अत्यधिक मत दिने छन् : भीम रावल

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी ताजा जनदेशको लागि तयार अवस्थामा रहेको बताएका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने भन्दै आफूहरू तयारी अवस्थामा रहेको बताएका हुन् । सरकारले निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।

‘ताजा जनादेशको लागि हामी तयारी अवस्थामा छौँ । फागुन २१ गते हुने निर्वाचन स्वच्छ र भयरहित अवस्थामा सम्पन्न गराउन सरकारले त्यो अनुसारको वातावरण बनाउनु पर्छ । अझै त्यस्तो वातावरण बनिसकेको छैन ।’

कारागारबाट फरार कैदीहरू अझै सम्पर्कमा नरहेको, हतियार तथा गोलीहरू बरामद नभएको भन्दै निर्वाचनको वातावरण बन्न नसकेको उनको भनाइ थियो ।

‘कैदी बन्दी फरार छन्, गोली हतियार नियन्त्रणमा आएका छैनन् । सरकारले त्यसमा ध्यान दिनुपर्छ । सबै गतिविधिहरुमा सरकारले चासो राखेर निर्वाचनको सुनिश्चित गराउनु पर्छ । त्यो अवस्थामा नेपाली जनताले नेपाली कम्युनिस्ट पार्टीलाई अत्यधिक मत दिने छन्’ रावलको भनाइ थियो ।

मंसिर १२ बाट सुरू हुने एकता सन्देश सभाले पनि देशभर पार्टीको जनलहर अझै बढाउने उनको दाबी थियो । एकता सन्देश सभाको सुरुवात धनगढीबाट हुन गइरहेको भन्दै त्यसमा तीव्र तयारी भइरहेको उनले बताए ।

धनगढी रङ्गशालामा साढे १२ बजे सुरू हुने सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा अन्य घटकका नेताले सम्बोधन गर्ने उनले बताए । सभाको लागि रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाइउको छ ।

एमाले र कांग्रेसको दम्भका कारण भदौ २३-२४ गतेको घटना सृजना भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै जिम्मेवार रहेको उनको आरोप छ । दुवै दिनको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनले जोड दिए ।

सात वटा अपराधिक मुद्दा खेपेको व्यक्तिलाई एमालेले नेसनल भोलेन्टियर फोर्सको संयोजक बनाएको भन्दै उनले आलोचना गरे । चुनावले त्यस्ता व्यक्ति र प्रवृत्तिलाई पाखा लगाउने उनको दाबी थियो ।

एमालेभित्र तीव्र विवाद र असन्तुष्टि रहेको भन्दै ठुलो पङ्क्ति नेपाल कम्युनिस्ट पार्टीमा भित्रिने रावलको जिकिर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *