नेपालको ‘जेन जेड’ आन्दोलनमा गैरकानूनी बल प्रयोग भएको ह्युमन राइट वाचको प्रतिवेदन

काठमाडौं । नेपालमा हालै भएको ‘जेन जेड’ युवा आन्दोलनको क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्ट अनुसार दुई दिनसम्म चलेको हिंसात्मक झडपमा कम्तीमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु, सयौँ घाइते र व्यापक निजी तथा सरकारी सम्पत्ति नष्ट भएको तथ्य औँल्याइएको छ । लुटपाट र आगजनीका क्रममा अझ धेरै मानिस मारिएका थिए ।

सो संस्थाले सरकार र सुरक्षानियन्त्रण निकायको भूमिका बारे विश्वसनीय र स्वतन्त्र छानबिन गर्न तत्काल आग्रह गरेको छ। ह्युमन राइट वाचका अनुसार प्रदर्शन दबाउन प्रहरीले रबर बुलेट, वास्तविक गोली, अश्रुग्यास, र अत्यधिक बल प्रयोग गरेको दृश्यहरू अहिले पनि सामाजिक सञ्जालमा उपलब्ध छन् ।

अनेकै भिडियो र प्रत्यक्षदर्शी कथनको विश्लेषणपछि सार्वजनिक सो प्रतिवेदनमा भनिएको छ-सुरक्षाकर्मीहरूले कानुनी रूपमा आवश्यकभन्दा धेरै बल प्रयोग गरेका छन्, केही घटनामा घाइते प्रदर्शनकारीहरूलाई समेत कुटपिट गरिएको देखिन्छ । धेरै क्षेत्रमा निहत्था युवामाथि नजिकबाट गोली हानिएको, मेडिकल टोलीलाई अवरोध गरिएको र घाइतेहरुलाई समयमै उपचार नदिनुले मृत्यु संख्या बढाएको थियो ।

आन्दोलन सुशासनको पक्षमा युवाहरुले स्वस्फूर्त गरे पनि त्यसक्रममा केही समूहहरूले सङ्गठित हिंसा फैलाएको आशंका पनि प्रतिवेदनमा उठाएइको छ । आगजनी र लुटपाटका घटना भने योजनाबद्धरुपमा गराइएको समेत रिपोर्टमा उल्लेख छ । भदौ २४ को घटनाबारे अलग ढंगले अध्ययन हुनुपर्ने भन्दै सो संस्थाले त्यसदिन सुरक्षा निकायले त्यस्ता समूहलाई छुट दिएको जनाएको छ ।

रिपोर्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही राजनीतिक समूहहरूको भूमिकाबारे विस्तृत अध्ययन भइरहेको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *