
कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आगामी मङ्सिर १२ गते कैलालीको धनगढीमा आयोजना गर्ने पार्टी एकता सन्देश सभाबारे भीम रावलले कार्य योजनाको खाका प्रस्तुत गरेका छन् ।
शनिवार बिहान धनगढीस्थित कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा अगुवा नेता तथा कार्यकर्ताको उपस्थितिमा विशेष निर्देशनको रूपमा प्रस्तुत गरिएको उक्त खाकामा चन्दा सङ्कलन गर्नेदेखि लेबी उठाउनेसम्मको निर्देशन जारी गरिएको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेकपामा रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि मिसिएको थियो । एकतापछि पहिलो पटक धनगढीमा आयोजित छलफलमा उनले सन्देश सभा सफल बनाउन निर्देशन जारी गरे।
‘अब मोबाइल रेकर्ड बन्द गरिदिनुहोस्, पत्रकार साथीहरू पनि बाहिरै बसिदिनुहोस्’ पार्टी भित्रको आन्तरिक विषय उल्लेख गर्न थालेको भन्दै सबैलाई सुरुमै रावलले निर्देशन दिए । त्यसपछि नेपाली कम्युनिस्ट पार्टीको विशेष निर्देशन १ को मस्यौदा प्रस्तुत गरे ।
जिल्ला कमिटीहरूले प्रदेशबाट निम्न बमोजिम तोकिएको लेबी मङ्सिर ११ गतेभित्र प्रदेशमा तोकिएको व्यक्तिलाई बुझाउन उनले निर्देशन दिए ।
‘सङ्क्रमण कालमा छौँ । प्रदेशको एउटा स्थायी स्रोत छैन ’ उनले भनेका थिए ‘लेबी थोरै तोकिएको छ सबैले मङ्सिर ११ भित्र बुझाउनु होला ।’
रावलले कैलाली र कञ्चनपुर जिल्लालाई १/१ लाख लेबी सुनाए ।
अछामलाई ३५ हजार, डडेल्धुरालाई २० हजार, डोटीलाई २५ हजार दार्चुला लाई २० हजार , बझाङलाई ३० हजार, बाजुरालाई २० हजार र बैतडी जिल्लालाई २५ हजार लेबी रावलले प्रस्ताव गरेका थिए ।
‘जिल्लाको कोटाबाट प्राप्त हुने रकम मञ्च व्यवस्थापन, जुलुस व्यवस्थापन, झन्डा ब्यानर र सचिवालयमा प्रयोग गरिने छ’ उनले प्रस्ट पारे ।
अन्यमा सङ्घीय र प्रदेश सांसदलाई १५ हजार , सांसद नरहेका केन्द्रीय सदस्यहरूलाई ५ हजार, सांसद नरहेका केन्द्रीय निकायका सदस्यहरू ३ हजार, प्रदेश कमिटीका सदस्यहरूलाई ५ सय ,प्रदेश कमिटीका सल्लाहकारहरूलाई ३ सय, नगर प्रमुखलाई १२ हजार तोकिएको छ भने उपप्रमुखहरूलाई ८ हजार तोकिएको छ । गाउँपालिकाका अध्यक्षलाई ८ हजार , उपाध्यक्षहरूलाई ४ हजार र वडाध्यक्षलाई २ हजार लेबी निर्धारण गरेको उनले निर्देशनमा प्रस्तुत गरेका थिए ।

ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्यहरूलाई स्वैच्छिक रहेको भन्दै राजनीतिक नियुक्तिमा रहेका व्यक्तिहरूलाई मासिक पारिश्रमिकको १० प्रतिशतले हुन आउने रकम दिनुपर्ने बताए । ‘१ लाख पारिश्रमिक भएकाले १० हजार दिनुपर्छ । त्यो त कम भयो नि हैन ’ उनले भनेका थिए, ‘अब कम नै गर्नु भन्नुभयो साथीहरूले ।’
उक्त रकम सिधै खातामा पठाउने निर्देशन दिएका थिए । खाता नम्बर पछि उपलब्ध गराइने समेत बताए ।
रावलको प्रस्तावमा प्रदेश, जिल्ला र नगरपालिका कमिटी नेतृत्वमा रहेकाहरूलाई मङ्सिर १२ गतेको पार्टी एकता सन्देश सभाको सफलताको लागि चन्दा, आर्थिक सहयोग गर्न चाहने उद्योग व्यवसायी तथा विभिन्न पेसमा संलग्न व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त गर्न र त्यसको जानकारी व्यवस्थापन समितिलाई दिन उल्लेख गरिएको छ ।
यसको लागि एउटा रसिद तयार गर्ने विषयमा छलफल गर्ने रावलले बताएका थिए । रावलले कैलाली कञ्चनपुरबाट स्वयंसेवकलाई ८ गते भित्र नाम दिन निर्देशन दिएका थिए ।
‘देशको अवस्था सामान्य छैन । देखिहाल्नु भएको छ बारामा त्यस्तो घटना घटेको छ । त्यस कारण हाम्रो जुलुस व्यवस्थापन सभा व्यवस्थापन नेताहरूको सुरक्षा लगायतका कामहरू हामीले उल्लेखनीय रूपमा स्वयम सेवक परिचालन गर्नु पर्ने भएको हुँदा यो नामहरू आवश्यक छ’ उनले भने ‘ तिनलाई हामी प्रशिक्षण दिन्छौँ । ’
सन्देश सभाको सफलताको लागि आफ्नै नेतृत्वमा रावलले मूल व्यवस्थापक समिति गठन गर्ने प्रस्ताव गरेका थिए ।
त्यसमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका पदाधिकारीहरू, विघटित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरू, ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय पदाधिकारीहरू प्रदेश कमिटीका सदस्यहरू, प्रदेश सल्लाहकारहरू विभागका सदस्यहरू जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरू, जिल्ला कमिटीका पदाधिकारीहरू कैलाली र कञ्चनपुर जिल्लाका जनसङ्गठनका पदाधिकारीहरू रहने उनले बताए ।
मूल व्यवस्थापन समितिको १५ सदस्यीय कार्य सम्पादन समिति बनाइने उनले जानकारी दिए । उनले विभिन्न उपसमिति समेत प्रस्ताव गरेका थिए ।
प्रचार प्रसार, आर्थिक, जनपरिचालन तथा यातायात, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन, जुलुस व्यवस्थापन, अतिथि सत्कार, खाद्य व्यवस्थापन, आभास व्यवस्थापन विविध व्यवस्थापक,संस्कृति, सुरक्षा प्रशासन, स्वास्थ्य तथा सरसफाइ उपसमिति गठन गरिने रावलले छलफलमा बताएका थिए ।
विभिन्न पार्टी परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी आउन चाहनेहरूको नाम तयार गरेर मूल व्यवस्थापन समितिलाई चाडै दिन निर्देशन दिए ।
‘ओली जिले सचिवालय बैठकमै र्याउर्याउ नगर केटाहरू र्याउर्याउ गर्ने भए छोडेर जानुस् भनिसक्नु भएको छ । यो महाधिवेशनमा म यसो दुई चार शब्द बोल्छु सक्यो नि भन्नुभएको छ, त्यो कुराको पाच्य नभएर एमालेको ठुलै पत्ति पाटी छोड्दै छन् भन्ने हामीले चर्चा सुनेका छौ ’ उनले भने, ‘तपाइहरूको गाउँ बस्तीमा को कोले छोड्दै छन् ती सबैलाई हार्दिक स्वागत गरेर तिनीहरूको नाम हामीलाई दिनुहोला हामी मङ्सिर १२ गते स्वागत गर्छौ। ’
१२ गते धनगढीको पुरानो विमानस्थल क्षेत्र वा रङ्गशालाको पश्चिम क्षेत्र मध्ये एक ठाउँमा कार्यक्रम आयोजना हुने उनले छलफलमा जानकारी दिए ।
‘पूर्वबाट आउनेहरूलाई क्याम्पस रोडमा जम्मा भएर जुलुससहित आउने,पश्चिम उत्तर र दक्षिणबाट आउनेहरू सहिद गेटमा भेला भएर जुलुससहित आउने ’ उनको निर्देशमा उल्लेख गरिएको छ ।
वडाबाटै आह्वान गरेर ५० हजार उतार्ने योजना उनले सुनाए । उनले मङ्सिर १२ गतेको कार्यक्रममा आम निर्वाचनमा पार्टीको भूमिका र स्थानलाई पनि प्रस्ट पार्ने स्पष्ट पारेका थिए । छलफलमा उनले खुलेर आफ्नो निर्देशनमा सुझाव दिन आह्वान गरेका थिए ।

Leave a Reply