जेन-जीको दबाबमा बाराका एसपी फिर्ता, प्रहरी भन्छ- अवधि पुगेर

काठमाडौं । सिमरामा बुधवार र बिहीबार भएको जेन-जी प्रदर्शनका क्रममा त्रुटिपूर्ण कार्य गरेको जेन-जी समूहको आरोपपछि जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङ त्यहाँबाट फिर्ता भएका छन् ।

यद्यपि केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार ११ महिनाको कार्य अवधि पूरा भएपछि संगठनको आन्तरिक परिपत्रका आधारमा एसपी तामाङ प्रहरी मुख्यालयमा काज सरुवा भएका हुन् ।

धादिङका प्रहरी प्रमुख भेषराज रिजाल मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका निम्ति काज खटाइएका छन् । बारामा एसपी नरेन्द्र कुवर र धादिङमा सुमित खड्का खटिएका छन् ।

सिमरा घटनापछि जेन-जी अभियन्ता सुधन गुरुङले खुलेआम गृहमन्त्रीको आलोचना गरेका थिए । जेन-जी आन्दोलनकै बलमा गठित सरकारको मन्त्रीका विषयमा जेन-जी अगुवाले नै सार्वजनिक रूपमा आलोचना गरेपछि उनीहरूको आक्रोश साम्य पार्न बाराबाट एसपी फिर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ ।

धादिङका एसपी रिजालको भने कार्य मूल्याकंनका आधारमा काज गरिएको प्रवक्ता काफ्लेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *