अर्घाखाँचीमा ४ दलका साझा उम्मेदवार स्वतन्त्र उम्मेदवारसँग पराजित भएपछि आरोप/प्रत्यारोपमा

रूपन्देही । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा १७ सय उपभोक्ता रहेको साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा मुख्य चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विजयी भएपछि घात/अन्तरघातको आरोपप्रत्यारोप सुरु भएको छ ।

स्वतन्त्र नागरिक समाजका नाममा बाबुराम भुसालले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका अध्यक्षका साझा उम्मेदवार युवराज खत्रीलाई १ सय २० मतले पराजित गरेका हुन् । भुसाल केही दिनअघि मात्रै नेपाली कांग्रेसको नगर सभापति छाडेर गएका नेता हुन् । जेनजी आन्दोलनमा उनले पार्टी हित विपरीत जेनजीलाई सहयोग गरेको भन्दै कारबाही गरेको थियो भने उनले पार्टी छाडेको घोषणा गरेका थिए ।

भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत ल्याए । १ हजार ७ सय ३१ उपभोक्तामध्ये बुधवार भएको मतदानमा १ हजार ६८ मत खसेको थियो । खत्री कांग्रेस कार्यकर्ता हुन् ।

भदौ २४ को जेन–जी प्रदर्शनपछि भुसालले कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी परित्याग गरेर स्वतन्त्र भएका थिए भने उनले जिल्लाको कांग्रेस नेतृत्वप्रति असन्तुष्ट जनाउँदै पार्टी छाडेका थिए ।

९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका सबै पदमा भागबन्डा गरेर चार दलका सन्धिखर्क नगरस्तरीय नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन उर्दी जारी गरेका थिए । त्यस्तै बुधवार साँझ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले विज्ञप्ति निकालेर बाबुरामलाई पार्टीले कारबाही गरेको र खत्री नेतृत्वको टिमलाई जिताउन उपभोक्तामा ह्वीप जारी गरेको थियो । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका थिए ।

चार दलको घेराबन्दीका बीच मतदाताले स्वतन्त्रपूर्वक मत दिएर जिताएको र खानेपानीका हरेक समस्यालाई समाधान गर्ने काममा उपभोक्ताको मर्म र भावनाअनुसार आफूले काम गर्ने नवनिर्वाचित भुसालले जनाएका छन्। ‘हरेक ठाउँमा श्रमदान गर्नेछौं, सबै उपभोक्तालाई शुद्ध पानी खुवाउँछौँ’ उनले भनेका छन् ।

दुईवटा दलको विज्ञप्तिप्रति दलले सिन्डिकेट लगाउन खोजेको भन्दै उपभोक्ता आक्रोशित बनेका थिए । जिल्लामा रहेका रहेका सामाजिक संघसंस्थामा दलका शीर्ष नेता मिलेर भागबन्डा गर्ने र आफू नजिकैका कार्यकर्तालाई पद बाँड्ने दलीय परम्परा एवं सिन्डिकेट सन्धिखर्कका खानेपानीमा तोडिएको स्थानीयले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

भुसाल समूहबाट वरिष्ठ उपाध्यक्षमा वेदराज घिमिरे, कोषाध्यक्षमा सरिता महत क्षेत्री विजयी भए । जेन–जी आन्दोलनपछि घिमिरेले एमाले र क्षेत्रीले कांग्रेस परित्याग गरेका थिए । उपाध्यक्षमा गठबन्धनबाट भेषबहादुर क्षेत्री, सचिव जीवलाल पौडेल र सहसचिवमा कल्पना पोखरेल विजयी भए । सदस्यहरूमा गठबन्धनकै उम्मेदवार नवीन सुनार, मोतिलाल खनाल, कमला अर्याल विजयी भए । लेखा समिति संयोजकमा गठबन्धनकै सुनिता बेल्वासे विजयी भइन् ।

सो संस्थाबाट सदरमुकामको सन्धिखर्क, चुत्रावेशी लगायतका ठाउँमा पिउने पानी वितरण हुँदै आएको छ । सन्धिखर्क साना शहरी खानेपानी उपभोक्ता मूल संस्थाको हालै सम्पन्न निर्वाचनका विषयमा नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पीताम्बर भुसालले तीखो प्रतिक्रिया व्यक्त गरेका छन्। उनले निर्वाचनको नतिजामा पार्टीभित्रैको असन्तुष्टि, अन्तर्विरोध र गठबन्धन दलभित्रको अविश्वसनीय व्यवहार स्पष्ट रूपमा प्रकट भएको बताए।

भुसालका अनुसार काँग्रेस र एमाले दुवै पक्षभित्रको आन्तरिक समन्वय अभाव तथा नेताहरूबीच देखिएको द्वंद्वले अनपेक्षित परिणाम ल्यायो। उनले काँग्रेसभित्र करिब ८५ प्रतिशत नेता तथा कार्यकर्ता पार्टीले तय गरेको गठबन्धन विपरीत उभिएको आरोप लगाए। त्यस्तै एमालेभित्र केही असन्तुष्ट समूहले योजनाबद्ध रूपमा पार्टीको रणनीति असफल पार्ने प्रयास गरेको दाबी गरे।

हालको एकीकृत दलमा पूर्व माओवादी, समाजवादी र मसाल पृष्ठभूमिबाट आएका कतिपय व्यक्तिहरूले ‘दोहोरै चरित्र र बेइमानीपूर्ण व्यवहार’ प्रदर्शन गरेको भुसालको आरोप छ। भदौ २३–२४ का आगजनी तथा तोडफोडमा संलग्न केही व्यक्तिहरू हौसिएर चुनावी प्रक्रियामा दबाब सिर्जना गर्न खोजेको उनले बताए।

भुसालले पार्टीभित्र रहेरै पार्टी योजनाविरुद्ध काम गर्ने ‘आन्तरिक धमिराहरूले’ समयमै पार्टी छाड्नु उचित हुने समेत टिप्पणी गरे। पार्टीको आधिकारिक नेतृत्व र योजनामाथि दृढतापूर्वक उभिने इमानदार कार्यकर्तासमक्ष उनले आभार व्यक्त गरे।

उनले प्राविधिक कारणले पराजित ३ जना पदाधिकारीलाई धैर्यपूर्वक जनसेवामा निरन्तर लागिरहन आग्रह गर्दै निर्वाचित पदाधिकारीहरूलाई बधाई दिएका छन्। भुसालका अनुसार सन्धिखर्कका उपभोक्ताहरूले दलीय सहमतिलाई प्राथमिकता दिँदै १२ मध्ये ९ जनालाई दलका साझा प्रतिनिधिका रूपमा विजयी बनाए, जुन प्रतिगमनविरोधी जनमतको अभिव्यक्ति भएको बताए।

नेपाली कांग्रेस अर्घाखाँचीका उपसभापति बाबुराम पौडेलले ठूला दलबीच गठबन्धन गरे पनि यसका उपभोक्तासँग आफ्ना स्पष्ट राख्न नसकेका कारण मुख्य पद गुमाउनु परेको बताउँदै यसबाट गम्भीर आत्म समीक्षा गरिने बताए । ‘मतदातालाई भेट्न समेट्न सकिएन कि, स्पष्ट धारणा राख्न सकिएन कि, अब एमालेले कांग्रेसलाई दोष दिने र कांग्रेसले एमालेलाई दोष दिने गरेर हुँदैन, गम्भीर समीक्षा गर्नुपर्छ, सबैको परामर्श गरिनुपर्छ, केही कमजोरी भएकैले यस्तो नतिजा आएको हो’ उनले भने–‘यसले कांग्रेस–एमालेलाई ठूलो पाठ सिकाएको छ । गठबन्धनमा भएका पनि माओवादी जनमोर्चाका साथीहरु जित्नुभएको छ । अन्य धेरै पदमा जितेपनि मूल नेतृत्वको विषय बाहिर आउने रहेछ ।’

विश्लेषक ऋषि आचार्यले राजनीतिमा मिलेमतो र आलोपालो प्रणालीविरुद्धको जनमत आएको जनाएका छन् । ‘स्वतन्त्र र निर्बाध प्रतिस्पर्धा हुन दिनुपर्छ । मिलेमितोको आधारमा आलोपालो गरी पदमा पुग्ने चलन लोकतान्त्रिक चलन हैन । अब विद्यालय व्यवस्थापन, सामुदायिक वन, खानेपानी लगायत सबैमा आलोपालो मिलेमतो हैन, खुल्ला प्रतिस्पर्धा आवश्यक छ ।

सन्धिखर्कमा आलोपालो मिलेमतो प्रचलनलाई मतदाताले अस्वीकार गरेका छन् । त्यहाँ चार दलको मिलेमतोलाई जनताले तोडिदिएर स्वतन्त्र व्यक्तिलाई निर्वाचित गरेका छन् ।’ उनले भनेका छन्–‘आश्चर्य त के भने खानेपानी समितिका सदस्यहरू जेन्जी हैनन् । सबै प्रौढ र वृद्धवृद्धा हुन् । सबै एमाले, कङ्ग्रेस,नेपाली कम्युनिष्ट पार्टी, जनमोर्चाका क्याडर हुन् । सुरुमा स्वतन्त्र उम्मेदवारले प्रस्तावक र समर्थक पनि पाएनन् । मतदान केन्द्र बस्ने वारिस पाएनन् ।’

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्वअध्यक्ष विष्णु भुसालले दलीय गठबन्धन जनताले स्वीकार नगरेको बताउँदै भनेका छन्–‘मत फेरेका हुन् मन फेरेका छैनन् ।’ स्थानीय अगुवा सहयोगी बिसीले यो मत परिणामले सामाजिक संघसंस्थाहरुमा सबै मिलेर काम गर्नुपर्ने सन्देश दिएकाले कोही नआत्तिन र नमात्तिन आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *