लुम्बिनी विकास कोषको सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठ नियुक्त

रुपन्देही । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गोरखाको शहीद लखन गाउँपालिका हाल काठमाडौं निवासी श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कोषको सदस्य सचिवमा श्रेष्ठलाई नियुक्त गरेको जानकारी दिए ।

सरकारले प्रतिस्पर्धाबिना नियुक्त गरेको हो । यसअघि ०७४ सालमा तत्कालीन सरकारले प्रतिस्पर्धाका आधारमा सदस्य सचिवका रुपमा अजितमान तामाङलाई नियुक्त गरेको थियो तर ०७८ मा सानुराजा शाक्यलाई मन्त्रिपरिषद बैठकबाट नियुक्त गरिएको थियो ।

लुम्बिनी क्षेत्रको सरोकार राख्नेहरुले रुपन्देही बाहिरको व्यक्तिलाई बिना प्रतिस्पर्धामा राखिए लुम्बिनीमा काम गर्न नदिने यसअघि घोषणा गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले बिना प्रतिस्पर्धामा सदस्यसचिव नियुक्त गर्न लागेको विषय यसअघि नेपाल प्रेसले प्रकाशन गरेको थियो ।

लुम्बिनी विकास कोषमा ‘टीका’ लगाएर सदस्यसचिव नियुक्तिको तयारी

नियुक्तिपछि श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै- प्रधानमन्त्री तथा मन्त्रीहरुले काम गरेर देखाउनुपर्ने ठाउँमा पठाएकाले आफू लुम्बिनी जान तयार भएको बताए ।

‘मैले २० वर्ष विभिन्न क्षेत्रमा इञ्जिनियरिङ फिल्डमा काम गरेर आएको छु, जहाँ जिम्मेवारी लिएँ त्यहाँ परिमाण देखिने गरी काम गरेको छु, नयाँ सरकारमा प्रधानमन्त्री तथा मन्त्रीहरुसहितको टीमले जिम्मेवारी दिएपछि कामका लागि तयार भएको हुँ’ ४६ वर्षीय श्रेष्ठले भने –‘मैले काम गरेर परिणाम देखाउने ठाउँमा पठाउनुस् भनेको हुँ, लुम्बिनीका विषयमा मेरो पनि चासो थियो त्यसैका लागि तयार भएको हुँ, यसअघिका सकारात्मका सबै कामलाई अघि बढाउने छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *