
काठमाडौं । भारतीय आतङ्कवाद विरोधी एकाइहरूले द काश्मीर टाइम्स कार्यालयमा ‘आपराधिक षड्यन्त्र’ मा संलग्नता भएको आरोपमा बिहीबार राति छापा मारेका छन् । तर समाचार साइटले ती सबै आरोपलाई ‘पूर्णतः आधारहीन’ भन्दै अस्वीकार गरेको छ ।
राज्य अनुसन्धान एजेन्सी (एसआइए) का अनुसार काश्मीर टाइम्सले ‘जम्मू–काश्मीरभित्र तथा बाहिर क्रियाशील पृथकतावादी तथा अन्य राष्ट्रविरोधी समूहहरूसँग आपराधिक सम्झौता’ गरेको आशङ्कामा अनुसन्धान केन्द्रित गरिएको हो । सन् १९४७ मा ब्रिटिस शासन अन्त्यसँगै भारत र पाकिस्तानबीच विभाजित काश्मीर क्षेत्रमा निरन्तर तनाव रहँदै आएको छ र दुवै देशले हिमाली क्षेत्रलाई पूर्ण दाबी गर्ने भएकाले परिस्थिति संवेदनशील रहँदै आएको छ ।
समाचार आउटलेटले जारी गरेको विज्ञप्तिमा छापा मारिएको कार्यालय विगत चार वर्षदेखि नै बन्द र ‘सञ्चालनबाहिर’ रहेको थियो भनेको छ । सन् १९५४ मा स्थापित काश्मीर टाइम्सले सन् २०२२ मा अर्को कार्यालयमा भएको सरकारी कारबाहीपछि अनलाइन–मात्र प्रकाशनका रूपमा काम गरिरहेको जनाएको छ । ‘हाम्रा विरुद्ध लगाइएका यी आरोपहरू डर देखाएर चुप गराउने उद्देश्यले गरिएको प्रहार हो ।’विज्ञप्तिमा उल्लेख छ ।
एसआइएले खोजबिनका क्रममा एउटा रिभल्भर, केही जीवित गोली र खाली कारतूसहरू जफत गरिएको दाबी गर्दै यसले ‘गैरकानूनी कब्जा वा चरमपन्थी समूहहरूसँग सम्भावित सम्बन्ध’ को सङ्केत गरेको बताएको छ । यसै क्रममा एजेन्सीले काश्मीर टाइम्सका मालिक प्रबोध जामवालको निवासमा पनि छापा मारेको छ ।
पत्रकार संरक्षण समिति (सिपिजे) ले छापापछि गम्भीर चिन्ता व्यक्त गर्दै यसरी सञ्चारमाध्यमहरूमा बढ्दो दबाब जम्मु–काश्मीरमा पत्रकारिताको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाउने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा क्षेत्रको आंशिक संवैधानिक स्वायत्तता खारेज गरेपछि यहाँका धेरै पत्रकारहरूले निरन्तर निगरानी, सोधपुछ, पक्राउ र कार्यालय तथा घरमा छापाजस्ता दवाव खेप्दै आएका छन् ।
यता, नोभेम्बर १० मा दिल्लीको लालकिल्ला नजिक भएको घातक कार विस्फोटपछि भारतीय सुरक्षा निकायहरूले सम्पूर्ण काश्मीर क्षेत्रमा ठूलो मात्रामा खोज तथा अनुसन्धान चलाइरहेका छन् । उक्त विस्फोट काश्मीरी आत्मघाती आक्रमणकारीले गराएको भारत सरकारले बताएको छ ।
तर काश्मीर टाइम्सको कार्यालयमा गरिएको छापा र दिल्ली घटना बीच कुनै सम्बन्ध नभएको अधिकारीहरूले स्पष्ट पारेका छन् ।
– रासस/एएफपी

Leave a Reply