
काठमाडौं । नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई उक्त शेयर निष्कासन गर्ने अनुमति दिएको हो ।
सेबोनका अनुसार नबिललाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिइएको हो । यो अनुमति नेपालमा नै पहिलो पटक दिइएको हो ।
बैंकले पाँच करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । जसको मूल्य प्रति कित्ता एक सय रुपैयाँ तोकिएको छ । लाभांश दर ८ प्रतिशत रहेको सेबोनले जनाएको छ ।
उक्त शेयर निष्कासन एनआईसी एसिया क्यापिटलले गर्नेछ । यो शेयरमा संस्थागत लगानीकर्ताले आवेदन दिन पाउँछन् ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको साधारण सेयरको तुलनामा प्राथमिकता प्राप्त अथवा प्रोमोटर इक्विटी सेयर जस्तै हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका नवौँ पटक संशोधन गर्दै बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बाटो खुलाइदिएको थियो ।
राष्ट्र बैङ्कले प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैङ्क तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न एक वर्षअघि नै बाटो खुला गरिदिए पनि धितोपत्र बोर्डमा यस्तो सेयर जारी गर्न व्यवस्था नहुँदा बैङ्कहरूले सेयर जारी गर्न पाएका थिएनन् ।
बोर्डले निर्देशिका संशोधन गरेसँगै राष्ट्र बैङ्कबाट स्वीकृति पाएका बैङ्क तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्ने व्यवस्था लागू भएको थियो ।
यो व्यवस्थाअनुसार बैङ्कहरूले संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउने यस्तो सेयर जारी गर्न सक्ने, यस्तो सेयरको अङ्कित मूल्य एक सय रुपियाँ हुने निर्देशिकामा उल्लेख छ ।
बोर्डले गरेको व्यवस्थाले बैङ्कहरूको पुँजी कोषको दबाब कम हुने तथा कर्जा लगानी क्षमतासमेत बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय बैङ्कहरूको पुँजी कोषमा दबाब रहेको छ । बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैङ्कको प्राथमिक पुँजी कोष निकै कम छ ।
निर्देशिका अनुसार बैङ्क तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निष्कासन गर्न सक्ने छन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् ।

Leave a Reply