रिटर्नीको भूमिका : जेन-जी आन्दोलनले सोच बदल्यो, हामी कर्म बदल्छौँ

नेपालको सामाजिक-राजनीतिक इतिहासमा जेन–जी आन्दोलन एउटा गहिरो चेतनाको विस्फोट थियो। त्यसले परम्परागत संरचनामा विद्यमान निराशा, असमानता र अन्यायविरुद्ध जनतामा नयाँ विश्वास जगायो, ‘परिवर्तन सम्भव छ।’

राजनीतिकमात्र होइन, सामाजिक र वैचारिक स्तरमा पनि यो आन्दोलनले सोच्ने, प्रश्न गर्ने र सुधारको आकांक्षा राख्ने नागरिक चेतनाको पुनर्जागरण गर्‍यो।

जेन–जी आन्दोलनपछि देशले खुला राजनीतिक अभ्यास, स्थानीय स्वशासन र नयाँ पुस्ताको नेतृत्वको आवश्यकता र महत्त्व दर्शायो । समाजले युवा पुस्ताको आवाज, विचार र दृष्टिकोणलाई स्वीकार गर्न थालेको छ । यस्तै परिवर्तित परिवेशमा विदेशमा ज्ञान,  सीप, पूँजी र दृष्टि बटुलेर फर्किएका रिटर्नीहरू देशको आर्थिक, सामाजिक ,सांस्कृतिक र  राजनीतिक पुनर्निर्माणका सक्रिय अभियन्ता बनेका छन्।

जेन–जी आन्दोलनले पुरानो राजनीतिक संस्कार वंशवाद, गुटवाद र दलीय स्वार्थविरुद्ध युवापुस्ताको विद्रोहको रूप लियो । यो आन्दोलनको सार थियो, उत्तरदायित्व र पारदर्शितामा आधारित नयाँ राजनीतिक संस्कृति निर्माण गर्नु। आन्दोलनपछिको नेपालमा केही महत्त्वपूर्ण रूपान्तरणहरू देखिए ।

नागरिक अधिकार र स्वतन्त्रताको परिभाषा विस्तार भयो । स्थानीय शासनमा जनसहभागिता बढ्यो । युवा र प्रवासी नेपालीको आवाज राजनीतिमा सुनिन थालियो र राजनीतिमा चासो नराख्ने ठूलो युवा पुस्ता राजनीतिक र सामाजिक क्षेत्रमा आकर्षित भयो । र, पारदर्शिता, जबाफदेहिता, सुशासनजस्ता अवधारणा जनचेतनाको केन्द्रमा आए।

तर, यस्ता रूपान्तरणका बीच आर्थिक अनिश्चितता, राजनीतिक अस्थिरता र रोजगारीको अभावले विदेशतर्फको निर्भरता अझ बढ्यो । यही कारण ‘रिटर्नीहरू’, अर्थात् विदेशमा अनुभव बटुलेर फर्किने वर्ग परिवर्तनको नयाँ वाहक बन्नुपर्ने आवश्यकता र महत्त्व अझ बढेर गयो ।

रिटर्नीहरूको परिभाषा र पृष्ठभूमि

रिटर्नीहरू बेहद विविध वर्गका हुन् । कसैले श्रमका लागि गएका, कसैले अध्ययनका लागि, कसैले व्यवसायका लागि । उनीहरू विश्वका विभिन्न भूगोलमा फरक-फरक राजनीतिक र सामाजिक प्रणालीको अनुभव लिएर आएका छन् ।

यस्ता अनुभवले उनीहरूलाई नेपालका चुनौतीलाई नयाँ दृष्टिकोणबाट बुझ्न र समाधान खोज्न सक्षम बनाएको छ। रिटर्नीको संख्या लाखौँमा छ, तर सबैको साझा विशेषता हो  ज्ञान, सीप, अनुशासन र परिवर्तनप्रतिको आस्था ।

बदलिएको अवस्था र रिटर्नीको सम्बन्ध

जेन–जी आन्दोलनपछि नेपालको राजनीति, प्रशासन र नागरिक मानसिकतामा ‘परिवर्तन चाहिने’ मनोविज्ञान स्थापित भयो । यस्तो खुला वातावरणले रिटर्नीलाई आफ्ना ज्ञान, सीप, पूँजी र विचार प्रयोग गर्ने अवसर सिर्जना गरेको  छ। अघिल्लो पुस्ताले राज्यमा निर्भरता राख्ने संस्कृति बनाएको थियो, तर रिटर्नीले ‘स्व–उद्यम’ र ‘सहभागितामूलक विकास’ को सोच ल्याए ।

उनीहरूले गाउँदेखि शहरसम्म नयाँ उद्यम, सहकारी, प्रविधि, कृषि–व्यवसाय, शिक्षा सुधार र सामाजिक परियोजना सञ्चालन गरेर स्थानीय विकासलाई अन्तर्राष्ट्रियस्तरको सोचसँग जोडिरहेका छन् । यसरी हेर्दा वर्तमान अवस्थामा रिटर्नीको सम्बन्ध देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र कूटनीतिक सबै क्षेत्रमा अपरिहार्य हुँदै आएको छ ।

भूमिका र महत्त्व

रिटर्नीको भूमिका बहुआयामिक छ । उनीहरू नेपालका आर्थिक, सामाजिक, सांस्कृतिक, र राजनीतिक संरचनामा नयाँ शक्ति, नयाँ सोच र नयाँ अभ्यास ल्याउने उत्प्रेरक हुन् ।

विदेशमा कमाएका पूँजीमात्र होइन, त्यहाँका कार्य संस्कृति, दक्षता र व्यवस्थापन प्रणाली पनि ल्याएका छन् । उनीहरूले नेपालको उत्पादन प्रणालीलाई आधुनिक बनाउने प्रयास गरेका छन् । उदाहरणका लागि– काठमाडौँ, चितवन, सुर्खेतलगायत देशका विभिन्न भागमा  रिटर्नीले प्रविधि–आधारित कृषि फर्म, हाइड्रोपावर, विविध उत्पादनमूलक उद्योग तथा जैविक उत्पादन उद्योग सञ्चालन गरेका छन्। धेरै रिटर्नीले वैदेशिक मुद्रा सन्तुलनमा योगदान पुर्‍याउँदै रेमिट्यान्स बेस्ड इकोनोमीबाट इन्भेस्टमेन्ट बेस्ड इकोनोमीतर्फको रूपान्तरणमा भूमिका खेलेका छन्।

उनीहरूले ‘रोजगार खोज्ने होइन, सृजना गर्ने’ सोच फैलाएका छन् । यसरी हेर्दा, रिटर्नी नेपालका आर्थिक पुनर्जागरणका जीवित आधार स्तम्भ हुन् ।

सामाजिक भूमिका, परिवर्तनका संवाहक

रिटर्नीले सामाजिक चेतनाको स्तरमा अद्भूत परिवर्तन ल्याएका छन् । विदेशमा रहँदा उनीहरूले देखेका अनुशासन, समानता, र श्रमप्रतिको सम्मानजस्ता मूल्य नेपालमा पनि लागू गर्न खोजिरहेका छन् ।

उदाहरणका लागि- गाउँमा शिक्षा, सरसफाइ, स्वास्थ्य र लैङ्गिक समानताका अभियानको  सञ्चालन । सामुदायिक पुस्तकालय, सीप तालिम केन्द्र र महिला सशक्तीकरण कार्यक्रम स्थापना । सामाजिक भेदभाव र जातीय अन्यायविरुद्ध सार्वजनिक आवाज उठाउने कार्य । रिटर्नीले सामाजिक संरचनामा ‘विकास नागरिकको हातबाट सुरु हुन्छ’ भन्ने चेतना फैलाएका छन् ।

राजनीतिक भूमिका

जेन-जी आन्दोलनपछिको राजनीतिक संक्रमणमा पुरानो नेतृत्व प्रणालीप्रति असन्तुष्टि बढेको छ । रिटर्नी यही असन्तुष्टिलाई सकारात्मक राजनीतिक चेतनामा रूपान्तरण गर्नसक्ने सम्भावना बोकेका छन् ।

उनीहरूले विदेशमा देखेका सुशासन, जबाफदेहिता र पारदर्शिताका अभ्यास स्वदेशमा ल्याउने प्रयास गरिरहेका छन् । कसैले स्थानीय तहमा उम्मेदवारी दिएका छन्, कसैले पुराना इतिहास बोकेका दलहरूलाई नयाँ सोच र कार्यशैलीका साथ आजको आवश्यकताअनुसार रूपान्तरित गर्नका लागि भूमिका खेलिरहेका छन्, कसैले गैर दलीय सामाजिक अभियान सञ्चालन गरेका छन् । रिटर्नी पुरानो राजनीतिक सोचलाई चुनौती दिँदै नयाँ पुस्ताको नेतृत्व र वैकल्पिक सोचका प्रतिनिधि बनेका छन् ।

वैचारिक भूमिका

रिटर्नीको सबैभन्दा गहिरो योगदान वैचारिक स्तरमा छ । उनीहरूले ‘देशको विकास सरकारले मात्र होइन, नागरिकको सहभागिताले पनि हुन्छ’ भन्ने चेतना फैलाएका छन्।

विदेशमा विविध राजनीतिक प्रणाली, विकास मोडेल र नागरिक अधिकार अभ्यास देखेका रिटर्नीहरूले नेपालमा सुधारको नयाँ दृष्टिकोण ल्याउन सक्दछन् । तिनीहरू प्रायः ‘सामाजिक उद्यमशीलता’ र ‘उत्तरदायी नागरिकता’ लाई समान रूपमा जोड्छन् ।

त्यसैले, रिटर्नी केवल सीपयुक्त जनशक्ति होइनन्, उनीहरू चिन्तनका अभियन्ता, संवेदनशील नागरिकताका प्रतीक र नयाँ नेपालको दर्शनका वाहक हुन् ।

सांस्कृतिक र अन्तर्राष्ट्रिय कूटनीतिक  भूमिका

रिटर्नीहरूले विदेशमा बस्दाबस्दै नेपालका परम्परा, भाषा र पहिचानको प्रचार पनि गरेका छन् । फर्किएपछि उनीहरूले नेपाल र विश्वबीचको सांस्कृतिक पुलको रूपमा कार्य गरिरहेका छन् । नेपालको पहिचानलाई विश्व बजारमा फैलाउने, पर्यटन प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय साझेदारी स्थापना गर्ने काममा उनीहरू अगाडि छन्।

राष्ट्रिय महत्त्व, दीर्घकालीन योगदान

रिटर्नीको अनुभव र दृष्टिकोणले नेपाललाई दीर्घकालीन विकासको बाटोमा अघि बढाउने शक्ति दिएको छ। उनीहरूले दृष्टि–आधारित विकासको अभ्यास बढाइरहेका छन्, जसले राज्यको नीति र नागरिकको व्यवहारबीचको दूरी घटाउँछ। त्यसैले, रिटर्नी नेपालको मानव पूँजी विकासका अभिन्न अंग हुन्।

चुनौती

यी सबै उपलब्धिका बीच रिटर्नीले केही प्रमुख चुनौतीहरू सामना गरिरहेका छन् । नीति र कानुनी अव्यवस्था, लगानीमैत्री वातावरणको अभाव, सामाजिक अस्वीकार्यता र नकारात्मक मानसिकता, प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचार मुख्य चुनौती हुन् । यी चुनौती पार गर्न राज्य र समाज दुवैले सहकार्य गर्नुपर्छ ।

परिवर्तनको सशक्तीकरण

रिटर्नीहरूले जेन–जी आन्दोलनको ‘परिवर्तन सम्भव छ’ भन्ने भावनालाई अगाडि देखिने  व्यवहारमा उतारिरहेका छन्। स्थानीय स्तरमा सहकारी, विद्यालय सुधार, सामुदायिक विकास र उद्यमशीलता विस्तार गरेर उनीहरूले देशलाई आधारभूत रूपमा सशक्त बनाइरहेका छन्।

जेन–जी आन्दोलनले नेपालमा नयाँ राजनीतिक चेतना जगायो, र रिटर्नीहरूले त्यो चेतनालाई स्थायी विकासको यात्रामा रूपान्तरण गरिरहेका छन् । उनीहरूको ज्ञान, सीप, दृष्टि र पुँजीले नेपाललाई आत्मनिर्भर, समावेशी र पारदर्शी समाजतर्फ डोर्‍याइरहेको छ।

मुख्य सुझाव

१. रिटर्नीको सीप अभिलेख गर्न र समायोजन गर्न राष्ट्रिय रिटर्नी नीति बनाइनुपर्छ।

२. रिटर्नी उद्यमका लागि कर छूट, लगानी ग्यारेन्टी र ऋण पहुँच सुलभ बनाइनुपर्छ।

३. स्थानीय सरकार र रिटर्नी नेटवर्कबीच सहकार्य गरी समुदाय–आधारित परियोजना सञ्चालन गर्नुपर्छ।

४. रिटर्नीको प्रतिनिधित्व नीति–निर्माण तहमा सुनिश्चित गर्नुपर्छ।

५. रिटर्नीलाई परिवर्तित समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र कूटनीतिक अभियन्ताको रूपमा अगाडि बढाउनुपर्दछ .

‘जेन–जी आन्दोलनले सोच बदल्यो, रिटर्नीले त्यो सोचलाई कर्ममा बदल्दै छन् ।’

(लेखक रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन् ।) 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *