
काठमाडौं । यति बेला मनोरञ्जन क्षेत्रमा एउटा रियालिटी शोको चर्चा छ। उक्त शो हो, ‘स्टुडेन्ट अफ द इयर’ । यो शोको मंगलबार राजधानीमा पत्रकार सम्मेलन राखिएको थियो, जहाँ शोको जज रहेकी अभिनेत्री प्रियंका कार्की र आयोजक टिमबीच नै कुरा मिलेन। अनि कार्यक्रम बीचमै भाडिँयो।
शोमा हुने भोटिङ सिस्टमबारे कार्की र आयोजक टिमबीच विमति रह्यो। भोटिङ सिस्टम भए पैसाका कारण ट्यालेन्ट मर्ने भएकाले कार्कीले त्यस्ता कार्यक्रममा आफू नरहने जनाइन्। उनलाई समर्थन गरिन् शो की होस्ट रहेकी मोडल तथा टिकटकर इभा गिरीले । कार्यक्रमको यो फर्म्याटबारे आफूलाई थाहा नभएको इभाको भनाइ थियो।
यो विषयमा जजहरुलाई जानकारी नगराएकाले, यसबारे छलफल गरी थप निर्णय लिने आयोजक टिमको भनाइ थियो। अहिले यसबारे आयोजक टिमको छलफल भइरहेको छ। अबको केही समयमा कार्यक्रमबारे आधिकारिक नोटिस निकाल्ने आयोजक टिमको तयारी छ। उता आयोजक टिमबीच छलफल भइरहँदा, यता पहिलोपटक रियालिटी शो गर्न लागेकी इभा गिरीको भने यसबारे के धारणा छ? भोटिङ सिस्टम नहटे उनी के गर्छिन्? यसै सन्दर्भमा उनीसँग गरिएको छोटो प्रश्नोत्तर–
–कार्यक्रम बीचमै बिथोलिएपछि तपाईँहरूको छलफल भयो कि भएन ?
छैन। उहाँहरूले १२ घण्टा भित्रमा हामी छलफल गरेर भन्छौ भन्नुभएको छ। कार्यक्रम सकिएपछि प्रियंका दिदी, म अनि उहाँहरू सबै जना त्यही थियौ। हामीले भोटिङ नहुने हो भने शो गर्छौँ नत्र पुरै नै भोटिङ सिस्टम हुने भयो भने, अलि गार्है पर्छ भनेका छौँ। मेरो लागि यो ‘लिटल नलेज इज डेन्जरस’ भनेझैँ भयो। मलाई यसबारे अगाडि पूर्ण रूपमा थाहा थिएन। १५ प्रतिशत भोटिङ अनि बाँकी सबै जजहरूले फाइनल गर्नुहुन्छ भन्नुभएको जस्तो लागेको थियो। तर सबै नै भोटिङले निर्धारण गर्छ भन्ने मलाई पनि थाहा थिएन।
–मतलब कार्यक्रम सकिएपछि तपाईँहरू बसेर छलफल गर्नुभएको छैन ?
छैन। उहाँहरूले आफै १२ घण्टा भित्रमा फिक्स गर्छु भन्नुभएको छ।
–भनेपछि १२ घण्टामा जे नोटिस आउँछ, त्यो आयोजक टिमको तर्फबाट मात्र हो। तपाईँहरूको त्यसमा कुनै संलग्नता छैन ?
छैन छैन।
–तपाईँ यो शोमा संलग्न हुनुभएको कति भयो ?
धेरै भएको छैन। एक महिना जति भयो होला सायद।
–सुरुमा बसेर आफु होस्टको रूपमा फाइनल भइरहँदा कार्यक्रमको फर्म्याट वा विजेता कसरी चुनिन्छ, आदि जस्ता कुराहरू सोध्नुभएन ? प्रपोजल नहेरी केही नबुजी साइन गर्नुभएको थियो?
हैन, प्रपोजल आएको थियो। तर थोरै मात्र भोटिङ हुने अनि बाँकी सबै जजले छान्ने भन्नेजस्तो लागेको थियो। मैले पनि यो विषयमा खासै ध्यान दिइन किनभने म शोको होस्ट हुँ, जज होइन। म होस्ट भएकाले मलाई यसबारे थोरै बताउनुभएको थियो। मैले पनि ठिकै छ, ठूलो रियालिटी शो हो, धेरैले एउटा प्लेटफर्म पाउँछन् सोचेर ओके गरे। देशमा राम्रो शो आयो अनि यति ठुलो शोको म पनि पार्ट हुन पाए भनेर एकदमै खुसी लागेको थियो। सायद उहाँहरूको पनि यो पहिलो प्रयास भएकाले चुक्नुभएको होला। आयोजक टिमभित्र कोही पनि मनोरञ्जन क्षेत्रबाट हुनुहुँदैन। टिममा कोही इन्जिनियर, कोही बिजनेस म्यान, यहाँसम्म कि डिरेक्टरदेखि प्रोड्युसरसम्म सबै जना नै एजुकेशनल ब्याकग्राउन्डबाट हुनुहुन्छ। त्यहीँ भएर उहाँहरूलाई पनि आईडिया नभएको होला । अब हामीले पनि त्यस्तो प्रेसर दिन मिल्दैन। त्यही भएर तपाईँहरू सोच्नु, १२ घण्टाको समय लिनु अनि के हुन्छ हामीलाई भन्नु भनेका छौँ।
–तपाईँको धारणा चाहिँ के थियो ? भोटिङ सिस्टम हुनुहुँदैन भन्ने हो वा हिजो प्रियंका कार्कीले यो प्रसङ्ग उठाएपछि म पनि गर्दिन भन्ने लागेको हो ?
पुरै भोटिङ सिस्टम हुने भए, म अवश्य गर्दिन भन्ने नै मेरो धारणा हो। किनभने म पनि कुनै बेला एउटा शोको पार्ट भएको मान्छे हो, जहाँ भोटिङ सिस्टम थियो। त्यो बेला मेरो पनि चित्त दुखेका थियो। परिणामबाट म पनि निराश भएकी थिए। त्यहीँ भएर यो कुराहरू म बुज्छु अनि यो भोटिङ सिस्टमको विरुद्धमा छु। त्यहीँ माथि यो शोमा सानोसानो बच्चाहरू हुन्छन, उनीहरुको मन कति दुख्छ होला। त्यही भएर पनि यदि पुरै भोटिङ सिस्टम हुन्छ भने म यो शो गर्दिन।
–आयोजक टिमले भोटिङ सिस्टम विश्वव्यापी चलेको प्राक्टिस हो त्यसैले यसलाई ठुलो विषय बनाउनु पर्दैन भन्दै हुनुहुन्छ। यदि भोटिङ सिस्टम रह्यो भने शो छोडिहाल्नु हुन्छ ?
म एक चोटि उहाँहरूसँग कुरा गर्छु। मैले भने नि, उहाँहरूको पनि यो पहिलो प्रयास हो। सबैलाई सबै क्षेत्रबारे ज्ञान हुँदैन। मैले केही सम्झाएर हुन्छ वा उहाँहरू सम्झिनुहुन्छ भने म मैले बुझेको कुराहरू सम्झाउँछु,, नत्र ठिकै छ। उहाँहरूको पनि आफ्नो सोचको कुरा हो, मैले केही भन्न मिल्दैन। कुरा मिलेन भने, म ब्याक हुन्छु किनभने पुरै भोटिङ सिस्टम भए कार्यक्रम अलिकति अन फेयर नै हुन्छ जस्तो लाग्छ मलाई पनि।
–अन्तिममा कुरा नमिलेर छाड्नुपर्यो भने कस्तो लाग्ला ?
अब जस्तो लागे पनि कुरै मिलेन भने त, ब्याक हुनु परिहाल्यो नि। किनभने जे गलत हो, त्यो गलत नै हो। गलतको पक्ष म लिन सक्दिन। त्यही हो, प्रियंका दिदीले भनेजस्तै हिसाबले कार्यक्रम हुने भयो भने, राम्रो हुन्छ। हुन त शोमा म जज होइन, होस्ट हो तर म पनि यस्तो कुराहरू बुज्छु।
–यसरी कार्यक्रममै जजहरूले विमति जनाइदिँदा, भोलिको दिनमा त्यो शोलाई नकारात्मक असर पर्दैन ?
अवश्य पर्छ होला। त्यहीँ भएर पनि सबै जना यो विषयमा सोचिरहनुभएको छ। खासमा आयोजक टिम व्यक्तिगत हिसाबले हेर्ने हो भने, साह्रै रामे हुनुहुन्छ। मैले उहाँहरूसँग समय बिताएको छु। म उहाँहरूसँग एक महिनादेखि टचमा छु। उहाँहरू एकदमै राम्रो धारणा भएको व्यक्तिहरू हुनुहुन्छ, त्यहीँ हो पहिलो प्रयास भएकाले थोरै चुक्नुभयो होला। त्यहीँ भएर हामीलाई उहाँहरूले र उहाँहरूलाई हामीले सोच्न थोरै समय दिनुपर्छ। त्यसपछि जे हुन्छ, राम्रै हुन्छ । राम्रै हुन्छ भन्ने आशा गरौँ।

Leave a Reply