
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भइसकेपछि पनि स्वास्थ्यकर्मीले औषधि र खाना मगाइरहेको खुलेको छ । आफन्तले जनप्रतिनिधिसहित आईसीयू छिरेर भिडिओ सार्वजनिक गरेसागै अस्पतालमाथि प्रश्न उठेको छ ।
नियमित डायलाइसिस गराइरहेकी मिर्गौलापीडित बुटवल-११ की ७३ वर्षीय खेमकुमारी मल्ललाई बुटवलको एडमन सिटी अस्पतालबाट रिफर गरी लुम्बिनी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । तर, सोमबार उनको मृत्यु भइसक्दा पनि अस्पतालको सूचना पार्टीमा बिरामीको नाम साटिएका कारण त्यो हेरेर बोलाउने स्वास्थ्यकर्मीले उनको नाममा औषधि मगाइरहे ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार बिरामीको मृत्युपछि २५ नम्बरबाट सारेर ९ नम्बर बेडमा लगेपछि त्यहाँ अर्को बिरामी भर्ना गरेर औषधि चलाउन थालियो तर बाहिर बोर्डमा नाम फेरिएन । भित्रबाट नाम बोलाउने स्वाथ्यकर्मीले २५ नम्बर बिरामीले ‘यो यो औषधि ल्याउनुस्’ भनेर मगाइरहे ।
सोमबार साँझ समयमा आईसीयूकै ड्युटीमा रहेका स्वास्थ्यकर्मीले २५ नम्बर बेडका बिरामीका लागि खाना मगाएपछि खेमकुमारीका आफन्त खुसी भए । दिउँसो जटिल बिरामी एकैपटक खाना खाने अवस्थामा पुगेकोमा उनीहरू खुसी थिए । तर, त्यो समयमा खेमकुमारीको मृत्यु भएर ९ नम्बर बेडमा सारिसकिएको थियो ।
बाहिर जम्मा भएका आफन्तले गम्भीर अवस्थाको बिरामी कसरी खाना खाने अवस्थामा पुग्यो भनेर शंका लागेपछि छिमेकी तथा बुटवल-११ का वार्ड सदस्य नकुल शाहीसहित आईसीयूमा छिरेर हेर्दा २५ नम्बर बेडमा अर्कै बिरामी भएको र आफ्नो बिरामी मृत्यु भएर ९ नम्बर बेलमा राखिएको भेटिएपछि उनीहरू आक्रोशित भए ।
‘म दिउँसो बिरामीको विशेष केयर गर्न अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, मेसु डा. इन्द्र ढकालसँग बसेर कुरा गरेँ, डक्टरले रिफर गर्न पनि समस्या हुन्छ भनेका थिए, बिरामीको बेड साटिएको, मृत्यु भएको विषयमा पनि जानकारी नदिने, बाहिर बोर्डमा पनि नलेख्ने, मृत्यु भएको बिरामीको नाममा हजारौं रकमको औषधि मगाउने, खाना मगाउने गम्भीर लापरबाही हो, हामीलाई शंका लागेर भित्र पसेर हेर्दा उनीहरुको कमजोरी बाहिर आयो, यस्तो कमजोरी भए कसरी बिरामीले उपचार पाउछन् अनि आफन्तले सूचना पाउँछन्’ शाहीले भने ।
उनी थप्छन्, ‘दिउँसो म आफैँ गएर कुरा गरेको थिएँ, उपचार भइरहेको भन्दै मेडिसिन मगाइरहे । बिरामी बितेर ९ नम्बरमा लगिसकेको तर २५ नम्बरमा राखेर बाहिर बोर्डमा नाम पनि फेरेनन् । पछि नास्ता पनि मगाए । अचेत बिरामीले नास्ता मगाएपछि आफन्त पनि खुसी भए तर अचम्ममा पनि परेर हामी भित्र गएका हौं ।’
बिरामीको मृत्युपश्चात पनि औषधि लिँदै बुझाउँदै करिब १० हजारभन्दा बढीको औषधि खरिद गरेर आईसीयूमा पठाइएको थियो । अस्पतालका मेसु इन्द्र ढकालले सञ्चारकर्मीको फोन उठाएका छैनन् । अन्य स्वास्थ्यकर्मीले कमजोरी अस्वीकार गरेका छन् ।
एक स्वास्थ्यकर्मीले ड्युटीमा रहेका एलिजा खड्का र डा. सञ्जयले बिरामी खेमकुमारीको मृत्युको खबर आफन्त मायालाई दिइसकेको दाबी गरेका छन् ।
‘अस्पतालबाट दिउँसोको सिफ्टमा रहेका साथीले माया नामको आफन्तलाई मृत्यु भएको जानकारी दिएकै रेकर्ड छ, आईसीयूमा धेरै मान्छे बोलाउने कुरा पनि हुँदैन, विश्वास नलागे छानबिन गरौं, भिजिटरले नै समयमा अरुलाई खबर नगरेका कारण यस्तो भएको हो, बाहिर बोर्डमा समयमा लेख्न नभ्याउनु त कमजोरी हो, तर यति धेरै बिरामी भएको अस्पतालमा उति नै बेला गर्न सकिँदैन, कमजोरी भएको सच्चाउन स्वीकार्न तयार छौं तर निरन्तर काम गरेका स्वाथ्यकर्मीलाई आँच आउनेगरी बिरामी साटे, बेड साटे भनेर बदनाम गरिनु राम्रो होइन, सबै मिलेर कमजोरी सच्चाउने हो’ ती कर्मचारीले भने ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले मेसुको संयोजकत्वमा सबै विभागीय प्रमुख रहेको छानबिन समिति बनाउने र कमजोरी भेटिए कारबाही गर्ने प्रतिवद्धता जनाए ।
‘मृत्यु भएका बिरामीको उपचारका विषयमा सोमबार दिउँसो पनि जनप्रतिनिधि नकुल शाहीसँग कुरा गरेर मेसु र विभागीय प्रमुखसँग कुरा गरेको थिएँ, बिरामीको अवस्था गम्भीर छ तर प्रयास जारी छ भन्ने विषय आएको हो, जहाँसम्म मृत्यु भएपछिको घटनाका विषयमा छानविन पछि नै सत्यतथ्य आउला, कमजोरी भेटिए कारबाही गर्ने प्रतिवद्धता गरेको छ’, उनले भने ।

Leave a Reply