
नेकपा (एमाले) का सन्दर्भमा अनेक भ्रम छर्ने काम भएको छ। ती भ्रमहरू पूर्वाग्रहबाट ग्रसित छन् र तिनमा कुनै सत्यता छैन। यो पार्टीप्रति आम जनमानसमा भ्रम फैलाउन केही शक्तिहरू तल्लीन थिए र छन्। एमालेले राष्ट्र र जनताको हित तथा पक्षमा काम गरिरहेकोले राष्ट्रविरोधी, जनविरोधी यी शक्तिहरू यो पार्टीलाई समाप्त पारेर केपी ओलीविनाको एमाले र एमालेविनाको नेपाल बनाउने भन्दै अनेक षड्यन्त्र गरिरहेका थिए र छन्। यो समूहमा राष्ट्रघाती, जनघाती र देशद्रोही तत्त्वहरू पर्दछन्। यिनिहरूले अहिले मात्र एमालेलाई समाप्त पार्ने भनेका होइनन्, यिनिहरूको दुराशययुक्त हर्कत लामो समयदेखि कायम छ। ती षड्यन्त्रहरू देश र जनताविरुद्ध यद्यपि कायमै छन्। अन्ततः यिनको एक मात्र अभीष्ट मुलुकलाई विश्व मानचित्रबाट अलग गराई नेपाल र नेपालीको अस्तित्व मेटाउनु हो।
तर नेपाली जनताको प्रिय यो पार्टी जनताको साथ र समर्थनमा, अझ संगठित, सुदृढ र एकताबद्ध भएर देशीविदेशी प्रतिक्रियावादीहरूको त्यस्ता सबै षड्यन्त्र र हर्कतका विरुद्ध सशक्त भई अगाडि बढिरहेको छ र बढ्नेछ। यिनीहरूको एमाले सिध्याउने दिवास्वप्न सपनामै सीमित पारिनेछ। एमाले रहेसम्म नेपाल र नेपालीको स्वाभिमान र शीर उच्च बनाउने कार्य हुनेछ। राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र मुलुकको भौगोलिक अखण्डता कायम गरिनेछ।
नेकपा (एमाले) पुरानो दल भएको हुँदा यो पार्टी पनि क्रमशः कमजोर हुँदै जानेछ र यसको भविष्य छैन भन्ने व्यक्ति, समूह वा शक्तिहरूको कुतर्क गर्ने जमात पनि नभएको होइन। यो भनाइमा कुनै सैद्धान्तिक आधार, तर्क र तथ्य छैन। तर्क पनि कस्तो कि दल पुरानो भएको हुनाले यसको सान्दर्भिकता सकियो भन्ने ? पुरानोले गर्न नसक्ने नयाँले गर्ने भन्ने हुन्छ र ? तर एमालेले यहाँसम्म आइपुग्दा देश र जनताका लागि के-कति काम गर्यो ? त्यसको विश्लेषण गर्न जरुरी छ तर यो शक्ति यसो गर्न चाहँदैन।
आउँदा दिनमा पुनः नेकपा (एमाले) ले राज्यसत्ताको बागडोर सम्हाल्नुको विकल्प छैन। नेपाली जनता यस पार्टीबाट मात्रै मुलुकको विकास, सुशासन र समृद्धिको यात्रा सम्भव छ भन्ने कुरामा विश्वस्त छन्। त्यसै हुनाले यो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विस्तार गर्नु सबै एमालेजनहरूको यतिबेलाको प्रमुख अभिभारा हो।
‘एमाले पार्टी त ठीकै हो तर यसको नेतृत्व परिवर्तन हुनुपर्छ’ भन्ने पक्ष पनि देखा नपरेको होइन । पार्टी ठीक, नेतृत्व बेठीक हुन्छ र ? नेतृत्वले नै पार्टीको समग्र कामको नेतृत्व गर्दछ। यति कुरा पनि नबुझी नेतृत्व र पार्टीबीचको भिन्नता खुट्याउन नसक्नु यी शक्तिहरूको ज्ञानप्रति टीठ व्यक्त गर्नुबाहेक अरू केही रहेन । पार्टीले त्यतिबेला सही नीति, सिद्धान्त, विचार, कार्यक्रम र योजना ल्याउन सक्छ, जतिबेला नेतृत्व सक्षम, योग्य र अब्बल हुन्छ। सबै हिसाबले आज नेकपा (एमाले) मा स्थिति यस्तै रहेको छ। कमरेड केपी ओलीको नेतृत्वमा पार्टीले सही विचार, नीति, दृष्टिकोण र कार्यक्रम अगाडि सारी मुलुक रूपान्तरणको काममा जुटेको छ।
यद्यपि यस्तो चिन्तन राख्ने व्यक्तिहरू शुभचिन्तक होलान् तर नेतृत्वप्रति असहिष्णु रहने व्यक्ति र समूह हुन्। तर यो समूह कुनै पनि संस्थाको भविष्य यसको नेतृत्वसँग अन्योन्याश्रित रूपमा गाँसिएको हुन्छ भन्ने कुराको पनि हेक्का राख्दैनन्।
नेकपा (एमाले)को नेतृत्वमा कमरेड केपी ओली भएकै कारण वा भनौँ कमरेड केपी ओली मुलुकमा भएकै कारण एमालेजन र समग्र नेपालीहरूको शिर उच्च भएको छ। चाहे भूकम्पपछिको कहालीलाग्दो अवस्थामा भारतले लगाएको नाकाबन्दीका विरुद्ध नेपाली जनतालाई संगठित गरी त्यसको प्रतिरोध गरी परास्त गरेको विषय होस् र त्यसपछि छिमेकी मुलुक चीनसँग व्यापार तथा पारवहन सन्धि गरी चीनसमेत विश्वका अन्य देशहरूमा व्यापार गर्नसक्ने अवस्था सिर्जना गरेको विषय होस्। यसको जस कमरेड केपी ओलीलाई नै जान्छ।
नेपाली भूमि खासगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर मुलुकको संविधानमा समावेश गरी आफ्नो भूमि रक्षा गरेको विषय होस् वा सोही भूभागमा चीन र भारतले नेपाललाई कुनै सरोकार नराखीकन व्यापारिक मार्ग बनाउन सम्झौता गरेको विषय होस्, चिनियाँ राष्ट्रपतिसँग दृढतापूर्वक यो विषय उठाएका कारण नेपालीहरूको स्वाभिमान उच्च बनाएको थियो। संविधान निर्माणका क्रममा र माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउने कुरामा उहाँले खेल्नुभएको भूमिका जगजाहेर नै छ।
यति मात्र होइन, उहाँले नेपाली जनताका मुरिएका सपनाहरू बौऱ्याउनुभयो र कार्यान्वयनमा लैजाने कामको नेतृत्व गर्नुभयो। पछिल्लो कालमा जब उहाँ सरकारमा रहनुभएको थियो, त्यतिबेला उहाँले अगाडि सार्नुभएका काम, योजना र परियोजनाहरू ज्यादै महत्त्वपूर्ण रहेका छन् । वर्ष दिनभित्र त्रिवि कीर्तिपुरमा क्रिकेट मैदान सम्पन्न गर्ने कुरा, नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग सम्पन्न गर्ने विषय, सिद्धबाबा सुरुङमार्ग निर्माणको विषय, दैलेखमा ग्यास उत्पादनको विषय, धौवादीमा फलाम खानी उत्खनन्को कार्य, सुनकोसी-मरिन डाइभर्सन निर्माण, सडक, ऊर्जा, सिँचाइ, विद्युतीकरण, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा गरिएका उल्लेख्य कार्यहरू हुन्। यी सबै कुराले के बताउँछ भने उहाँ विकास र समृद्धिका संवाहक र दूरदृष्टि भएको व्यक्ति हो।
नेकपा (एमाले) ले लिएका नीति सही र नेतृत्व सक्षम छन्। आगामी दिनमा यसको भविष्य उज्ज्वल छ। उज्ज्वल मात्र होइन, एमालेको मात्र भविष्य छ। किनभने एमालेलाई बुझ्न हिजो बुझ्नुपर्छ, आज बुझ्नुपर्छ। एमाले सत्तामा हुँदा जहिले पनि नेपाली जनता र मुलुकको हितलाई केन्द्रमा राखी काम गरेको छ।
चाहे ती विकास निर्माणका कुराहरू हुन् वा सुशासनका, गरिबी निवारण वा रोजगारी सिर्जनाका विषयहरूमा, आर्थिक क्रियाकलापमा बढोत्तरी ल्याई मुलुकलाई औद्योगिकीकरणमा लैजाने होस् वा कृषिको रूपान्तरण गर्ने, सामाजिक सुरक्षामा जनतालाई आबद्ध गर्ने वा स्रोतसाधनको परिचालनमा ध्यान दिने, पूर्वाधार निर्माणको विकास र विस्तारमा जोड दिने वा मुलुकको अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्धहरूलाई व्यवस्थित पार्दै मुलुकको प्रतिष्ठालाई उच्च बनाउने तथा अन्तर्राष्ट्रिय विकास साझेदार र दाताहरूलाई विश्वासमा लिने लगायतका कामहरू प्रभावकारी ढङ्गले सम्पन्न भएका छन्।
चाहे भूकम्पपछिको कहालीलाग्दो अवस्थामा भारतले लगाएको नाकाबन्दीका विरुद्ध नेपाली जनतालाई संगठित गरी त्यसको प्रतिरोध गरी परास्त गरेको विषय होस् र त्यसपछि छिमेकी मुलुक चीनसँग व्यापार तथा पारवहन सन्धि गरी चीनसमेत विश्वका अन्य देशहरूमा व्यापार गर्नसक्ने अवस्था सिर्जना गरेको विषय होस्। यसको जस कमरेड केपी ओलीलाई नै जान्छ।
आम नेपालीजनमा एमालेले यो मुलुकलाई समृद्ध समाजमा पुर्याउन सक्छ भन्ने विचार राख्ने पंक्ति एमालेको पछि लामबद्ध भएको छ। र, यो पंक्ति मुलुकमा ठूलो संख्यामा छ। एमालेका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक यो पंक्तिमा पर्दछन् नै। यसबाहेक पनि खासगरी श्रमजीवी जनता, मजदुर, किसान, उद्योगी, व्यापारी, नागरिक समाजमा क्रियाशील व्यक्तिहरूले यो पार्टीलाई राम्रो प्रभाव दिएका छन्। एमालेलाई यसरी विश्वास गर्नुमा यसले लिएका सही नीतिहरू हुन् र यसको नेतृत्वलाई गरेको विश्वास नै हो।
यसबीचमा एमालेको नेतृत्वमा उल्लेख्य प्रगतिहरू पनि भएका छन् । समष्टिगत अर्थतन्त्रमा भएको वृद्धि, क्षेत्रगत तथा विषयगत सामाजिक रूपान्तरण, आर्थिक प्रगति, पूर्वाधार निर्माण आदि हुँदै जाँदा मुलुक यतिबेला अल्पविकसित देशबाट विकासशील देशमा स्तरवृद्धिको सँघारमा आइपुगेको छ। यी यसै भएका होइनन्, गरेरै भएका हुन्। ढिलो भयो होला। यसो हुनुमा राज्य सञ्चालनमा गएका पार्टीहरू जिम्मेवार होलान्। यसमा एमाले पनि जिम्मेवार छ नै। तर मुलुकमा केही भएको छैन भन्ने जुन भाष्य खडा गरिँदै छ, त्यसमा कुनै सत्यता छैन।
मुलुकमा केही भएको छ, पर्याप्त भएको छैन होला, आवश्यकताअनुसार भएको छैन होला, जति गर्न सकिन्थ्यो त्यति गर्न सकिएको छैन होला। काम भएका छन्। तर पनि केही कमजोरी छन्। यसमा पहिलो हो: राज्यले गरेका कामहरू र प्राप्त उपलब्धिहरू आम जनताका बीचमा पुर्याउन नसक्नु रहेको छ। विकासको प्रतिफल आम जनताले अनुभूति गर्न नसक्नु। अर्को कमजोरी हो: सेवा प्रवाहमा सुस्तता आउनु। सेवा प्रवाह प्रभावकारी नहुनुमा नोकरशाही कर्मचारीतन्त्र नै जिम्मेवार छ । यो प्रशासन संयन्त्र जनविरोधी छ। यसलाई अझसम्म सुधार र रूपान्तरण गर्न सकिएको छैन।
जनताले भनेको बेलामा सेवा पाउन सकेको अवस्था छैन। भ्रष्टाचार र ढिलासुस्तीमा कमी आएको भए पनि अन्त्य गर्न सकिएको छैन। प्रशासनयन्त्रमा रहेका व्यक्तिहरू आफूलाई ‘ठालु’ सम्झने गर्दछन् र जनतालाई भने सेवकको रूपमा व्यवहार गर्दछन्। यो अवस्थालाई परिवर्तन गर्न जरुरी छ। प्रशासन संयन्त्रको लोकतान्त्रीकरण गर्न जरुरी छ। यो बीचमा गर्न नसकिएको अर्को महत्त्वपूर्ण विषय हो रोजगारी सिर्जना। यसमा राज्यले ध्यान दिनु पर्दछ। मुलुकभित्रै रोजगारी सिर्जना गरी विदेशमा रहेका युवाहरूलाई स्वदेशमै पौरख गर्ने वातावरण सिर्जना गर्नु पर्दछ। आउने दिनमा राज्यले पहिलो प्राथमिकतामा राखी यो विषयलाई ध्यान दिन जरुरी छ।
यी र यस्तै विषयहरूलाई सम्बोधन गर्न आगामी दिनमा पुनः नेकपा (एमाले) ले राज्यसत्ताको बागडोर सम्हाल्नुको विकल्प छैन। नेपाली जनता यस पार्टीबाट मात्रै मुलुकको विकास, सुशासन र समृद्धिको यात्रा सम्भव छ भन्ने कुरामा विश्वस्त छन्। त्यसै हुनाले यो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विस्तार गर्नु सबै एमालेजनहरूको यतिबेलाको प्रमुख अभिभारा हो।
(लेखक केन्द्रीय सदस्य हुन् । )

Leave a Reply