
नेपालको राजनीतिक आकाशमा एउटा रोचक दृश्य फेरि देखा परिरहेको छ , जहाँ प्रायः सबै शक्ति, विचार, र आन्दोलनको निशाना एउटै व्यक्ति बनेका छन् । उनी हुन्, केपी शर्मा ओली।
कहिले एमालेभित्रका असन्तुष्ट, कहिले जेन–जी पुस्ताका आन्दोलनकारी, कहिले विदेशी शक्ति र कहिले पूर्वप्रधानमन्त्रीहरू नै । सबैले आफ्नो असन्तुष्टि पोख्ने केन्द्र ओलीलाई बनाइरहेका छन्। तर, प्रश्न उठ्छ, ओलीमाथिको यो निरन्तर खेदाइ उनको अवगुणको परिणाम हो कि नेतृत्व शक्तिको प्रमाण ?
ओली र कम्युनिष्ट आन्दोलनको पृष्ठभूमि
नेपालको आधुनिक राजनीतिक यात्रामा केपी शर्मा ओलीको भूमिका साधारण छैन। प्रजातन्त्र पुनर्स्थापना हुँदा एमालेका तर्फबाट उनी नयाँ पुस्ताका ती नेतामध्ये थिए, जसले कम्युनिष्ट आन्दोलनलाई संसदीय यात्रामा रूपान्तरण गरे।
माओवादीसँगको ऐतिहासिक एकता र ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ गठन हुँदा, ओली त्यो परियोजनाका मुख्य मस्तिष्क थिए। त्यो समय ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायत सबै नेता एउटै झण्डामुनि आए। तर, केही वर्षमै त्यो एकता भत्कियो।
पछिल्लो समय ती सबै नेताहरू माधवकुमार नेपालले ‘एकीकृत समाजवादी’, पुष्पकमल दाहालले ‘माओवादी केन्द्र’, झलनाथ खनाल, भीम रावल लगायतका नेताले नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक पार्टी गठित गरेर ओलीविरुद्ध मोर्चा बनाएका छन्।
अर्थात्, कहिल्यै एउटै घरमा बसेका यी नेताहरू अहिले फरक-फरक पर्खालबाट ओलीलाई रोक्ने अभियानमा छन्। तर, यत्ति ठूलो बिखण्डनबीच पनि एमाले अझै देशकै संगठित र प्रभावशाली शक्ति बनेर उभिएको छ । यही तथ्यले ओलीको राजनीतिक क्षमता झल्काउँछ।
अहिलेको अवस्थामा ओलीमाथिको विरोध तीन तहमा फैलिएको छ पहिलो राजनीतिक, दोस्रो वैचारिक र तेस्रो पीढीगत अर्थात नयाँ पुस्ताको।
राजनीतिक दृष्टिले उनी विपक्षका लागि ‘सबैभन्दा कठिन प्रतिस्पर्धी’ हुन्। उनी न त सजिलै सत्ताबाट बाहिरिन्छन्, न त लोकप्रियता गुमाउँछन्। त्यसैले उनका प्रतिद्वन्द्वीहरूले दल विभाजन, गठबन्धन, र वैकल्पिक गठबन्धनमार्फत उनको प्रभाव घटाउने प्रयास गर्छन्।
वैचारिक रूपमा ओलीले परम्परागत कम्युनिष्ट नीतिभन्दा व्यावहारिक राष्ट्रवाद र आर्थिक आधुनिकतालाई प्राथमिकता दिए। उनले खुला बजार र आत्मनिर्भर उत्पादनको संयोजन गरेर ‘राष्ट्रिय स्वाभिमान सहितको विकास’ को अवधारणा अघि सारे तर यही सोच पुराना वाम नेताहरूका लागि असहज बन्यो।
पीढीगत रूपमा भने अहिलेको जेन-जी पुस्ता ओलीलाई ‘पुरानो ढाँचा’ को प्रतीकका रूपमा हेर्छ। उनीहरू ‘नयाँ शैलीको राजनीति’, ‘प्रत्यक्ष सहभागिता’ र ‘नेतामाथिको सवाल’ उठाउन चाहन्छन्। तर, त्यही पुस्ताको ठूलो भागले ओलीको ठाडो, दृढ र राष्ट्रियता-केन्द्रित नेतृत्व शैलीलाई पनि ‘देशभक्तिको आवाज’ को रूपमा सम्मान गर्छ।
जेन–जी आन्दोलनले अहिलेको नेपाली राजनीतिमा हल्ला मच्चाइरहेको छ। यसले पुरानो पार्टी संरचना, भ्रष्टाचार, असमानता, र नेताको विशेषाधिकारमाथि प्रश्न उठाएको छ। त्यसको केन्द्रमा युवा पुस्ताको असन्तोष छ, जसले परिवर्तनको नयाँ भाषा खोज्दैछ।
ओलीका लागि यो आन्दोलन खतरा र अवसर दुवै हो।
खतरा यस अर्थमा कि, पुरानो पार्टी संरचना (जस्तै एमाले) प्रति आक्रोश बढ्दैछ।
तर, अवसर यस अर्थमा पनि छ कि, यदि ओलीले आफ्नो राष्ट्रवादी, आत्मनिर्भर र ‘परिणाममुखी शासन’ को अभियानलाई युवा पुस्ताको आकांक्षासँग जोड्न सके, उनी फेरि पनि परिवर्तनको नेता बन्न सक्छन्।
ओलीसँग त्यो क्षमता छ । उनी ठाडो बोल्छन्, स्पष्ट बोल्छन्, र आत्मविश्वासपूर्ण हुन्छन्। तर, उनलाई जेन–जी पुस्तासँग जोड्न अब पुरानो शैली होइन, संवाद र सहभागितामूलक राजनीतिको बाटो लिनु पर्नेछ ।
अहिले ओली सरकार र अन्य कम्युनिस्ट पार्टीको प्राथमिक निशाना बनेका छन्।
विदेशी शक्ति केन्द्रहरू समेत उनीसँग असहज देखिन्छन् किनभने उनी कहिलेकाहीँ राष्ट्रिय स्वार्थलाई कूटनीतिक ‘सामञ्जस्य’ भन्दा माथि राख्छन्। तर, यो असहजता नै उनलाई ‘स्वाभिमानी राष्ट्रवादी’ को छवि दिन सफल भएको छ।
सडकमा विरोध भए पनि संगठनमा एमाले अझै बलियो छ। प्रदेशदेखि स्थानीय तहसम्म, पार्टीको संरचना स्थिर र सक्रिय छ। त्यो नेतृत्वको कारण हो ओलीको कडा नियन्त्रण र संगठनात्मक अनुशासन। यसैले, विरोधबीच पनि उनी ‘सत्ताको सम्भावित केन्द्र’ बनेर टिकेका छन्।
अब ओलीले के गर्नुपर्छ ?
नेपालको राजनीति अहिले नयाँ संक्रमणमा छ ।
पुराना दलहरूप्रति जनविश्वास घट्दैछ, नयाँ पुस्ता राजनीतिक परिवर्तन खोज्दैछ, र राष्ट्रिय स्वार्थका सवालमा बाह्य प्रभाव बढ्दैछ। यस्तोमा ओलीले अब तीन मुख्य काम गर्न आवश्यक छ । पहिलो जेन्जी पुस्तासँग सम्बन्ध गाँस्ने । युवा पुस्ता सशक्त, साक्षर र प्रविधिमैत्री छ। ओलीले उनीहरूलाई केवल ‘विरोधी’ होइन, ‘सहयात्री’ को रूपमा देख्नुपर्छ। राष्ट्रवाद र विकासका एजेन्डालाई युवा नेतृत्वका साथ जोड्न सके उनी पुनः नयाँ पुस्ताको भरोसा जित्न सक्छन्।
दोस्रो , वैचारिक स्पष्टता र समावेशिता । ओलीले कम्युनिष्ट नामको परम्परागत खोलबाट बाहिर निस्किएर समावेशी राष्ट्रवाद र समृद्ध नेपालको साझा दृष्टिकोण प्रस्तुत गर्नुपर्छ। उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई केवल नारा होइन, नीति–रूपान्तरणको खाका बनाउनु पर्ने बेला आएको छ।
र, तेस्रो संगठन सुधार र उत्तराधिकारी निर्माण । पार्टीमा नयाँ पुस्ता, महिला र समावेशी प्रतिनिधित्वलाई बढाएर एमालेलाई आधुनिक संगठनको रूपमा पुनःपरिभाषित गर्न सकिन्छ।
ओलीको दीर्घकालीन राजनीतिक मूल्यांकन उनको उत्तराधिकारी तयार पार्ने क्षमतामाथि पनि निर्भर रहनेछ।
ओलीमाथि जतिसुकै विरोध, आलोचना र खेदाइ होस् , उनी अझै पनि नेपालको राजनीतिमा ध्रुव ताराझैँ छन्, सबैको दृष्टि उनीतर्फै तानिन्छ। उनको विपक्षमा तीन पूर्व प्रधानमन्त्री, ‘वैकल्पिक’ भनिएका नेता र विदेशी असन्तुष्टि छन् । तर, उनी अझै राष्ट्रिय राजनीति र राष्ट्रवादको मुख्य अनुहार बनेर उभिएका छन्। बाहिरियाले जतिसुकै निशाना बनाए पनि देशभरको एमाले पङ्क्ति पुनः ओली नेतृत्वको चाहना राख्छ ।
वास्तवमा, ‘जो नेतृत्व परिवर्तनको भाषा बोल्छ, उसमा नै व्यवस्था टिकाउने आशा पनि रहन्छ।’ ओली त्यही विरोध र चुनौतीबीच पनि आशाको प्रतीक बन्न सक्छन्, यदि उनले आफ्नो राष्ट्रवादी दृष्टिकोणलाई नयाँ पुस्ताको आकांक्षा र समावेशी नेतृत्वसँग जोड्न सके भने।

Leave a Reply