
काठमाडाैं । भ्रष्टाचार र सुशासन विरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा थुप्रै कलाकर्मीको सहभागिता रह्यो । आन्दोलनपछि कतिपय कलाकार प्रत्यक्ष राजनीतिमै होमिन थालेका छन् ।
यति बेला निर्वाचन आयोगमा दिनदिनै नयाँ-नयाँ दल दर्ता भइरहँदा कलाकारको पनि सक्रियता बढेको छ । कोही कलाकार राजनीतिक दलको पदाधिकारी टीममै बसेका छन् त कसैले बाहिरबाट सघाइरहेका छन् । नयाँ खुलेका दलहरूले कलाकारहरूलाई राम्रै महत्त्व दिएको देखिन्छ ।
पत्रकार ऋषि धमलासम्म संरक्षक रहेर अधिवक्ता रमण कर्णको संयोजकत्वमा जनादेश पार्टी नेपालले दल दर्ताको निवेदन दिएको छ । बस्नेतको प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ता भइसकेको छ भने घिसिङको उज्यालो नेपाल पनि दर्ताकै क्रममा छ । अन्य समूहहरूले पनि दल दर्ताका लागि आयोगमा निवेदन दिइरहेका छन् ।
समाजका विविध क्षेत्रमा गनिएका, चिनिएका व्यक्तिहरू एक न एक दलमा आबद्ध भइरहेका छन् । सैद्धान्तिक धरातलबिना मौका छोप्ने हिसाबले खुलेका यी पार्टीले आउँदो निर्वाचनमा कस्तो परिणाम ल्याउलान् हेर्न बाँकी छ । तर, नयाँ वैकल्पिक भनिएका दलहरूमा प्रवेश हुने लहरबाट चलचित्र क्षेत्र पनि अछुतो देखिँदैन ।
अभिनेत्री तथा टेलिभिजन प्रस्तोता रिमा विश्वकर्मा कुलमानको पहलमा अगाडि बढेको पार्टी उज्यालो नेपालमा प्रस्तावित केन्द्रीय सदस्य छिन् ।
अर्की अभिनेत्री निशा अधिकारी बस्नेतको पार्टी गतिशील लोकतान्त्रिक पार्टीको पदाधिकारी तहमा आबद्ध छिन् । ऋषि धमलाको संरक्षकत्वमा खुलेको पार्टीमा उनकै पत्नी मोडल एलिजा गौतमलाई उपाध्यक्ष बनाइएको छ । धमलाका श्रीमान-श्रीमती अहिले पार्टीका लागि मान्छे खोज्ने अभियानमा जुटिरहेका छन् । एलिजा यसअघि नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिइन् ।
अन्य कलाकारहरू पनि बिस्तारै राजनीतिक दलहरूमा खुल्दै जाने बताइएको छ । जेनजी आन्दोलनको सुरुवातदेखि नै सक्रिय रहेका निर्देशक निश्चल बस्नेत भने अहिलेसम्म कतै खुलेका छैनन् । काठमाडौं महानगरका मेयर बालेनको पक्षमा स्टाटस लेखिरहने बस्नेत वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा जोड्नलाई पहिलेदेखि नै प्रयासरत थिए । जेनजी आन्दोलनपछि सबै वैकल्पिक शक्तिहरू एक ठाउँमा उनी जोडतोडेले लागि परे पनि सफल भएनन् ।
बस्नेतसँगै सक्रिय थिए निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँ । कलाकार संजोग कोइराला पनि यही समूहमा सक्रिय थिए ।
रास्वपा छाडेकी निवर्तमान सांसद सुमना श्रेष्ठ, रास्वपा र विवेकशील साझाका केही नेताहरू, बालेनका प्रतिनिधि, कुलमान घिसिङ र जेनजी प्रतिनिधिहरूसँग बारम्बार छलफलमा थिए बस्नेत, बानियाँ र कोइरालाहरू । कहिले नयाँ बानेश्वरतिर त कहिले राधाकृष्ण भवनको पाँचौँ तलातिर छलफल गरेर वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने कोसिसमा थिए ।
तर, उनीहरूको कोसिस बागमतीको पानीसँगै बगेर गएको छ । घिसिङको समर्थनमा अर्को पार्टी गठन भइसकेको छ भने सुमना श्रेष्ठ उज्यालो नेपालबाट बाहिरिइसकेकी छन् । जेनजीहरू विभिन्न स–साना समूहमा विभक्त छन् । निश्चल बस्नेत आमा अमृता बस्नेतको असामयिक निधनका कारण शोकमा छन् ।
सबै जना एक ठाउँमा आइपुग्ने सम्भावना नदेखेपछि कलाकारहरू आ–आफ्नै तरीकाले अगाडि बढिसकेका छन् । अभिनेत्रीत्रय विश्वकर्मा, अधिकारी र गौतम फरक फरक पार्टीमा सक्रिय भइसकेका छन् । निर्देशक बस्नेतको अहिलेसम्म टुंगो लागेको छैन । बुझिए अनुसार उनी राजनीतिमा पूर्णरूपले सक्रिय हुने सम्भावना न्यून छ ।
निर्माता तथा अभिनेता बानियाँ आफू फ्रन्टमा नदेखिए पनि राजनीतिमा सक्रिय भएका सबै कलाकारलाई सहयोग गर्ने बताउँछन् । कोइरालाले पनि राजनीतिक दलमा सक्रिय हुने लक्षण देखाएका छैनन् । सुरुवाती चरणमा जेनजी आन्दोलनको पेरिफेरिमा सक्रिय भएका अभिनेता दीपकराज गिरीलाई पनि सक्रिय राजनीति गर्नु छैन । राजनीतिक दलमा सक्रिय भएको दिन कलाकारितालाई नै छाड्ने उनी बताउँछन् ।
त्यसो त जेनजी आन्दोलनभन्दा अगाडि पनि केही कलाकारहरू राजनीतिमा आफ्नो भाग्य जमाउने प्रयासमा थिए । अभिनेत्री रेखा थापा राप्रपाको कार्यसम्पादन समितिमा छिन् । एमालेमा रहेकी गायिका कोमल ओली एक पटक सांसद समेत बनिन् । एमाले नै रोजेकी अभिनेत्री करिश्मा मानन्धरले भने जेनजी आन्दोलनकै दौरान पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन् ।
कलाकारहरू प्रत्यक्ष राजनीतिमा जुरमुराएपछि फेरि उठेको बहस छ,– कलाकारहरूले राजनीति गर्नु ठिक हो कि होइन ? कलाकारहरूले कला मार्फत् समाजलाई योगदान दिने कि प्रत्यक्ष राजनीतिमै संलग्न हुने ?
बानियाँको विचारमा कलाकारहरू राजनीतिमा हाम फाल्नु सकारात्मक हो । उनी भन्छन्, ‘आफूसँग भएको पपुलारिटीलाई सदुपयोग गरेर समाजमा योगदान दिन सकिन्छ कि भनेर उहाँहरू लाग्नुभएको छ । अब कलाकारिताबाट राजनीतिमा हाम फाल्दा दोहोरो कन्फ्लिक्ट नदेखिने र स्वार्थ नबाझिने ठाउँमा रहेर उहाँहरूले काम गर्नुपर्छ । आइपर्दाखेरि सडक र राजनीतिबाट पनि काम गर्न सक्नु आफैँमा प्रशंसनीय कुरा हो ।’
कलाकारहरू राजनीतिमा प्रवेश गर्नु नौलो कुरा नभएको बानियाँको भनाइ छ । हिजो कलामार्फत् समाजलाई योगदान दिइरहेकाहरूले राजनीतिबाट योगदान दिनु भनेको भूमिका मात्रै फरक भएको उनको विश्लेषण छ ।
राजनीतिमा जानलाई तीव्र तयारी चाहिने र त्यस्तो तयारी कलाकारहरूमा देखिने पनि उनले बताए । बानियाँ स्वयं पनि दुई तीन महिनादेखि वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउनका लागि जोडबल गरिरहेका थिए । तर, मिडिया ट्रायलले आफू आजित भएको बताए ।
उनले भने, ‘भित्र एउटा छलफल भइरहेको हुन्छ, बाहिर अर्कै समाचार ट्रायलको रूपमा बाहिरिन्छ । म त आजित भएँ ।’
जे जसो भए पनि कलाकारहरू राजनीतिमा सक्रिय हुँदा उनीहरूको समाजप्रतिको दायित्व समेत बढेर जाने बानियाँको भनाइ छ । उनले थपे, ‘शहीदहरूको सपना पूरा गर्छु, जनताको अपेक्षा पूरा गर्छु भनेर मैदानमा उत्रिनु, आफ्नो कुरालाई दह्रोसँगले राख्नु आफैँमा गज्जबको कुरा हो ।’
अनि तपाईँ चाहिँ राजनीतिमा लाग्ने कि नलाग्ने ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म चाहिँ राजनीतिमा लागेर भन्दा पछाडि बसेर काम गर्न चाहन्छु । मेरो खुबी नै यही हो जस्तो लाग्छ । अगाडि बढ्नेहरूलाई दिल खोलेर साथ सहयोग गर्छु ।’
तर, अभिनेता दीपकराज गिरी भने बानियाँभन्दा बिल्कुल फरक सुनिन्छन् । प्रत्यक्ष राजनीति गर्नेहरूले कलाकारिताबाट विश्राम लिएको राम्रो हुने उनको सुझाव छ । एउटा विचार वा एउटा पार्टीको झन्डा समातेर हिँडेपछि कलाकारिता छाड्नुपर्ने गिरीले बताए ।
‘कलाकारले एउटा विचारलाई ठिक हो भनिसकेपछि कलाकारिता पनि निष्पक्ष हुन सक्दैन । विचार बोकेर हिँड्नेहरू समाजमा थुप्रो मान्छे हुन्छन् । ती मान्छेहरूको समूह हुन्छ । त्यस्तो ठाउँमा कलाकारले एउटा दलको झन्डा फहराउँदै हिँडेपछि कलाकारितासँग तालमेल नहुन सक्छ,’ गिरीले भने, ‘म चाहिँ सर्व कालीन प्रतिपक्षी हो । कुनै दलको सदस्यता नलिईकनै म प्रतिपक्षको भूमिका निर्वाह गर्छु ।’
दलको झन्डा बोकेर हिँडेपछि कलाकारले निस्फिक्री रूपमा आफ्नो कला देखाउन नसक्ने गिरीको निचोड छ । दलको झन्डा मुनि बसिसकेपछि कलाकारको कला पनि पक्षपाति हुने उनी बताउँछन् ।
गिरीले भने, ‘यसपछि कलाकारको कलामा राजनीतिक रङ लाग्छ । कलाकार त राजनीतिक रङ बिनाको हुनुपर्छ । कलाकार चेतनशील हुनुपर्छ । सामाजिक न्यायको सन्दर्भमा सचेत हुनुपर्छ । कलाकारले आम मानिसको पक्षपोषण गर्नुपर्छ । तर, दलको झन्डा किन बोक्नुपर्यो ?’
राजनीतिमा सक्रिय हुँदा कलाकारको अभिनय यात्रामा गम्भीर ठेस पुग्ने गिरी बताउँछन् । दुवै क्षेत्रमा खुट्टा राखेपछि ऊर्जा पनि बाँडिने भएको पूर्ण ऊर्जा लगाएर काम गर्न सक्दैनन् । यही कारण आफू राजनीतिमा लागेर कुनै पनि दलको पुच्छर नबन्ने गिरीले बताए ।
आफूसँग जे जति ऊर्जा छ, त्यो सबै कलाकारितामै लगाउने सुरमा छन् उनी । २०४६, २०६२÷६३ र २०८२ मा भएका हरेक आन्दोलनमा सहभागी भएर परिवर्तनको पक्षमा वकालत गरेको सम्झँदै गिरी भन्छन्, ‘म कलाकारिताबाटै आम मानिसको पक्षमा, जनताको पक्षमा बोलिरहन्छु । सामाजिक न्यायको पक्षमा बोलिरहन्छु । तर दलको झन्डामुनि बस्दिनँ । जुन दिन राजनीति गर्छु, त्यस दिन म कलाकारिता नै छाडिदिन्छु ।’

Leave a Reply