चालू खाता २ खर्ब ३७ अर्बले बचतमा, कति छ सरकारी खातामा पैसा ?

काठमाडौं । सरकारको चालू खाता २ खर्बले बचतमा रहेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म आइपुग्दा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो ।

चालू आवको साउनदेखि असोजसम्म अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको थियो ।

यस अवधिमा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।

चालू आवको तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् ।

२०८२ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा एव खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात एव खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *