रुपन्देहीमा थपिँदै अर्बौंको लगानी, फस्टाउँदै निर्यातजन्य उद्योग

रुपन्देही । सबैतिर लगानीको वातावरण नभएको निराशाका खबर आइरहेका बेला रुपन्देहीमा अर्बौंका लगानीका ठूला उद्योग, होटल तथा अस्पतालहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । ती उद्योगहरुबाट उत्पादित वस्तुहरु स्वेदशको मात्रै नभई विदेशमा निर्यात पनि थालिएकाले बढ्दै गएको निराशालाई सकारात्मक सन्देश दिएको र रोजगारीको सृजना पनि गरेको छ ।

तर अस्थिर राजनीतिका र आन्दोलनमा पहिलो निशाना नै निजी क्षेत्र भएकाले यसलाई रोक्न सामूहिक प्रतिबद्धता चाहिने आवाज पनि उठ्न थालेको छ । अहिले भैरहवादेखि नवलपरासीको भूमही खण्ड र मुख्य मार्गभन्दा भित्र ठूला उद्योग बढी रहेका छन् । पछिल्ला केही वर्षमा अर्बौंको लगानीमा दर्जनौं धेरै ठूला र बहुराष्ट्रिय कम्पनी स्थापना भइसकेका छन् ।

रुपन्देहीका उद्योगी कृष्ण पौडेलले सञ्चालनमा ल्याएको फर्स्ट च्वाइस फूड्स प्रालिले अमेरिका निर्यात थालेको छ । यसअघि दैनिक एक कन्टेनर फ्रेन्च फ्राइ भारत निर्यात गर्दै आएको उसले अब अमेरिकासँगै युरोपमा अन्य देशमा पनि निर्यातको योजना बनाइसकेको छ ।

दुई अर्ब लगानीमा जिल्लाको शुद्धोधन गाउँपालिकामा सञ्चालित उद्योगमा ठूलो परिणाममा फ्रेन्च फ्राइ उत्पादन हुन्छ । कुल उत्पादनको एक तिहाइ भारततर्फ निकासी भइरहेको छ । उद्योगले फ्रेन्च फ्राइज, आलु टिक्की, स्माइलिज र ह्यास ब्राउन उत्पादन गर्छ । उद्योगका अनुसार अहिले ७५ प्रतिशत आयात विस्थापन गरिसकेको छ ।

पौडेलले आफ्ना उत्पादन मात्र निर्यात गरेका होइनन्, १९ जिल्लाका किसानलाई उद्योगसँग जोडेर आलु खेती प्रोत्साहन र उत्पादित आलु खरिदको ग्यारेन्टी समेत गरेका छन् । ‘नेपाल सम्पूर्ण रूपमा परनिर्भर रहेको फ्रेन्च फ्राइज हामीले निर्यात गर्न थालेका छौं, नेपाली बजारसँगै विश्व बजारमा पनि निकासीले नेपाली उद्योगले फड्को मार्ने अपेक्षा हाम्रो छ, यो निकै खुसीको कुरा हो’ पौडेल भन्छन् ।

रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानीमा सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने भएको छ । भैरहवा सेजभित्र १ बिघा १३ कठ्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको सुरुवातमै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिन उद्योग स्थापना गर्न लागिएको जनाएका थिए । यसको काम भइरहेको छ । यहाँबाट नेपाली बजारका साथै युरोपेली मुलुक र अमेरिकामा तयारी पोशाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको हो ।

उद्योग स्थापना भई सञ्चालनमा आउँदा १ हजार २०० भन्दा बढीले रोजगार पाउने छन् । उद्योग निर्माणसँगै आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम एकसाथ अघि बढाइएको छ । उनका अनुसार भाटभटेनीका स्टोरहरुमा पनि यस उद्योगबाट उत्पादित सामग्री पाइने र स्थानीय बजारमा पनि पुर्‍याउने लक्ष्य राखिएको छ ।

सेजभित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत रहेका छन् । भाटभटेनीका अहिले देशभर जेनजी आन्दोलनमा आगजनी हुनुअघि २८ वटा सुपरस्टोर सञ्चालनमा थिए । त्यसबाहेक होटल, हाइड्रोमा पनि लगानी रहेको छ ।

सेजमा भाटभटेनी भित्रिएर निर्यातजन्य ठूलो उद्योग सञ्चालनमा आएपछि यसले लुम्बिनी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा निजी क्षेत्रले गरेको छ । उद्योगमा १ हजार २०० भन्दा बढीले रोजगारी पाउने र उत्पादित वस्तु ८० प्रतिशत निर्यात गरिने बताइएको छ ।

भैरहवाको सेजमा उद्योगी अजयमान श्रेष्ठले संचालन गरेको फर्निस आयल विदेश निर्यात भइरहेको छ । इको नेपाल इनर्जी इण्डष्ट्रिज प्रा.लि.ले फर्नेस आयल उत्पादन गरिरहेको हो । औद्योगिक उर्जा उत्पादनको लागि इको नेपाल इण्डष्ट्रिज प्रा.लि. स्थापना गरिएको र सोही अनुसार व्यवसायिक उत्पादन सुरु गरिएको उद्योगका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।

स्थानीय कच्चा पदार्थमा आधारित यो उद्योगले फर्नेस आयल (औद्योगिक तेल) उत्पादन गर्छ संचालक श्रेष्ठले भने—‘यसले फोहर र खेर गैरहेका रबरजन्य बस्तुहरुबाट फर्नेस आयल उत्पादन हुन्छ यसलाई पाइरोलाइसिस आयल पनि भनिन्छ ।’

यो विशेष गरेर सडक निर्माण, बिस्कुट उद्योग, सिमेन्ट कारखाना, स्टील कारखाना, बोइलरहरु, सेरामिक उद्योग, ईट्टा कारखाना, हट वाटर जेनरेटर, हट एयर जेनरेटर लगायतमा उपयोग हुन्छ । यो उद्योगबाट निस्कने बाईप्रोडक्टहरु ब्लाक क्याट ब्राण्डको ब्लाक कार्वन र स्टिल तारहरु अन्य उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै यो उद्योगका बाईप्रोडक्ट कालो पाउडर र स्टील तारहरु समेत अन्य उद्योगहरुको कच्चा पदार्थका रूपमा उपयोग हुन्छन् ।

रुपन्देहीमै यशोदा फूड्स प्रोडक्सनबाट उत्पादित करेन्ट चाउचाउ भारत, अमेरिका अस्ट्रेलियासहित देशमा निर्यात भइरहेको छ । पिरो र मसलेदार स्वादको करेन्ट स्वदेशसँगै विश्वका धेरै देशमा रोजाइमा परेपछि यशोदाले वार्षिक करोडौंको चाउचाउ निर्यात गर्न थालेको हो ।

‘निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा आएपछि रुपन्देही केन्द्रित ठूला लगानीका उद्योगहरू अझै बढ्ने देखिन्छ, भारतका ठूला २५ वटा शहरसहित विश्वका २० भन्दा बढी देशमा चाउचाउ निर्यात भइरहेको छ । निर्यातका लागि भैरहवा नाका सहज छ । ’ उद्योगका सञ्चालक भूमिराज पौडेलले भन्छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा अहिले ठूला उद्योग केन्द्रित छन् । जिल्लाका जुनसुकै ठाउँमा सहज र फराकिला सडकले बेलहिया नाका हुँदै मालसामान ढुवानी गर्न सहज छ ।

अर्घाखाँची, तानसेन, बालाजीलगायतका सिमेन्ट र केही छड उद्योगबाट पनि निर्यात भइरहेका छन् । सस्तो लजिस्टिक, भारतसँग निकटताको फाइदा र व्यापारिक सहजताले यस क्षेत्रमा निर्यातजन्य उद्योग स्थापनाको लहर चलेको छ । सहज नाका, उद्योगका लागि सस्तो जग्गा र लगानीमैत्री वातावरणका कारण रुपन्देहीले औद्योगिक क्षेत्रमा फड्को मार्नुका साथै निर्यातजन्य उद्योगको रोजाइमा रूपन्देही परेको छ ।

रूपन्देहीको सियारी–२ भग्दरीमा पञ्चकन्या डिमेक्सले झण्डै १ अर्ब लगानीमा यूपीभीसी झ्याल–ढोका उद्योग सञ्चालनमा ल्याएको छ । नेपालमा खपत हुने ८५ प्रतिशत भारत र चीनबाट आउने गरेकोमा अब तिनै देशमा निर्यात गर्ने लक्ष्यसहित उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगका अध्यक्ष उज्जवलकुमार श्रेष्ठले नेपाली यूपीभीसीलाई विदेशसम्म निर्यात गर्ने लक्ष्य रहेको बताए । पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस यूपीभीसी र साल ब्रान्ड झ्यालढोका उद्ययोगले उत्पादन गर्दै आएको छ ।

रुपन्देही औद्योगिक हब बन्दै गएको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली बताउँछन् । मौलिकता सुहाउँदो उपयुक्त नीति, स्थानीय कच्चा पदार्थमा आधारित पूर्वाधारको विकास, स्थानीयलाई प्राथमिकतामा राखिएको व्यापक रोजगारी, प्रतिकूल असर नपारिएको वातावरण र स्थानीय अपनत्वबीच सन्तुलन मिलाउँदै अघि बढ्ने हो भने रुपन्देही निर्यातजन्य उद्योगको केन्द्र बन्ने निश्चित रहेको उनको दाबी छ ।

उद्योगी राजेशकुमार अग्रवालले उद्योगमैत्री नीति, स्थानीयको अपनत्वसहितको व्यापक रोजगारी, स्थानीय कृषिमा आधारित कच्चा पदार्थका उद्योग, स्थानीय स्तरमा उत्पादित दक्ष जनशक्तिको खपत, पर्याप्त ऊर्जाको प्रबन्ध गर्ने हो भने यो क्षेत्रले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने निश्चित रहेको जनाएका छन् ।

मुलुककै ठूलोमध्येको श्री स्टील उद्योग र बहुराष्ट्रिय कम्पनीका हुण्डाईदेखि पेय पदार्थ पेस्पीका ठूला उद्योग यही क्षेत्रमा छन् । श्री स्टील उद्योग मुलुककै ठूलोमध्येको हो, जसमा दुई अर्बभन्दा धेरै लगानी छ भने विद्युत् खपत ३० हजार केभीएभन्दा धेरै छ ।

भैरहवाको सिद्धार्थ ग्रुपको साझेदारीमा हुलाकी सडक परिसरमा खुलेको उद्योगको दैनिक ९०० मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योगी अग्रवालको भनाइ छ । स्टिल, खाद्यान्न, प्लास्टिक, अटो पाट्र्स, निर्माण सामग्री लगायत क्षेत्रका उत्पादन गर्दै आएका छन् । यस क्षेत्रमा रहेका अधिकांश उद्योगहरू अटोमेटिक प्लान्टका छन् ।

लक्ष्मी ग्रुपले पनि २ अर्ब लगानी गरेर भैरहवामै सिद्धिलक्ष्मी स्टिल उद्योग सञ्चालनमा ल्याएको छ । यो खण्ड औद्योगिक हबका रूपमा विकसित हुँदै गएपछि भैरहवा–परासी करिडोरमा लगानीकर्ताहरू आकर्षित भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक अग्रवालको भनाइ छ । समृृद्धि गोयल स्पात, श्रीस्टील, सिद्धि लक्ष्मी, पेप्सी, हुण्डाई, मनकामना, बालाजी एग्रो, मारुति, विजय डिस्टिलरीजस्ता उद्योगहरूले करोडौंदेखि अर्बौंको लगानी गरिसकेका छन् ।

मेनुअल विधिका भए धेरैभन्दा धेरै जनशक्ति आवश्यक पर्ने हुन्थ्यो, तर अटोमेटिक हुँदा एकाध दक्ष जनशक्तिले पनि चल्न सक्ने अवस्था छ । औद्योगिक विस्तार गतिशील देखिए पनि पूर्वाधारको कमजोरी, विद्युत् र इन्धन आपूर्तिमा अस्थिरता, वातावरणीय मूल्याङ्कनको कमजोरी, उद्योग वर्गीकरणको अभाव र कर नीतिको अस्पष्टता उद्योग विस्तारमा चुनौती बनेको नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोरा बताउँछन् ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई केन्द्रित गरेर ठूलो लगानी पर्यटन उद्योगमा पनि भएको छ । तर, पर्यटन उद्योगमा गरिएको लगानीले सोचेजस्तो प्रतिफल दिन नसके पनि उत्पादनमूलक उद्योगबाट उद्योगीहरू सन्तुष्ट रहेका देखिन्छन् ।

अर्थविदहरुका अनुसार रुपन्देही औद्योगिक हबको रूपमा विकास भइसकेको छ । भारतसँगको सहज कनेक्टिभिटी रहेको, हस्पिटालिटीमा ठूलो लगानी भएको र एयरपोर्ट समेत रहेको र भैरहवा भन्सार भएर भारतसहित तेस्रो मुलुकमा हुने वैदेशिक व्यापार बढेकाले पनि लुम्बिनी रोजाइमा पर्न थालेको हो ।

अर्थक्षेत्रका जानकार तथा पूर्वमन्त्री एवम् प्रदेश सांसद विष्णु पन्थीका अनुसार अहिलेको अवस्थामा थालिएका अर्बाैंका उद्यमले सबैलाई ऊर्जा थपेको जनाएका छन् । ‘बुटवलमा भर्खरै संचालनमा आएको साढे ३ अर्ब लगानीको पाँचतारे हायात प्यालेस होटल, नेपालको पहिलो आलु चिप्स (फेन्च फ्राइ उद्योग २ अर्ब लगानीको ) जसले आफ्नो उत्पादन भर्खरै अमेरिका निकासी समेत गरेको फस्ट च्वाइस फुड्स फर्साटिकर रुपन्देही अनि भैरहवा चालन तयारीमा रहेको करिब साढे ३ अर्ब लगानीको सुबिधा सम्पन्न एड्भान्स इन्टरनेसनल हस्पिटल हाम्रा खुसी र आशा हुन्’

उनले भनेका छन्–‘यी सबै उद्यमीहरुलाई धेरै धेरै धन्यवाद, सफलताको शुभकामना । अरुले पनि खुलेर लगानी गरौं ।’
स्थानीय ज्ञानराज तिवारीले यस्ता ठूला संरचनामा निजी क्षेत्रको लगानीले धेरै खुसी ल्याएको बताउँदै अब सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर थप योजना अगाडि बढाउन जरुरी भएको बताउँछन् । व्यवसायी कमल नेपालले यो क्षेत्रकै आर्थिक राजधानी मानिएको रुपन्देहीमा थपिँदै गएको यति ठूलो लगानीले सबैतिर सकारात्मक सन्देश गएको जनाएका छन् ।

अध्यापक टीकाराम न्यौपानेका अनुसार पछिल्ला तीन ठूला उद्यम र यसअघि सुरु भएका यस्तै उद्यमले रूपन्देहीमा लगानी, उपलब्धि र आशाको नयाँ अध्याय सुरु भएको जनाएका छन् । उनले यी सबै लगानी र सफलताहरूले रूपन्देही मात्र होइन, सम्पूर्ण नेपालको आर्थिक र औद्योगिक पहिचानलाई विश्व स्तरमा उचो पारेको जनाएका छन् ।

‘भरखरै मात्र रुपन्देहीले गर्व गर्न लायक तीनवटा ठूला उपलब्धिहरू हासिल गरेको छ, साढे ३ अर्बको एड्भान्स इन्टरनेशनल हस्पिटल, साढे ३ अर्ब लगानीकै पाँचतारे हायात प्यालेस होटल, २ अर्ब लगानीमा स्थापना भएको फस्र्ट च्वाइस फुड्स, जसले उत्पादन गरेको फ्रेन्च फ्राइज पहिलो पटक अमेरिका निर्यात गरेको छ । यो उद्योगले नेपालको खाद्य उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक काम गरेको छ’ उनले भनेका छन् ।

उनका अनुसार फस्ट च्वाईले नेपालको उत्पादनलाई अमेरिकी बजारसम्म पुर्‍याउने गर्विलो उपलब्धि हासिल गराएको,
साथै एड्भान्स हस्पिटल र हायात प्यालेस होटलमा लगानीले रूपन्देहीलाई स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलिदिएको र रूपन्देही अहिले सम्भावनाको भूमिमा रूपान्तरण गरेको छ । उनले भनेका छन् –‘सबैले सहयोग, सद्भाव र सकारात्मक दृष्टिकोण राखौं । यी उद्योगमा कसैको पनि “गिद्दे दृष्टि” नपरोस्,रूपन्देही उद्योग, पर्यटन र विकासका क्षेत्रमा सधैं अगाडि बढोस् ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *