दाइजोका निहुँमा हत्या भयो भनेर बाबु प्रहरीमा, मृत घोषित छोरी अर्कै शहरमा

भारत । समाज यस्तै छ । अभिभावक पनि उस्तै छन् । हुर्केका र आधुनिक जीवनशैलीका छोरीका चाहनाअनुरुप नचल्ने अभिभावकले बेलाबेखत यस्तो परेशानी बेहोर्नुपर्छ नै । यस्तै एउटा घटना बाहिर आएको छ भारत उत्तर प्रदेशबाट ।

उत्तर प्रदेशको बान्दास्थित मार्का प्रहरी चौकीमा एक अभिभावकले छोरी बेपत्ता भएपछि ज्वाइँ र सम्धीसम्धिनीले दाइजोको लागि हत्या गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरे । ती अभिभावकको दाबी थियो, ‘छोरीलाई दुई वर्षअघि दाइजोको लागि मारिएको थियो र उनका ससुरालले नै उनको शव कतै फ्याँकेका थिए ।’

अदालतबाटै आदेश भएपछि, प्रहरीले सेप्टेम्बर २, २०२५ मा दाइजोका कारण मृत्यु या हत्या भन्ने जाहेरी दर्ता गरेर अनुसन्धान शुरु भयो । एसपी पलाश बंसलको निर्देशनमा, डीएसपी सौरभ सिंह नै मुद्दाको अनुसन्धानमा खटिए ।अनुसन्धान अगाडि बढ्दै जाँदा, एउटा अत्यन्तै चकित पार्ने तथ्य बाहिर आयो । मृत घोषित र दाइजो हत्यामा मुद्दा दायर गरिएको युवती जीवितै भेटिइन् । प्रहरीले उनलाई महाराष्ट्रबाट नियन्त्रणमा लियो ।

अनुसन्धानमा पत्ता लाग्यो कि उनी विवाहको ८ महिनापछि अर्थात् अक्टोबर २०२३ देखि चिनेका अर्का पुरुषसँग बस्दै आएकी रहिछन् । परिवार र माइती दुवैतिर यसको जानकारी थिएन । हराएको व्यक्तिको रिपोर्ट दर्ता गर्नुको सट्टा, बुबाले सिधै दाइजोमा मृत्युको मुद्दा दायर गरे। प्रहरीले महिलालाई घरबाट किन निस्किएको र कोसँग कहाँ बसेको भनेर अनुसन्धान गरिरहेको छ ।

डीएसपी सौरभ सिंहले भने, ‘छोरी बेपत्ता भएपछि अभिभावकले अदालतमा दाइजोका कारण हत्याको मुद्दा दायर गरेका थिए, व्यापक प्रमाण र अनुसन्धानपछि, मृतक भनिएकी महिला जीवितै भेटियो र अनुसन्धान गरिरहेका छौँ ।’

यता, अदालतमा दाइजोका कारण छोरीको हत्या भनेर मुद्दा दायर गर्ने अभिभावक पनि छोरी भेटिएपछि एकातिर खुशी छन् अर्कातिर हराएको छोरी खोज्नुको सट्टा सिधै अदालत जाने भनेर छरछिमेकमा आलोचित छन् । समाचारमा प्रयुक्त तस्बिर एआइ जेनेरेटेड हो । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *