
काठमाडौं । जेनजी विद्रोहपछि सबैभन्दा पहिले नेतृत्व परिवर्तनको बहस उचालेको नेपाली कांग्रेस महाधिवेशनको मितिमा पुगेर रुमल्लिएको छ। सभापति शेरबहादुर देउवाले स्वास्थ्य समस्या देखाएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपनि अहिलेसम्म कांग्रेसको महाधिवेशनको मिति तोक्न सकेको छैन।
देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरमा सकिँदै छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कुनै पनि हालतमा कार्यसमितिको कार्यकाल नथप्ने पक्षमा छन्। महामन्त्री थापाले पुस १६ देखि १९ सम्म गर्ने गरी केन्द्रीय समिति बैठकमा कार्यतालिका पेस गरेका छन्। यो प्रस्तावमा इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि पूर्ण समर्थन छ। तर संस्थापन पक्ष भने कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने लाइनमा देखिएको छ।
महाधिवेशनबारे कुरा टुङ्ग्याउन नसक्दा असोज २८ बाट सुरु भएको कांग्रेस बैठकको केन्द्रीय समिति बैठक अझै टुंगिन नसकेको छैन। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब अर्को बैठक मंगलबार बस्नेछ। बैठकमा नेताहरूको बोल्ने क्रम अझै नसकिएकाले केही दिन लम्बिने निश्चित छ। मंगलबारको बैठकमा महामन्त्री थापाले अघि सारेको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्मको प्रस्ताव पेस गरेका थिए।
तर शुक्रबारको बैठकमा फेरि दुई मिति प्रस्ताव भएको छ। केन्द्रीय सदस्य किरण राज शर्मा पौड्यालले फागुन २१ को चुनावपछि वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्। अर्का केन्द्रीय सदस्य मधु आचार्यले भने आगामी मंसिर २४ गते मंगलादेवीको जन्म जयन्तीको अवसर पारेर विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्। कांग्रेसका अधिकांश नेताहरू विशेष भन्दापनि नियमित महाधिवेशनको पक्षमा छन्।
उनीहरूले विशेष महाधिवेशन पक्षधरको मागलाई समेत सम्बोधन गर्ने गरी नियमित महाधिवेशनको मिति तोक्न दबाब बढाइरहेका छन्। पार्टीभित्र अधिकांश नेताहरू चुनावअघि नै महाधिवेशन गरेर नेतृत्व परिवर्तनको पक्षमा उभिएकाले महामन्त्री थापाले पार्टीमा दबाब बढाउँदै लगाएका छन्। देउवा प्यानलबाट जितेका पदाधिकारीहरू समेत थापाको प्रस्तावको पक्षमा खुलेका छन्। महामन्त्री थापाले पार्टीमा दबाब बढाउँदै जाँदा कार्यवाहक सभापति खड्का भने अफ्ठेरोमा परेका छन्।
कांग्रेसभित्रको महाधिवेशनको मितिभित्र लुकेको रहस्य, आगामी चुनावमा टिकट कसले बाँड्ने भन्ने नै हो। संस्थापन पक्ष आगामी निर्वाचनमा आफूनिकट नेताहरूलाई टिकट बाँडेर नेतृत्व छाड्न मनस्थितिमा छ। तर, महामन्त्री थापासहित इतर पक्ष यही परिस्थितिमा चुनावमा जानै नसक्ने पक्षमा छन्। महाधिवेशन गराउने महामन्त्री थापाको प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू फरमुल्ला मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे र जीवन परियार खुलेका छन्।
सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। चुनावपछि महाधिवेशन गर्ने पक्षमा संस्थापन पक्षका सहमहामन्त्रीहरू उमाकान्त चौधरी, डिना उपाध्यक्ष, किशोरसिंह राठौर, महेन्द्र यादव र कोषाध्यक्ष उमेश श्रेष्ठ मात्रै देखिएका छन्।
चर्किँदै विवाद
कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीको महाधिवेशन सम्पन्न नगरी संसदीय चुनावमा जान नहुने बताइन्।
उनले भनिन्, ‘महाधिवेशनपछि मात्र चुनावमा जाने निर्णयले पार्टीभित्र जनादेश नयाँ नेतृत्वसँग हुनेछ भन्ने सन्देश दिन्छ। चार वर्षे कार्यकाल यही मंसिरमा समाप्त हुँदै छ। त्यसैले २०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न गरी नयाँ जनादेश लिएर मात्र देशको जनादेश लिन चुनावी मैदानमा जानुपर्छ।’
महामन्त्री थापाले गरेको प्रस्ताव अनुसार नियमित महाधिवेशन नभए पुस २९ भित्र विशेष गर्नुपर्ने बताइन्।
उनले थपिन्, ‘केन्द्रीय समितिले विधानको दफा १७ (२) अनुसार २४८८ हस्ताक्षरकर्ताहरूले दर्ता गरेको विशेष महाधिवेशनको प्रस्तावमा स्पष्ट निर्णय गर्नुपर्छ। त्यसैसँगै महाधिवेशन सम्पन्न गरेर मात्र संसदीय चुनावमा जाने नीति औपचारिक रूपमा घोषणा गर्नुपर्छ। यही बाटोले कांग्रेसलाई पुनः जनताको मनको पार्टी बनाउनेछ, यही बाटोले लोकतन्त्रलाई जोगाउनेछ।’
अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि ११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरेको भन्दै अहिले पनि चुनावअघि गर्न सकिने तर्क गर्छन्।
उनले भने, ‘कांग्रेसको नियमित अधिवेशन नै हामी सबैको माग हो। एघारौँ महाधिवेशन, मात्र ४० दिनको तयारीमा सुम्पन्न भएको हामीकहाँ उदाहरण छ भने असाधारण परिस्थितिमा महाधिवेशन हुन सक्दैन भन्ने बहाना निरर्थक छ।’
अर्का केन्द्रीय सदस्य उदय शम्शेर राणाले विशेष महाधिवेशन गर्दा पार्टी फुट्नसक्ने बताउँछन्। उनले बैठकमा धारणा राख्दै पार्टी फुट्ने सम्भावना भएकाले विशेष महाधिवेशनको पक्षमा जानै नहुने गरे।
तर, कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग्दै असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेकाले खड्का दोहोरो चेपुवामा परेका छन्। तर, प्रवक्ता डा. प्रकाशशरण महत समयको हिसाबले पनि चुनावअघि महाधिवेशन गर्न सम्भव नहुने बताउँछन्।
उनले भने, ‘फागुनमा चुनाव हुने भनिएको छ। त्यसैले त्यसअघि विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेमै बहस गर्न आवश्यक छैन। चुनावपछि महाधिवेशन गर्दा उपयुक्त हुन्छ भन्ने बैठकमा सुझाव आएका छन्।’
यद्यपि, अघि नै गर्नुपर्छ भन्ने मत पनि आएको सुनाए। चुनावको मुखमा महाधिवेशन गर्दा नतिजा बिग्रनसक्ने उनको बुझाइ छ।
अर्का केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी असोज २९ गते दर्ता भएको प्रस्ताव अनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता हुँदाहुँदै पनि त्यसलाई नजरअन्दाज गर्न नमिल्ने बताउँछन्।
उनले भने, ‘हस्ताक्षरकर्ताहरूलाई अपमान गर्दै महाधिवेशन नै चुनावपछि वैशाखतिर सार्ने प्रस्ताव गर्छौ भने यो भन्दा भद्दा मजाक के हुन्छरु कहिले महाधिवेशन प्रतिनिधिहरूको म्याद सकियो भन्दिएको छ। कहिले ५४ प्रतिशत भनेका न हुन सनाखत हुँदा आधा पनि हुँदैन भनेको छ। मिलाउने भन्दा पनि थप ध्रुवीकृत गरेको छ। तपाईँहरू विधान मान्नुहुन्छ भने मंसिरभित्र महाधिवेशन गर्न तयार हुनुस्।’
विधानले बाध्य बनाउने विशेष महाधिवेशन कसैले रोक्न नसक्ने उनको चेतावनी छ।
गगन निकट रहेका नेता सिवाकोटीले भने, ‘तपाईँहरूले कार्यसमितिमा रहेको बहुमतको बलमा रोक्नुभयो भने पनि हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनको प्रक्रियामा गए भने त्यो अवस्थामा के हुन्छ सोच्नुभएको छरु चुनाव अघि नियमित महाधिवेशन नगर्ने विशेषको पक्षमा निर्णय नगर्ने विषयलाई प्रतिष्ठाको लडाइँ बनाएर के गर्न खोजेको ?’
मध्यमार्गी शेखर
पार्टीभित्र महाधिवेशनको मितिबारे विवाद चर्किँदा इतर पक्षका नेता भने मध्यमार्गी देखिएका छन्। केन्द्रीय सदस्य गोविन्दराज पोखरेल नेता कोइराला पुसभित्र नियमित महाधिवेशन गर्ने पक्षमा रहेको बताए।
उनले भने, ‘विशेष महाधिवेशनको माग भइसकेको छ, नियमित महाधिवेशन गरिएन भने विशेष महाधिवेशन पार्टीले बाध्यताले गर्नुपर्छ। पार्टीलाई आयोजना गरेन भने पार्टी फुट्ने डर हुन्छ। त्यसको विकल्प छैन।’
उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको लागि सबै शीर्ष नेताहरूसँग नेता कोइरालाले संवाद गर्ने बताए।
हिजो आफूनिकटका नेताहरूसँगको भेटमा पनि कोइरालाले भनेका थिए, ‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ । २०८२ पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ ।’
उनले आफूले पार्टीमा एकता चाहेको भन्दै गुट, उपगुट र फुटको अन्त्य गर्न चाहेको पनि बताए।

Leave a Reply