
रुपन्देही । रुपन्देहीको देव दह शितलनगरमा निम्न वर्गीय परिवारमा जन्मिएका ३७ वर्षीय मोहन ठाकुरको बाल्यकाल सामान्य थिएन । पुर्ख्यौली पेशा बाली घरे हजाम, बुबा राम विनोद ठाकुर र हजुरबा गोली ठाकुर गाउँका घरघर पुगेर दाह्री र कपाल काटिदिने, वर्षको अन्त्यमा ज्यालास्वरुप अन्नबाली लिएर गुजारा गर्ने जीवनशैली ।
मोहन पनि सानैदेखि बुबाको सघाउ गर्थे,काखमा क्यान्ची, काँधमा टिनको बाकस, अनि गाउँका मान्छेहरूसँग दाह्री कपाल काट्दै ठूलो हुँदै गएका ती बालकको जीवनको मोड भने १२ कक्षा पढ्दा नै परिवर्तनतर्फ मोडियो ।
सानैदेखि संघर्ष गरेका उनी पेशागत र शैक्षिक सन्तुलन मिलाउँदै बिहान र बेलुकी बुबासँग टङ्की (काठको सानो घर) मा बसेर काम गर्थे र दिउँसो बुटवलको अक्सफोर्ड कलेजमा पढ्न जान्थे । उनको यो मेहनतप्रति समकक्षीहरू आश्चर्यमा पर्थे । उनका बुबाको सपना भने अर्कै थियो, यो पेशामा भविष्य छैन, सरकारी जागिर खानुपर्छ नभए मान्छेले हेप्छ । बुबाको यही चेतावनी मोहनका मनमा गडेर बसेको थियो ।
तर स्नातकसम्मको अध्ययन र त्यसपछि जीवनका भोगाई र अनुभवले उनलाई बुबाको भनाइको उल्टो दिशामा अघि बढ्ने हिम्मत दिलायो ।
मोहनले बुटवल बहुमुखी क्याम्पसबाट मानविकी सङ्कायमा स्नातक तह सकेपछि गैरसरकारी संस्थामा काम सुरु गरे । यहाँ उनले अधिकृत तहमा काम गर्दा आफ्नो अब आफ्नो दीर्घकालीन पेशामा समय खर्च नसके स्थापित हुन सकिन्छ र जागिरले मात्रै मान्छेलाई यथास्थितिमा राख्छ भन्ने पूर्ण अनुभव गरे ।
‘विभिन्न स्वास्थ्य र सीप रोजगारी सम्बन्धी परियोजनामा संलग्न रहँदा मैले बुझ्न थालेँ, सीप नै कमाइको आधार हो । दुई वर्षको जागिरले मलाईलाई आत्मविश्वासी बनायो । परम्परागत सिपलाई रूपान्तरण गरेर नयाँपनसहित बजारमा ल्याउन सकेँ, हजाम पेशा पनि फेसन बन्न सक्छ भन्ने मलाई विश्वास लाग्यो र यसलाई अँगालेको हुँ,– उनले भने ।
यही सोचले उनलाई अहिलेको अवस्थामा पुर्याउने निर्णयतर्फ डोर्याएको हो । अधिकृत तहको जागिर छाडेर उनले सैलुन व्यवसाय सुरु गर्ने सङ्कल्प गरे । तर उनको यो निर्णयमा घरबाट साथ पाएनन् । बुबा रिसाए, कपाल काट्नु नै छ भने किन यति धेरै खर्चेर पढेको ? परिवारको नाम खराब गर्छस् भनेर बुवाले सम्झाएको अझै उनलाई झलझली छ । मोहनले सम्झिन्छन्, घरमा यति विरोध भयो कि कुरा गर्न नै छाडियो । बैंकबाट कर्जा लिन बुबाको नाममा रहेको जग्गा धितो राख्न खोजेँ, अनुमति पनि पाएन ।
यति हुँदा पनि उनले हार मानेनन् । साथीभाइसँग सापटी मागेर २०७३ सालमा बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा ३६५ वर्ग फुटको कोठा भाडामा लिए । गुगल सर्च, काठमाडौं, दिल्ली र बैंककसम्म पुगेर हेयर डिजाइन र एड्भान्स कोर्स सके । त्यो समयमा दश लाख लगानीमा उनले सुरु गरे अहिलेको परिचित नील डेभिड युनिसेक्स सैलुन ।
त्यो बेला बुटवलमा वातानुकूलित कोठा, सफा तौलिया, औजारको स्टेरिलाइजेसन, र महिलामात्र होइन पुरुषका लागि पनि समान सुविधा भएको सैलुन कतै भेटिने थिएन । परम्परागत मुढा–ब्लेड–कैंचीको संस्कारबाट मोहनले आधुनिकताको परिभाषा सुरु गरेको र पुरानो सीपलाई व्यवसायिकता दिएको उनको भनाइ छ ।

सुरुमा धेरैले उपहास गरे, तीन सय रुपैयाँमा कपाल काट्ने ? चल्दैन यो पसल । तर बुटवलका युवा पुस्ताले सेवा र सन्तुष्टिको मूल्य बुझ्न थाले । गुणस्तरीय सेवा दिनसके, दरले फरक पार्दैन, मोहन भन्छन्, हामीले हाइजिन, सुविधा, र व्यक्तिगत सल्लाहलाई प्राथमिकता दियौं ।
सैलुनमा पहिलो पटक ग्राहकका लागि हेयर–स्टाइल काउन्सिलिंग सुरु गरियो । हेयर कटपछि टाउको धुने व्यवस्था, हाइजिनयुक्त टावेल, आधुनिक साबुन र हेयर प्रडक्टको प्रयोगले ग्राहकहरू अचम्मित भए । व्यस्त पेशाकर्मीहरुका लागि कट र गो सर्भिसले बुटवलमा नयाँ लहर ल्यायो ।
६ महिनापछि उनले महिलाका लागि हेयर टिस्टमेन्ट, कलरिंग, स्टेस्टनिंग र फेसियलको सेवा थपे । बुटवल मात्र होइन, भैरहवा, कपिलवस्तु, दांग, नवलपरासी र नेपालगञ्जबाट पनि ग्राहक आउन थाले । सैलुनमा भीड बढ्दै गयो । ठाउँ सानो भयो, विस्तार गर्नुपर्यो ।
तीन वर्षपछि उनले नील डेभिडको फ्रेन्चाइजी छोडेर आफ्नै ब्राण्ड समृद्धि हेयर ड्रेसिङ सैलुन स्थापना गरे । अहिले बुटवलमा मात्रै होइन, तिलोत्तमाको मणिग्राम, नवलपरासीको बर्दघाट, पोखरा र कपिलवस्तुको जितपुरमा समृद्धिको शाखा सञ्चालनमा छन् । बुटवलमा अर्को एकेडेमी पनि सञ्चालनमा ल्याएका छन् । २२ सय वर्ग फुटमा फैलिएको मुख्य शाखा अहिले बुटवलको हेयर हवको रुपमा परिचित छ । अहिले उनीसँगबाट करिब १५ सयभन्दा बढीले यो सीप सिकिसकेका छन् ।
सात वर्षमा उनले १० लाख लगानीलाई बढाउँदै तीन करोडसम्म पुराएका छन् । अहिले पनि सैलुनमा ५० भन्दा बढी युवायुवतीलाई रोजगारी दिएका छन् । उनले खोलेको समृद्धि एकेडेमीबाट १५ दिनदेखि ६ महिनासम्मका तालिम चल्छ र हेयर केमिकल, स्किन, नेल, मेकअप, हाइड्रा फेसियलदेखि आधुनिक हेयर डिजाइनसम्मका तालिमहरू त्यहाँ उपलब्ध हुन्छन् ।
उनका सैलुनका ग्राहकहरू आफ्नै रुचिका आउँछन् । काठमाडौं, विराटनगर, धरान, पोखरा, यहाँसम्मका ग्राहक पनि यहाँ आउँदा उनलाई निकै खुसी बनाएको छ । वार्षिक १३ हजार ग्राहकमध्ये ८० प्रतिशत महिला रहेको उनको भनाइ छ । मोहन भन्छन्, पहिले सौन्दर्य अनुहारमा सीमित थियो । हामीले देखायौँ,कपाल पनि सौन्दर्यकै हिस्सा हो ।
उनका अनुसार, विदेशमा हेयर सर्भिस महँगो हुने भएकाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू पनि बिदामा घर फर्किँदा समृद्धिमा सेवा लिन आउँछन् । हिजो लाज मानिने पेशा आज स्वभाविमानको पेशा बनाएको छु, उनले भने । पहिले उनलाई कपाल काट्ने केटा भनेर बोलाउने साथीभाइहरू, गाउँले आफन्तहरू अहिले उनीसँग व्यावसायिक सल्लाह लिन आउँछन् । उनका बुबा, जसले कहिल्यै यो पेशामा भविष्य छैन भनेका थिए, अहिले सैलुनको प्रगति देखेर गर्व गर्छन् । मोहन भन्छन्, परिवारलाई सैलुनको आम्दानी देखेपछि अचम्म लाग्यो । अहिले उनीहरू नै सबैभन्दा ठूलो प्रोत्साहन छन् ।

उनले निकट भविष्यमा दुबई र काठमाडौंमा शाखा विस्तार गर्ने योजना बनाएको बताउँछन् । सैलुनमा आउने नियमित ग्राहकले परम्परागत कामलाई नयाँ तरिकाले गर्दा व्यावसायिक हिसाबले कति सफल हुन सकिन्छ भन्ने उदाहरण यो भएको बताउँछन् । उनीहरूले स्नातक पढेको युवाले लाखौँ लगानी गरेर सैलुनमा रोजगारी सिर्जना गर्नु गर्वको कुरा भएको जनाएका छन् ।
काठमाडौँबाहिर सैलुन पेशाको परिभाषा बदल्ने काम समृद्धिले गरेको र सैलुनमा क्रान्ति नै आएको युवाहरूको भनाइ छ । अहिले मोहनका पदचाप पछ्याउँदै रुपन्देही, कपिलवस्तु, नवलपरासीका धेरै ठाकुर समुदायका युवाले विदेश जान छाडेर आफ्नै सैलुन खोलिरहेका छन् । धेरैले त यहाँ केही दिन काम सिकेर त्यो क्षेत्रमा थालेका छन् । पहिले बालिघरे भनेर हेला गर्नेहरु अहिले हेयर डिजाइनर भनेर स्वीकार गर्ने वातावरण बनाएकोमा मोहनले आफूलाई गर्व लागेको बताउँछन् ।
उनी भन्छन्, अब गुनासो होइन, गुणस्तर चाहियो । परिश्रमले जुनसुकै पेशा सम्मानित बनाउन सक्छ । स्नातक पढेका शिक्षित युवाहरूले पनि नेपालमा सम्भावना छैन भन्दै विदेश ताक्ने प्रवृत्तिका माझ मोहनले देखाएको आत्मनिर्भरता र नवप्रवर्तनको बाटोले आफूहरूलाई हौसाएको यहाँ सिकेका प्रशिक्षार्थीहरूको भनाई छ ।
समृद्धि एकेडेमीका सयौँ प्रशिक्षार्थीहरू अहिले देशभित्र र बाहिर रोजगारीमा छन् । उनका एकेडेमीका तालिम लिएर बेलायत, स्पेन, क्यानडा, फिनल्यान्ड पुगेका युवा राम्रो आम्दानी गरिरहेका छन् । अहिले एकेडेमीमा झण्डै सय जना युवा आधुनिक तरिकाले यो सिप सिकिरहेका छन् ।
मोहनको अबको योजना भने अझ ठूलो छ । नेपालमा हेयर ड्रेसिङ सम्बन्धी औपचारिक शिक्षा छैन । विदेशमा यो विषयमा विश्वविद्यालय तहसम्म पढाइ हुन्छ । अब हामीले पनि यो सीपलाई शैक्षिक स्तरमा लैजानुपर्छ, उनी भन्छन् ।
उनले सीटीइभिटीसँग सम्बन्धन लिएर प्रमाणपत्रसहितको सीपमूलक शिक्षण संस्था सञ्चालन गर्ने तयारी गरिरहेका छन् । त्यसपछि नेपालका युवाले नै दक्षता हासिल गरेर सैलुन व्यवसायमा भारतीयहरूलाई विस्थापित गर्न सक्ने उनको विश्वास छ ।जुन समाजले पहिले हेला गर्थ्यो, अब त्यही समाजले सैलुन व्यवसायलाई सम्मानका साथ हेर्न थालेको छ, उनी भन्छन् ।
मोहन ठाकुरले आफ्नो यात्रा केवल व्यक्तिगत सफलता होइन, सामाजिक चेतनाको रूपान्तरण भएको जनाएका छन् । बुबाको टिनको बाकसदेखि सुरु भएको यात्रा आज करोडौँको लगानी, पाँच शाखा, एकेडेमी र सयौँ युवाको रोजगारीमा परिणत भएपछि सबैतिरबाट सम्मान पाएका छन् ।
उनले प्रमाणित गरेका छन्, सीप, लगन र दृष्टिकोण भए नेपालमै समृद्धि सम्भव छ । रुपन्देहीको शितलनगरका ती मोहन अहिले केवल हेयर डिजाइनर होइनन्, हजाम पेशालाई सम्मानित व्यवसाय बनाउने अभियन्ता बनेका छन् ।

Leave a Reply