
काठमाडौं । बबरमहलस्थित सूचना प्रविधि विभागमा शुक्रबार दिउँसो ३ बजे नेपाल प्रेसकर्मी पुग्दा जेनजी कर्णालीको बैठक चलिरहेको थियो । कर्णालीका जेन-जी युवाहरू संयोजक छान्न छलफलल गरिरहेका थिए ।
सामान्यतया कुनै पनि सरकारी कार्यालयमा राजनीतिक दल वा गैरसरकारी निकायको बैठक, भेला गर्न पाइँदैन र दिइँदैन । तर, विभागको हलभित्र जेन-जीको बैठक मात्र बसिरहेको थिएन, चिया र खाजाको व्यवस्था पनि विभागले नै गरेको थियो ।
हामीले फोटो खिच्न थालेपछि बैठकमा सहभागीहरूले ‘यहाँ प्रेसलाई अलाउड छैन’ भन्दै बाहिर जान भने । बैठकको पहलकर्ताबारे प्रश्न गर्न खोज्दा उनीहरूले ‘हामी केही भन्दैनौँ, तपाईँहरू निस्किनुस्’ भन्ने जवाफ दिए ।
फोटो खिच्नुअघि उनीहरू आपसमा गफिँदै थिए । एकजनाले भन्दै थिए, ‘१२ बजे बोलाएको, अहिलेसम्म ६ जनामात्रै पुगियो ।’ उनीहरू कर्णाली जेनजीको संयोजक चयन गर्नेबारे विभिन्न नाममाथि छलफल गरिरहँदा नेपाल प्रेसको टीम त्यहाँ पुगेको हो ।

यस्तो दृश्य देखेपछि नेपाल प्रेसले विभागकी प्रशासन प्रमुख विष्णुमाया पौडेलसँग सोध्यो, ‘सरकारी कार्यालयमा राजनीतिक दल वा बाहिरी व्यक्तिहरूको बैठक, भेला बस्न दिइन्छ र ?’ उनले भनिन्, ‘सिस्टम त त्यस्तो होइन, योचाहिँ मन्त्रालयले कोअर्डिनेट गरेको हो ।’
कर्णाली जेन-जीहरू पहिला सञ्चार मन्त्रालयमै बैठक बस्छौँ भन्दै पुगेको उनले बताइन् ।
‘मन्त्रालयमै बस्न खोज्नुभएको रहेछ, त्यहाँ बिजी भएको हुनाले मन्त्रीज्यूको सचिवालयबाट हामीलाई कुरा गर्नुभयो’, उनले भनिन्, ‘अरुलाई त्यसरी सीधै हल दिने गरेको थिएन, मन्त्रीज्यूकै सचिवालयबाट कोअर्डिनेट भएपछि हामीले दिएका हौँ ।’
शुक्रबारअघि कार्यालय प्रयोजनबाहेक कसैले पनि उक्त बैठक कक्ष प्रयोग नगरेको भन्दै प्रशासन प्रमुख पौडेलले भनिन्, ‘आजमात्रै हो, पहिला भएको थिएन ।’
मन्त्री खरेलको स्वकीय सचिवालयका एक कर्मचारीका अनुसार बिहानै मन्त्रालयमा ‘कर्णाली जेन-जीको डेलिगेसन’ भन्दै एउटा टोली पुगेको थियो । मन्त्री आएपछि टोलीले मन्त्रालयकै हलमा बैठक बस्न माग गर्यो । तर, मन्त्रालयमा बैठक बस्दा विवाद हुन सक्ने भएकाले मन्त्रीले नै विभागतिर मिलाउन भनेको ती कर्मचारीको भनाइ छ ।
‘मन्त्रीज्यूले सूचना प्रविधि विभागमा मिलाउन भन्नुभएर हामीले त्यहाँ पठाएका हौँ’, ती कर्मचारीले भने ।

Leave a Reply