
काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीको अभियोगमा २०८१ वैशाख ६ गते डिफ्युजन नोटिस जारी गरेका जीवन चलाउने अमेरिकामा व्यापार गरिरहेको पाइएको छ । उनी क्यालिफोर्निया राज्यको स्यानहुजेमा बसोबास गरिरहेको अमेरिकास्थित भरपर्दो स्रोतले बतायो ।
स्रोतका अनुसार उनले त्यहाँ विभिन्न रेस्टुरेन्टमा लगानी गरेका छन् । उनी नेपाली समुदायले अमेरिकामा गर्ने विभिन्न कार्यक्रममा ‘मनकारी दाता’का रुपमा प्रकट हुने गरेको पाइएको छ ।
चलाउने करिब ११ महिनाअघि २०२४ डिसेम्बर २१ तारिख शनिबार भएको नेपाली फिल्म अवार्ड कार्यक्रममा ‘प्लटिनम स्पोन्सर’ थिए । रिचमन्ड मेमोरियल अडोरियममा भएको ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ मा उनी ‘प्लटिनम स्पोन्सर’ भएको भिडियो र तस्बिरसहित आयोजकले उनीप्रति आभार प्रकट गरेको छ ।
भिडियो अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छ । उनी करिब १४ महिनादेखि अमेरिकाको नेपाली समुदायमा प्रतिष्ठित व्यापारिक घरानाका रुपमा परिचित र सक्रिय छन् । जबकि उनलाई प्रहरीको सिआइबीले डिफ्युजन नोटिस जारी गरेको भने १८ महिना नाघेको छ । उनलाई त्यहाँ विभिन्न नेपाली समुदायको पनि साथ छ ।
चलाउने नेपालमा सुन तस्करी प्रकरणका फरार अभियुक्त हुन् । ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा चलाउने जोडिएपछि डिफ्युजन नोटिस जारी भएको हो । चलाउनेको सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको थियो ।
सिआइबीको अनुसन्धानमा चलाउने संलग्न समूहले अरु ३ सय २ किलो सुन तस्करी गरिसकेको देखिएको थियो । दावा र जीवनसहित २९ जना प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा मुद्दा चलाइएको छ ।
सुन तस्कर चिनियाँ नागरिकसँग सम्बन्ध देखिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासमेत यतिखेर पुर्पक्षमा छन् । यता, नेपालमा चलाउनेका विभिन्न कम्पनीमा लगानी गरेका बैंकहरूको १ अर्ब रुपैयाँ भन्दा बढी रकम जोखिममा परेको छ । चलाउने आवद्ध मस्टा ग्रुप अफ कम्पनीमा १ अर्ब रुपैयाँ भन्दा बढी कर्जा बैंकहरुले दिएका छन् । चलाउनेले नेपालमा मस्टा ग्रुपका नाममा खाद्यान्न व्यवसाय गर्दथे । कुनैबेला यो कम्पनी सेनालाई खाद्यान्न उपलब्ध गराउने ठेक्का पाउने कम्पनी थियो ।
चलाउनेको बयान- श्याम ज्ञवालीले आईजीपी बन्न २ करोड मागे, सुन काण्डमा मलाई यसरी फसाइयो (अडिओ/भिडिओ)
मस्टा ग्रुपले प्रभु बैंकलाई ४६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकलाई ३२ करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ । हिमालयन बैंकलाई पनि चलाउनेले २० करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । ब्याज हिसाब गर्दा १ अर्ब रुपैयाँ भन्दा बढी रकम चलाएर चलाउने भने अमेरिकाको क्यालिफोर्नियामा शानको जिन्दगी बिताइरहेका छन् ।चलाउनेलाई २०८० भदौ २० गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट फोन आएपछि मुद्दा शाखामा गई सिसी क्यामेरासहित राखेको ठाउँमा चार घण्टा बयान दिएका थिए । त्यसयता उनी सम्पर्कविहीन हुँदै अमेरिका भासिएर व्यापारमा संलग्न भएका हुन् ।
ठमेलस्थित भियना होटलका सञ्चालक तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि चलाउने पनि सुन प्रकरणमा जोडिएका हुन् ।
चलाउने प्रहरीको उच्च निगरानीमा रहेको सिआईबी प्रमुख एआईजी डा.मनोजकुमार केसीले बताए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर भएको र अन्य कसुर अनुसन्धानमै रहेको केसीको भनाइ छ । उनी हाल बसोबास गरिरहेको ठेगानाका आधारमा इन्टरपोलमार्फत झिकाउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

Leave a Reply