
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनका लागि दुई वटा २ कार्यतालिका प्रस्ताव भएका छन् । जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले राखेको प्रस्तावको काउन्टर दिँदै संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले प्रस्ताव राखेका हुन् ।
महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्नुपर्छ भन्दै पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखे । उनले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, १० देखि २० गते सम्म क्रियाशील छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने प्रस्ताव राखे ।
यस्तै, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । तर, संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगरी यही कार्यसमितिको कार्यकाल थप्ने पक्षमा छ ।
यो कार्यसमितिको कार्यकाल मंसिरबाट सकिँदै छ। संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादव मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने गरी प्रस्ताव राखे ।
त्यसपछि चुनावमा केन्द्रित हुनुपर्ने भन्दै चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने उनको प्रस्ताव छ ।
अहिले दुई कार्यतालिका आएपछि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अडान छ। उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेका छन्।

Leave a Reply