ज्योतिको स्टाटसमा १६ मिनेटमै एलिनाको जवाफ- तपाईँजस्तो इमानदार, साहसी र बुद्धिमान नारी जन्मिएकै छैन

काठमाडौं । केही दिनयता गायिका एलिना चौहान र फ्लाइ नेपाः ट्राभल्सका संचालक विनोद अधिकारीबीचको विवाद चर्चामा छ । विनोदले आफूलाई गाली गलौज र अपमान गरेको तथा आर्थिक शोषण गरेको एलिनाको आरोप छ भने अन्याय भएको भए कानुनी प्रक्रियामा जान विनोदको एलिनालाई सुझाव छ ।

अब एलिना-विनोदको लफडामा गायिका ज्योति मगर पनि मिसिएकी छन् । मगरले घरेलु हिंसा विरुद्ध एलिनालाई साथ दिए पनि सबै लफडामा साथ दिन नसकिने बताएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै लभ परेको, ब्रेकअप भएको, साउन्ड सिस्टम झूर भएको, आयोजक खत्तम भएको आदि इत्यादि लफडामा आफूहरू बोल्न जरुरी नभएको बताएकी छन् । साथै आफूमाथि गलत नजर राख्ने आयोजकलाई पुलिस बोलाएर थुनाएको बताउँदै मिडियाबाजी नगर्न सुझाव दिएकी छन् ।

ज्योतिको सुझावलगत्तै एलिनाले पनि ज्योतिलाई जवाफ फर्काएकी छन् ।

उनले ज्योतिप्रति कटाक्ष गर्दै लेखेकी छन्, ‘ए, त्यो ज्योति दिदीलाई मेरो कुरा जोडेर कसैले केही नलेख्नुस् है । उहाँ जस्ती इमानदार, साहसी, समझदार र बुद्धिमान नारी अरु जन्मिएकै छैनन् ।’

एलिना घरेलु हिंसामा परेको खबर सबैभन्दा पहिले ज्योतिले सार्वजनिक गरेकी थिइन् । तर, एलिनाको नाम लिएकी थिइनन् । तै पनि ज्योतिले सार्वजनिक गरेपछि एलिनाको घरेलु हिंसाको घटना सार्वजनिक भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *