स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्न ‘नास आइटी एक्सपो २०२५’ हुँदै

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले एक्स्पोको आयोजना गर्ने भएको छ । नास आईटीले यही कात्तिक २१ र २२ गते ‘नास आइटी एक्सपो २०२५’ आयोजना गर्ने भएको हो ।

नास आइटीका अध्यक्ष गौरव पाण्डेका अनुसार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आइटी सफ्टवेयर प्रडक्ट र सेवाहरू प्रदर्शनीमा राखिनेछ । स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आइटी एक्सपो गर्न लागेको अध्यक्ष पाण्डेले बताए ।

एक्स्पो आयोजना गर्नुको उद्देश्यबारे प्रष्ट पार्दै आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘एक्सपोले नेपालको आइटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ ।’

नास आइटीका उपाध्यक्ष दिपेन चापागाईँले एक्स्पोका लागि आइटी र व्यवसायिक प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । समुदायबाट आएको सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ ।

नास आइटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जस अनुसार टिगद्वारा प्रस्तुत नास आइटी एक्सपो २०२५ को नामबाट एक्सपो सञ्चालन हुनेछ । परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यावसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ ।

एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइएको छ । एक्सपोमा ३० बढी आइटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहने छ । एक्सपो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको छ ।

नास आइटी एक्स्पो ५ केवल एक प्रदर्शनी नभएर नेपालका आइटी प्रतिभा र व्यावसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताइन् ।

कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्नेछन् । दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वल्र्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *