एनजीओ-आईएनजीओमा जोडिएकाले रक्षा बमलाई मन्त्री बन्न रोकेको सुधन गुरुङको दाबी (अडिओ)

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेन-जी अभियन्ता रक्षा बमलाई मन्त्री बन्नबाट आफूले रोकेको दाबी हामी नेपालका संस्थापक सुधन गुरुङले गरेका छन् । बमको नाम एनजीओ-आईएनजीओमा जोडिएकाले आफूले मन्त्री बन्न रोकेको उनको भनाइ छ ।

गुरुङसहितको फोन सम्वादको अडिओ नेपाल प्रेसलाई प्राप्त भएको छ, जसमा उनले रक्षा बमलाई रोक्नुपर्नाको कारण बताएका छन् । स्रोतका अनुसार रानीबारीस्थित ‘हामी नेपाल’ को कार्यालयमै यो अडिओ रेकर्ड गरिएको हो । त्यसबखत कार्यालयमा गुरुङसहित अफ्साना बानु, गुन्जन शाह, खेमराज साउद, जेम्स कार्की लगायत थिए । गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीलाई फोनमै थर्काएका छन् ।

हामीलाई प्राप्त अडिओमा भएको संवाद यस्तो छ :

सुधन गुरुङ : (फोनमा कसैसँग बोल्दै ) मैले कसरी रोकेँ ? रोक्ने म हो ? सबै केटाहरूले भनेपछि त्यही अनुसारले जानुपर्थ्यो कि पर्थेन ? सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने हो भने सबै केटाहरूलाई सोध्नुपर्थ्यो कि पर्थेन ? सुदूरपश्चिमबाट के गर्ने भनेर जेन-जीहरूलाई सोध्नुपर्छ कि पर्दैन ? अनि मैले रोकेँ भनेर कसरी भन्यौ तिमीले ? रक्षा बम हुनु हुँदैन भनेर हामीले भनेका छौँ । सोध्नुपर्‍यो नि यार… बच्चाहरू छन्, सुदूरपश्चिमको यत्रो ग्याङ छ । टीम छ । टीम लिडर भएर आएको छ सुदूरपश्चिमदेखि । काठमाडौंमा बसेर सुदूरपश्चिमको कुरा गरेर भएन भाइ यो ।’

ग्रुपमा रहेका जेन-जीहरू हल्लाखल्ला गर्छन् :

त्यो मान्छेलाई थुक्छौं दाइ अब । सुदूरपश्चिमको घाइते र शहीद परिवार…

– त्यसलाई हान्ने हो, धिरज भन्ने को हो ?

– मा…अहिले आएर, पख तँलाई ।

– सबैजना जाऔं, अति नै गर्‍यो के । थुतेर निकाल्दिने हो ।

– तपाईँलाई (सुधन) के भनेको छ भने मन्त्री बनाउने प्रधानमन्त्री र सुधन हो पनि भनेको छ । त्यो मान्छे (धिरज) सुदूरपश्चिमको मान्छे हो, त्यसलाई थुत्छु म गएर ।

सुधन : (जेन-जीहरूलाई सम्झाउँदै) रक्षा बमलाई हामीले रोकेको हो । उसको एनजीओ, आईएनजीओमा नाम मुछिएपछि हामीले रोकेको हो ।

एक जेन-जी : उनीहरुको दाइ शहीद भयो, उनीहरूलाई कसैले सोध्यो ?

सुधन: गृहमन्त्रीको स्वकीय सचिव आफैँ सुदूरपश्चिमको भएपछि तपाईँहरूलाई सोध्नुपर्‍यो । कन्ट्याक्ट छैन र ? मसँग कन्ट्याक्ट थिएन, तिमीसँग थियो नि हैन र ? (एक जेन-जीले थियो भन्छ), थ्यो त ! किन गएर नसोधेको त ? :

जेन-जीहरू बोल्छन् :–

यो मान्छेलाई कुटिन्छ दाइ । शहीद परिवार आफैँ कुट्न जान्छ ।

– सुदूरपश्चिमले चाह्यो भने गृहमन्त्रीलाई नै कुटिदिने हो ।

सुधन : रक्षा बम हुँदैन है भनेर मैले हिजो नै पठाएको छु । उसको एनजीओ र आईएनजीओको लिंकहरू आइरहेको छ । यत्तिकै हाउडे तालमा पठाउन मिल्दैन ।

फेरि जेन-जीहरू :

– रक्षा विवेकशील साझाको मान्छे हो दाइ ! उसको बारेमा हामीलाई इतिहास थाहा छ । विदेशी अर्गनाइजेसनको फण्डिङबाट यसले अर्गार्नाइजेसन चलाउँछ । म यो अर्गनाइजेसनको सदस्य हुन पाउँदा एकदमै खुसी छु भनेर सार्वजनिक रूपमा भनेको पनि छ । त्यो भिडिओ पनि छ हाम्रो साथीहरूसँग ।

– सबै यो गेम खेलिरहेको छ । मुख्य यो ओमप्रकाश हो ।

सुधनः अब ओमप्रकाशले हामीलाई न्याय पनि दिएको छैन । एमाले, कांग्रेस, माओवादीका एकजना पनि पक्रेको पनि छैन । दिनभरि/रातभरि हामी कुद्दै गएर केटाहरूलाई जेलबाट निकाल्नुपर्ने । बैनीहरूलाई जेलबाट निकाल्नुपर्ने । घाइतेहरूलाई पनि भेट्न जानुपर्ने हामी । शहीदहरूलाई पनि हामीले गर्नुपर्ने । लास्टमा मन्त्री सुधन गुरुङले बनायो भनेर हामीलाई दोष लाइदिने ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *