
बाजुरा । बाजुरामा बस र जिप दुर्घटना भएको छ । मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस आज दिउँसो दुर्घटना हुँदा बसमा सवार ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल बाजुरा, कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ । चार जनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिए ।
कोल्टीबाट धनगढीका लागि छुटेको बस सेरकाटियाको उकालोमा सामान राख्ने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनामा छ घाइते
जिल्लाको बूढीनन्दा नगरपालिकामा आज दिउँसो जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् । मार्तडी–कोल्टी सडकमा पर्ने सोही नगरपालिका–१० पाण्डुसैनमा जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको भे१च ७८७ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जिपमा सवार आठमध्ये चालकसहित छ जना घाइते भएको बताए ।

Leave a Reply