जेनजी आन्दोलनपछि नेतृत्वविहीन बन्यो शङ्कर पोखरेलको गृहनगर

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको गृहनगर तुलसीपुरमा जेनजी आन्दोलनपछि एमाले नेतृत्वविहीन भएको छ ।

जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते बेलुकी तुलसीपुर नगर कमिटी अध्यक्ष रूपबहादुर खत्रीले राजनीति छाडेको घोषणा गरेसँगै तुलसीपुर एमाले नेतृत्वविहीन बनेको हो ।

भदौ २३ गते बेलुकी अध्यक्ष खत्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीति छाडेको घोषणा गरेका थिए । उनले लेखेका थिए, ‘परिस्थितिलाई मध्यनजर गर्दै राजनीति भन्दा निजी जिन्दगी बिताउने इच्छा व्यक्त गर्न चाहन्छु ।’

यो अभिव्यक्ति पछि अध्यक्ष खत्री पार्टी गतिविधिमा संलग्न भएका छैनन् ।  तुलसीपुर नगर कमिटी सचिव जितबहादुर  खड्का अनुसार जेनजी आन्दोलनपछि भएका पार्टीका कुनै पनि कार्यक्रममा खत्री सहभागी भएका छैनन् ।

‘दुई पटक औपचारिक र दुई पटक अनौपचारिक कार्यक्रम र छलफल भए ।’  सचिव खड्काले नेपाल प्रेससँग भने, ‘अध्यक्ष सहभागी हुनुभएन । उपाध्यक्षको अध्यक्षतामा कार्यक्रम गर्‍यौ ।’

नगर अध्यक्षले जिम्मेवारी त्यागे पनि एमालेले त्यसबारेमा ठोस धारणा बनाउन सकेको छैन ।

एमाले दाङका सचिव श्याम डाँगीले त्यस विषयमा अहिलेसम्म केही छलफल नभएको बताए । केन्द्रबाट केही निर्देशन नआएकाले त्यसकै पर्खाइमा रहेको उनको भनाइ छ । सङ्कटका बेला अध्यक्षले जिम्मेवारी छाडेको भन्दै कार्यकर्ता भने असन्तुष्ट छन् ।

खत्रीलाई जिम्मेवारीमा पुन: फर्काउन नहुने उनीहरूको भनाइ छ ।

‘सङ्कटमा भाग्ने नेतृत्व असल लिडरसीप गर्न सक्दैन ’तुलसीपुर नगर कमिटी सदस्य दिनेश रावतले नेपाल प्रेससँग भने, ‘अब ऊर्जाशील युवालाई नेतृत्व दिनुपर्छ ।’

२०८१ साल असोज ७ गते एमालेको तुलसीपुर नगर कमिटीको अध्यक्षमा रूपबहादुर खत्रीसँगै युवा नेता सुरेश रावत दाबेदार थिए । तर, जिल्ला नेतृत्वले खत्रीलाई जबरजस्ती अध्यक्ष घोषणा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *