
काठमाडौं । ल्याण्डफिल्डका स्थानीयले अवरोध गरेपछि फोहोर बोकेर गएको गाडी बीच बाटोमा रोकिएका छन् । फोहोर विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल्डका स्थानीयले विभिन्न माग राखेर सडक अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर बोकेर गएको गाडीहरु बीच बाटोमा रोकिएका हुन् ।
हिजोदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् । उनीहरुको माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा ३ दिनदेखि फोहोर विसर्जन हुन पाएको छैन ।
फोहर विसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको धुनबेँशी नगरपालिका-१ का स्थानीय दीपेन्द्र लामाले बताए ।
सिसडोल बञ्चरेडाँडा-कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । २०७९ जेठ २६ मा काठमाडौं महानगरसँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो ।
ककनी गाँउपालिका-१ र २ तथा धुनबेसी नगरपालिका-१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर उनीहरूले गाडी फर्काइदिएका छन् ।
आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन मेयर बालेन साह र मन्त्री कुलमान घिसिङ फिल्डमा आउनुपर्ने उनीहरूको माग छ । त्यस्तै वार्ताको लाइभ हुनुपर्ने पनि उनीहरूले अडान राखेका छन् ।
स्थानीयको आन्दोलनमा ककनी र धुनबेसीँका जनप्रतिनिधिले साथ दिएका छन् । स्थानीयले अवरोध गरेपछि आज काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरेर फोहोर घरभित्रै राख्न अनुरोध समेत गरेको छ ।

Leave a Reply