लुम्बिनीमा नीति तथा कार्यक्रम आज, पारित हुन नदिने विपक्षी गठबन्धनको रणनीति

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तय छ ।

प्रदेशसभामा अल्पमतमा रहेको भन्दै सरकारलाई विपक्षीहरूले घेराबन्दी गरिरहेका छन् । प्रदेशसभामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलहरूले नीति तथा कार्यक्रम एवं बजेट पास हुन नदिने रणनीति बनाएका छन् । लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्ताव दर्ता भएलगत्तै संसदको अधिवेशन अन्त्य गरिएको थियो ।

सरकारका प्रवक्ता वैजनाथ चौधरीले संसदबाटै बहुमतले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने बताए । ‘हामीसँग बहुमत भएकाले हामीले सदनबाटै पारित गर्नेछौँ । संसद छल्ने काम हामीबाट हुँदैन’, उनले भने ।

विपक्षी गठबन्धन भने सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पास गर्न नदिने रणनीतिमा छन् । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले उनी नेतृत्वको सरकारले ल्याउने बजेट पास गर्न नदिने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँनले दावी गरेका छन् ।

करिब ३८ अर्बको बजेट ल्याउने तयारी

प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा केन्द्रित रहेर आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने जनाएको छ । त्यसको लागि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षका लागि ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले बजेटको आकारमा केही वृद्धि गरी आगामी वर्षका लागि रकम विनियोजन गर्ने आर्थिक मामिला मन्त्री चौधरीको भनाइ छ ।

कोरोनाले तहसनहस पारेको आर्थिक क्षेत्र उकास्ने, नयाँ रोजगारी सिर्जना गर्ने दिशामा बजेटको प्राथमिकता रहने उनको भनाइ छ । फजुल खर्च हुन नदिने तर, कृषि, उद्योग एवं पर्यटन क्षेत्रलाई समेटेर आर्थिक विकासमा टेवा पुर्‍याउने खालको बजेट तयार गरेको उनले बताए ।

गत वर्ष घोषणा गरेका तर कोरोना महामारीका कारण पूरा हुन नसकेको ती आयोजनालाई पूरा गर्ने तथा कृषि क्षेत्रबाट थप रोजगारी सिर्जना गर्न कृषि अनुदानसँगै उपकरण, बजारीकरण आदिका लागि बजेट छुट्याउने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *