थवाङमा अध्यक्ष र अधिकृतले विकासमा सेटिङ गरेको भन्दै वडाध्यक्षहरुले बन्द गरे सेवा

रुपन्देही । रोल्पाको थबाङ गाउँपालिकामा पालिका अध्यक्ष र वडाअध्यक्षहरुबीचको विवाद चुलिएको छ । १ नम्बर वडा र २ नम्बर वडा कार्यालय अनिश्चितकालका लागि वडा कार्यालय बन्द गर्दै वडाध्यक्षहरुसँगै सबै सदस्यहरुले सामूहिक राजीनामा दिएर बस्ने विज्ञप्ती सार्वजनिक गरेका छन् । उनीहरु सबै माओवादीबाट निर्वाचित भएका हुन् ।

बिहीबार दुवै वडाध्यक्षहरुले वडा कार्यालयमा ताला लगाएर चावी पालिका अध्यक्षलाई बुझाएका छन् । यी दुई वडाका वडाध्यक्षहरुले गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनी मिलेर लामो समयदेखि विकास निर्माणका काम ठप्प पारेकोले अहिले वडा कार्यालय बन्द गरिएको र लगत्तै वडाध्यक्षसहित सबै वडा सदस्यले राजीनामा दिने जनाएका छन् ।

उनीहरुले लापरबाहीका कारण लामो समयदेखि निर्माणाधीन विद्युत् परियोजना सम्पन्न नहुँदा स्थानीय जनजीवन प्रभावित बनेको भन्दै वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।

वडाअध्यक्ष हिराप्रसाद बुुढामगरले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रसँग विद्युत बाल्न २०८१ सालमै सम्झौता भइसके पनि आवश्यक विद्युत् लाइन तान्ने कार्य नहुँदा स्थानीय बासिन्दा निरन्तर समस्यामा परेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘स्थानीय जनताको बारम्बारको माग बेवास्ता गरिएको र आवश्यक पहल नगरेकाले २०८२ साल कार्तिक १३ गते बिहीबारदेखि वडा कार्यालय बन्द गरिएको छ ।’ वडाअध्यक्ष बुुढामगरले जनताको माग तत्काल पूरा नभए आफूसहित वडाका निर्वाचित सबै सदस्यहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

बुधबार नै थबाङ गाउँपालिका–२ नम्बर वडाअध्यक्ष अभिलाषा रोका मगरले पनि गाउँपालिकाले विकासका काममा उदासिनता देखाएको भन्दै वडा कार्यालय बन्द गरी पदबाट राजीनामा दिने चेतावनी दिइसकेका छन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिकले आफू भाउजू बितेर घरमा आएकोले सबै विषयमा जानकारी नभएको तर दुई वडाध्यक्षको विज्ञप्ती सामाजिक सन्जालमा हेरेको जनाए । ‘म त्यो पालिकामा गएको धेरै समय भएको छैन, बजेट बनेपछि गएको हो, दशैं तिहार भएकाले केही सुरु भएका योजना रोकिएका छन्, ती काम पूरा गर्नलाई समस्या थिएन, पालिका अध्यक्षसँग समन्वय गरेर अघि बढ्छु’ उनले भने ।

यो पालिकामा अध्यक्षसहित सबै वडाध्यक्ष माओवादीबाट निर्वाचित भएका हुन तर अहिले माओवादीभित्रको दुई खेमाका कारण यहाँ समस्या भएको स्थानीयको बुझाई छ । अहिले विरोध गरेका दुई वडाध्यक्षले पालिका अध्यक्ष ऋषिकेशव बुढामगरलाई असफल बनाउनेगरी लागेको बुझाई उनीहरुको छ । वडाध्यक्षहरुले अहिले ठेक्का पाएका कम्पनीहरु पालिका अध्यक्षसँग नजिक भएकाले आफ्नो वडामा काम नभएको बुझेका छन् ।

पालिका अध्यक्ष ऋषिकेशन बुढामगरले अहिले आफू बाहिर रहेको र पुगेपछि वडाध्यक्षहरुसँग बसेर छलफल गर्ने जनाए । ‘हामीहरु एकै पार्टीबाट जितेर आएका हौं, अहिले म पालिका बाहिर छु, उहाँहरुको विषय सामाजिक सन्जालमा आएपछि हेरेको हुँ, उहाँहरुले राजीनामा दिने मुडमा छौं भनेर हिजो सुनाउनुभएको थियो, मैले त्यसरी हुँदैन बसेर सल्लाह गरौला भनेको हो तर विज्ञप्ती नै सार्वजनिक गर्नुभएछ’ उनले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *