संस्थापन पक्षलाई प्रदीप पौडेलले भने- कार्यसमितिको म्याद थप्न खोज्ने भए विशेष महाधिवेशनका लागि तयार हुनुस्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र नीतिगत सुधार गर्नको लागि महाधिवेशनको विकल्प नभएको बताएका छन्।

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई सच्याउन पनि महाधिवेशनमा जानुपर्ने बताए। उनले भने, ‘नेतृत्व मात्रै ठुलो कुरा होइन, नीतिमा पनि हामीले परिवर्तन गर्नुपर्छ। जेनजी उमेर समूहले उठाएको विषय, नेपालको राजनीतिमा उठेको विषय, संविधान संशोधनलगायतको विषयमा छलफल गर्नको लागि पनि नीतिगत परिवर्तन गर्न जरुरी छ।’

उनले फागुन २१ को निर्वाचनमा जानुअघि नै पार्टीको नयाँ नीति तय गरिसक्नुपर्ने बताए। उनले थपे, ‘५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग्नुभएको छ। त्यो विधान बमोजिमको विषय हो। जबरजस्ती गरिएको होइन। नियमित महाधिवेशन गर्ने भए विशेष महाधिवेशन गर्नु पर्दैन। नियमित महाधिवेशन नगरेर म्याद थप्ने हो भने कार्यसमितिको मात्रै होइन, विशेष महाधिवेशन माग्नेहरूको पनि म्याद थपिन्छ।’

उनले म्याद थप्न खोज्नेहरूले विधान अनुसार माग भएको विशेष महाधिवेशन गर्न तयार हुनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *