
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एकता भनेको मान्छे जम्मा गर्नु मात्रै नभएको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा माओवादीसँग एकताको विषयमा छलफल चलिरहेको बेलामा महासचिव भुसालले यस्तो बताएका हुन्।
बैठककाबीचमा उनले फेसबुकमा लेखका छन्, ‘पार्टी बैठकमा प्रस्तुत गरिएको एकताको प्रस्तावमा आजको संकट के हो? भन्ने कुरा नै प्रष्ट छैन, अनि समाधानको मुद्दा हुने कुरै भएन । एकता भनेको मान्छे जम्मा गर्नु मात्रै होइन ।’
त्यसो त माओवादीसँग एकता गर्न उनले अध्यक्ष माधव नेपाल र माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वबाट बिदा हुनुपर्ने सर्त राखेका थिए।
उनले थपेका छन्, ‘घूस नखानेहरूको पार्टी बनाउनु आजको पहिलो काम हो । जेनजी मुभमेन्टको म्यान्डेट पनि यही हो । धेरै मान्छेले हुन्थ्यो भने, तेत्रो संख्या भएको एमाले–कांग्रेसको सरकार किन एकछिन मै ढल्यो ?’
बृहत् वाम एकताको लागि आजको संकट र समाधान गर्न राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको भनाइ छ। भुसालले एमालेभित्रका वामपन्थीहरुले विद्रोह गर्ने निश्चित रहेकाले माओवादीसँग एकतामा हतार नगर्न आग्रह गरेका छन् ।
आफ्नो धारणा राख्ने क्रममा महासचिव भुसालले माओवादीसँगको मात्र एकतामा जाने कुराले थप बर्बादीमात्र निम्तयाउने बताएका हुन् । भुसालले एमाले भयंगकर दक्षिणपन्थी र बर्बादीको नजिक जाँदै गरेको र अब त्यहाँभित्र विद्रोह अनिवार्य रहेकाले त्यतिन्जेल नेकपा एसले माओवादीसँग एकतामा हतारो नगर्न आग्रह गरे ।
भुसालले बैठकमा भने–एमालेले जुन बाटो लिएको छ, यो विघटनको बाटो हो। दक्षिणपन्थका विरुद्धमा त्यहाँभित्रका थोरै पनि वामपन्थीहरूले किन छिटो विद्रोह गरेनन् रु किन गर्छन् वा गर्दैनन्, यो अर्को कुरा हो। तर, तिनले विद्रोह नगरिकन सुख छैन। त्यो दक्षिणपन्थीका विरुद्ध विद्रोह तीव्र भएको छ। अहिलेको प्रक्रियाले त्यसलाई तीव्र पारेको छ, र अझ तीव्र हुँदै जानेछ।
र, यो पनि लेखेर राखियोस्, माओवादी आज जे छ त्यो रहन्न । त्यसको डीएनए नै त्यही कारणले यदी जाँच भएन भने माओवादी विभाजित हुन्छ। म नाम लिन्न, अरू पनि केही भयंकरभयंकर विभाजन छन्। म तिनीहरूसँग राम्रैसँग उठबस गर्छु। सबैतिर विभाजन छ, सबैतिर समस्या छ।
भुसालले माओवादीमा पनि विभाजन निश्चित रहेको भन्दै अहिले सबैखाले वामपन्थपीहरुको एकता र पुनर्गठनका लागि पर्खिन आग्रह गरेको नेताहरुको भनाइ छ ।

Leave a Reply