
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्न हौसिएका अध्यक्ष माधव नेपालमाथि आक्रोश पोखेका छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै आफ्नो पार्टी बनाउन नसकेर माओवादीमा जान नमिल्ने बताए ।
उनले भने, ‘एमाले फुटाएपछि यो पार्टी बनाउन नसक्ने, बैठक गर्न पनि हजार दुई हजार उठाएर दरिद्रता देखाउने, जनताको बीचमा नजाने अनि, प्रचण्डको काखमा जाने ? जिम्मा लिनुहुन्छ हिजोको जनयुद्धको ? केके जिम्मा लिएर माओवादीसँग एकता गर्नुहुन्छ ? भोलि केका लागि जाने ?’
अहिले एकताभन्दा पनि पार्टीलाई बलियो र क्रान्तिकारी बनाउन केन्द्रित हुनुपर्ने झलनाथले बताए । एमाले पनि अहिले सैद्धान्तिक र वैचारिक अन्योलतामा रहेको जिकिर गरे । उनले थपे, ‘हामी सही ढङ्गले अघि बढ्यौँ भने सानो पार्टी ठूलो हुनसक्छ । यो एकताको बेला होइन । पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने बेला हो ।’
कसैले पार्टीमा सही नीति लिएर आए ४० वर्ष मुनिका युवालाई नेतृत्व स्वीकार्न तयार रहेको झलनाथले बताए। उनले थपे, ‘हिजो माधव नेपाललाई पनि मैले स्वीकारेको हो, विशेष परिस्थितिमा । अहिले पार्टी चलाउन सकिन भनेर लुरुलुरु माओवादीमा जाने कुरामा मेरो सहमति छैन ।’ उनले भ्रष्टाचारको मुद्दा लागिसकेपछि सांसद पद निलम्बन हुँदा समेत पार्टी नेतृत्व नछाडेको विषयमा समेत प्रश्न उठाएका छन् ।

Leave a Reply