
कैलाली । कैलालीको घोडाघोडी नगपालिका–१० पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ ।
फाइनल खेलमा भजनीले घोडाघोडी क्लब सुखडलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो हाफमा गोलरहित खेल भए पनि दोस्रो हाफमा भजनीका खेलाडीहरूले लगातार तीन गोल गर्दै जित दर्ता गरे ।विजेता बनेको मदन भण्डारी स्पोट्र्स एकेडेमी भजनीले ५२ हजार २सय ५० रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपैयाँमा प्राप्त गरेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता भएको थियो । समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत रहेका थिए ।
विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र शाह लगायतको उपस्थिति थियो ।
समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदर पत्र वितरण गरिएको थियो ।

Leave a Reply